चौथो अंग : रिपोर्टरले फिल्डमा जाने प्रस्ताव ल्याए सम्पादकले कताबाट पैसा जोहो गर्ने भनेर सोच्नुपर्ने अवस्था छ
कोभिड-१९ को महामारीपछि पुनःप्रकाशित हिमालले मासिक स्वरूपमा विभिन्न अहम् मुद्दामा आधारित रहेर यो जेठसम्म कुल २२ अंक प्रकाशन गर्यो।
‘हिमाल अर्थ राजनीति’ मासिकका हरेक अंकले नेपाली सञ्चारमाध्यममा महत्त्व नपाएका विषयलाई विविध कोणबाट टिप्पणीसहित उठाउने प्रयत्न गर्यो।
बेचिएका मूर्तिको नेपाल फिर्तीको कथासँगै शुरु हिमालको पुनः प्रकाशनले कहिले चीन चिन्ने प्रयत्न गर्यो त कहिले आफूसँग भएर पनि खासै अभ्यासमा नल्याइएको नेपालको सौम्य शक्तिबारे विमर्श गर्यो।
कुनै अंक भूमिको असमान वितरण र सत्ता शक्तिको दोहनमा केन्द्रित भयो त कुनै महँगो स्वास्थ्य सेवा र खस्किँदो सार्वजनिक शिक्षामा।
कुनै अंकले समाजमा अझै कायम लैंगिक विभेद उजागर गर्ने प्रयास गरे त कुनैले बढ्दै गरेको धर्म राजनीतिको भयावह प्रस्तुत गरे। कुनै अंकमा जलवायु परिवर्तनको जोखिमबीच हिमालको महत्वबारे चर्चा गरियो कुनैमा नेपाली समाजको अन्तर्यमा रहेको सामुदायिक अभ्यासको।
हरेक विषय उठान गर्दा त्यसको प्रभाव आफ्नै खालको भयो। बहस पनि आफ्नै पाराले भए। कुनै अंकले प्रस्तुत गरेको विचारलाई सहजतापूर्वक लिइयो। कहिले भने लोकतन्त्र मान्ने देशको संस्थाले आफूमाथि समीक्षा हुँदा रुचाएन।
एउटा उदाहरण नेपाली सेनाको समीक्षा गर्दै, ‘भद्दा आकार काम व्यापार’ शीर्षकमा मूल स्टोरी र अन्य लेखसमेत आयो।
लोकतान्त्रिक मुलुकका लागि अपाच्य हुने तहको आपत्ति सेनाले जनायो। नागरिक समाज, मिडिया र सरकारलाई समेत प्रश्न गर्यो। आफूलाई कसैले प्रश्नै गर्न नहुने सेनाको बुझाइ देखियो।
जननिर्वाचित संविधानसभाले जारी गरेको संविधानलाई त प्रश्न गरेर लेखिन्छ भने सेनाको समीक्षा गर्न किन हुँदैन? आकार घटाएर चुस्त दुरुस्त बनाऊँ भनेर छलफल गर्न किन हुँदैन ? नागरिकले तिरेको करबाट चल्ने संस्थाले यस्तो अलोकतान्त्रिक व्यवहार देखाउन हुन्नथ्यो, देखायो।
रक्षा मन्त्रालयलाई बलियो बनाउने, प्रविधि र अत्याधुनिक हतियार सेनासँग हुने संख्या घट्ने, बजेट नघट्ने भन्ने थिममा रिपोर्ट गरियो। सेनाले यसलाई ‘ह्युमिलेशन’ गरेको सम्झियो। जबकि यो गलत छ।
भन्नेहरूले त भन्छन् नि ‘सेना मलामी र गुलामीको लागि हो’। हामीले यस्तो शब्द प्रयोग गरेनौँ किनभने सेनालाई ‘ह्युमिलेट’ गर्नु थिएन।
यसरी विश्वव्यापी महामारी कोभिड पछिका २२ महिना हिमाल मासिक चल्यो।
२२ वटा अंकमा फरक फरक विषय उठान गरियो। रिपोर्टिङ त म्यागेजिनको मेरुदण्ड नै भइहाल्यो। विचार निर्माणमा पनि हिमालले काम गर्नुपर्छ भन्ने लागेर फरक–फरक विषय उठान गरिएको हो।
संविधानसम्मत रहेर परिष्कृत विचार प्रवाह गर्नुपर्छ भन्ने उद्देश्यले हिमाल अर्थ-राजनीति शुरु भएको थियो।
कोभिडपछिको छापा पत्रकारिता
धरानबाट २०५८ साल देखि हो मैले पत्रकारिता सुरु गरेको। ‘मर्निङ पोस्ट’ दैनिक पत्रिकाबाट काम शुरु गरेँ। धरानमै ‘धरान टाइम्स दैनिक‘ र ‘हाम्रो पुस्ता’ साप्ताहिक पनि निकाल्यौं। काठमाडौँ आएपछि ‘अन्नपूर्ण पोस्ट’ हुँदै ‘हिमाल खबरपत्रिका’सँग जोडिएँ।
