स्वास्थ्यमन्त्री बस्नेतले कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पताल हटाए

स्वास्थ्यमन्त्री बस्नेतले कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पताल हटाए

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कोभिड-१९ केन्द्रीय युनिफाइड केन्द्रीय अस्पताल हटाएका छन्।

मन्त्रिस्तरीय निर्णय गर्दै उनले यो अस्पताल हटाएका मन्त्रालय स्रोतले जानकारी दिएको छ।

उक्त निर्णअनुसार अब वीर अस्पतालको मात्रै संरचना रहनेछ, कोभिड-१९ युनिफाइड अस्पतालको रूपमा रहने छैन।

‘कोभिडको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै हटाइयो’,ती कर्मचारीले भने। कोरोना भाइरस संक्रमणको व्यवस्थापनका लागि सरकारले ‘कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८’ ल्याएको थियो।

त्यही व्यवस्थाअनुसार युनिफाइड अस्पताल चले पनि अध्यादेश निष्क्रिय भइसकेपछि समेत आदेशको भरमा यो संरचना चलेको थियो।

वीर अस्पतालको निर्देशकमा नियुक्ति भएका सन्तोष पौडेलले युनिफाइड अस्पतालको थप जिम्मेवारी पाएका थिए।

कोभिड अस्पताल हटाएसँगै डा. पौडेलको आर्थिक तथा प्रशासनिक अधिकारसमेत खुम्चिएर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपतिमा केन्द्रित हुनेछ।

त्यसैगरी मन्त्री बस्नेतले वीर अस्पतालमा कार्यरत ११ औं तहका छातिरोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठलाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशक र डा. सञ्जय ठाकुरलाई राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा नियुक्त गरे उनको सचिवालयले जनाएको छ। 

३ जेठ, २०८०, १६:०९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।