मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने सरकारको निर्णय

मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने सरकारको निर्णय

२०६२/०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका मुकेश कायस्थलाई सरकारले राष्ट्रिय सहिद घोषणा गरेको छ। 

कायस्थको २८ वैशाखमा निधन भएको थियो।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले जिउँदो शहीद भनेर चिनिएका कायस्थलाई राष्ट्रिय सहिद घोषणा गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बनेपाका कायस्थ २०६२ साल चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका थिए। उनलाई काठमाडौंको वीर अस्पतालमा करिब ११ महिनासम्म उपचार गरिएको थियो। 

जनआन्दोलन क्रममा १५ वर्षका रहेका कायस्थको कन्चटमा गोली लागेको थियो। उनले स्थानीय विद्यासागर बोर्डिङ स्कुलमा त्यतिबेला कक्षा ८को परीक्षा दिएका थिए। 

उपचारका क्रममा बुधबार राति ८ बजे उनको निधन भएको थियो। 

लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत उनी १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा थिए। उनको मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो। 

२ जेठ, २०८०, १८:११:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।