फिल्म हुक्का : एन एब्सर्ड ड्रिमले हलमा दर्शक फर्काउला !

फिल्म हुक्का : एन एब्सर्ड ड्रिमले हलमा दर्शक फर्काउला !

काठमाडौँ : जेठ १२ गते रिलिज डेट पक्का भएसँगै ‘हुक्का: एन एब्सर्ड ड्रिम’ फिल्मको टोली अहिले प्रचारमा व्यस्त छ।

हलमा पुगेका एकपछि अर्को फिल्म असफल भइरहेको बेलामा नेपाली मौलिक कथा बोकेर बनेको फिल्म दाबी गरिएको यसले हलमा दर्शक तान्न सक्ला?

किनकि पछिल्लो समय परिचित कलाकार केकी अधिकारी, विपिन कार्कीलाईसम्म दर्शकले पत्याएर हलमा आइदिएनन्। सुदर्शन गिरीदेखि विकाश आचार्यसम्म निर्देशनमा असफल भए।

यसका निर्देशक छन् शम्भु थापा। अभिनेता तेज गिरी अनि अभिनेत्री तलिसा गुरुङ।

गतिलो भए फिल्ममा परिचित कलाकारै चाहिँदैन भन्ने ऐना झ्यालको पुतलीले पुष्टि गरेको थियो।

निर्माण टोली फिल्म मनोविज्ञानमा आधारित र मौलिक कथामा बनेकाले दर्शक हलसम्म आउने विश्वासमा देखियो।

केही पत्रकारहरूसँग फिल्मको विषयवस्तुबारे छलफल गर्दै फिल्मका निर्देशक थापाले फिल्म अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित रहेको बताएका थिए।

‘अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ र त्यो पुरा गर्न के गर्छ भन्ने पक्ष उठान गरेका छौँ’, उनले भने, ‘फिल्मले अहिलेको समाजको प्रतिनिधित्व गरेको छ।’

उनले अहिलेको पुस्ताले अग्रजको सम्पत्ति घर आँगनमै भए पनि त्यसलाई कुल्चिएर भौँतारिने गरेको कथालाई फिल्ममा देखाइएको बताए।

फिल्मका अभिनेता गिरी फिल्ममा विदेशबाट फर्किएको अल्लारे केटाको भूमिका निभाएको खुलाउँदै आफ्नो भूमिका मायाको अभावमा रहेकालाई मायाको प्रभावमा पारेर अल्झाउने रहेको जानकारी दिए।

अभिनेत्री गुरुङको यो नेपाली भाषाको डेब्यू फिल्म रहेछ।  ‘हुक्का: एन एब्सर्ड ड्रिम’मा अभिनय गर्न पाउँदा खुसी लागेको र राम्रो टिम र कथामा काम गर्न पाएकाले दर्शकले आफ्नो भूमिका मन पराउने बताइन्अ।

भिनेता प्रकाश घिमिरे फिल्म सबै उमेर समूहका लागि उपयुक्त रहेको बताए।

फिल्मका लेखक तथा अभिनेता सन्तोषकुमार आत्रेयले आफूले पत्रिकामा समवेदना पढेर कथा बुनेको बताए। फिल्मको कथा अहिलेसम्म आएको फिल्म भन्दा भिन्न भएको उनको दाबी थियो।

कार्यकारी निर्माता किरणकुमार आत्रेयले नेपाली कला संस्कृतिका लागि केही गर्नुपर्छ भन्ने भावनाले फिल्ममा लगानी गरेको बताए।
फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमीला खनाल, तेज गिरी, अशु न्यौपाने, निश्चल विमल, एलिशा विकको अभिनय छ।

फिल्ममा सन्तोष र भगवान् पौडेलको पटकथा छ। रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता हुन्।

जेठ ३, २०८० बुधबार १५:२३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।