‘कोभिडपछिको छापा मिडिया’ शीर्षकमा तपाईंले कुराकानी गरौँभन्दा म बडो दोधारमा थिएँ। किनकि कोभिडकालमै स्थगन भएर मासिक रूपमा प्रकाशन हुन थालेको हिमाल आर्थिक संकटका कारण पुनः स्थगन हुने भएको छ।
जेठ अंकपछि हिमालको छापा प्रकाशन फेरि रोकिने भएको छ। प्रकाशक कनकमणि दीक्षितले यसलाई ‘हिमालको विश्राम’ भन्नुभएको छ।
हिमालले कोभिडको पहिलो बन्दाबन्दीको ठीकअघि चैतको दोस्रो साताको अंक (९-१५ चैत) मा सामान्य नहुञ्जेलसम्म आफ्नो छापा संस्करणको प्रकाशन स्थगन गर्ने निर्णय गरेको थियो। छापा स्थगनलगत्तै सम्पादक किरण नेपालसहित टोली हिमालखबर डटकममा होमियो।
छापा पत्रकारिताको लामो अनुभव भएका पत्रकारहरू एकाएक अनलाइनमा अभ्यस्त हुन सहज भने थिएन। तर, यसका लागि एकाध वर्षदेखि विस्तारै–विस्तारै गरिएका केही अभ्यासले मद्दत गरे। सीमित साधनस्रोतले भने जहिल्यै चुनौती दिई नै रह्यो।
महामारीमा ‘हिमालखबर’ त चल्यो, तर यसको आय भने न्यून थियो। एकातिर विज्ञापन बजार पूरै शिथिल थियो अर्कोतर्फ महामारीको चर्को त्रास थियो।
हुन त ‘हिमालखबर डटकम’ नेपाली भाषाको* न्यूजपोर्टल थियो तर हिमालमिडियाका लागि विविध कारणले पत्रिका नै पहिलो प्राथमिकता बनिरहेको थियो। हिमालको पहिचान नै पत्रिका बनेकाले एकाएक अनलाइनमा विज्ञापन पाउने कुरा पनि थिएन।
महामारीले रिपोर्टर आफैंलाई शिथिल त पारेको छ नै स्टोरीमा लगानी गर्ने सञ्चार संस्थाको क्षमतामा पनि असर गरेको छ। कुनै रिपोर्टरले दुई साताका लागि उपत्यकाबाहिर फिल्ड रिपोर्टिङमा जाने प्रस्ताव ल्याए सम्पादकले कताबाट पैसाको जोहो गर्ने भनेर सोच्नुपर्ने अवस्था छ।
लगातारको लगानी तर आय भने लगभग शून्यको अवस्थामा रहेका बेला प्रकाशन संस्था हिमाल मिडियाले संस्थाबाट कर्मचारी कटौती गर्न विशेष योजना अघि सार्यो।
यो योजनामार्फत खासगरी पत्रिकामा व्यवस्थापन पक्षसँग सम्बन्धित अधिकांश र केही पत्रकारले संस्थाबाट बिदा लिए। हिमालखबर खुम्चियो।
जसै कोभिड संक्रमणको आँकडा ओरालो लाग्न थाल्यो, हिमालको चिनारी जोगाउन र थोरै सही पत्रिकामै मात्र विज्ञापन आउने भएकाले नियमित नोक्सान कम गर्न पनि हामीलाई स्थगित हिमाल पुनःप्रकाशन गर्नुपर्छ भन्ने दबाब महशुस हुन थाल्यो।
तर, कस्तो हिमाल? अन्योल थियो। निकै छलफलपछि बजार सामान्य नहुञ्जेलका लागि मासिक रुपमा हिमाल निकाल्ने निर्णय भयो। २०४७ सालमा ‘वार्षिक हिमाल’बाट सुरु भएर पाक्षिक र साप्ताहिक स्वरुप गरेको हिमालको इतिहासमा मासिक स्वरुप पहिलोपटक आएको थियो।
समाजका मूल मुद्दा पर्गेल्दै र समाधानका उपायसमेत राखेर हरेक अंक ‘विषयगत’ बनाउने, ‘लङ-फर्म’ र खोज पत्रकारिता समेतको अभ्यास गर्ने नयाँ हिमालको योजना रह्यो। साथमा, विषयवस्तु, विचार, बाइलाइन र समाचार कक्षमा विविधता हाम्रा मूल मन्त्र थिए।
‘कोभिड-१९’ ले थिलोथिलो पारेको अर्थतन्त्र अझ सामान्य अवस्थामा आइसकेको छैन। अहिले महामारीको असर त कम छ तर मिडियामा भने आर्थिक संकटको अर्को महामारी आएको छ। बिडम्बना, हिमाल फेरि त्यही अर्को महामारीको शिकार बन्नपुगेको छ।
महामारीपछि पत्रकारिता पेशामा पनि जोखिम बढेको छ। पत्रकारिता गरिरहेकाहरू आफ्नो भविष्यप्रति सशंकित छन् भने पत्रकारिता गर्न चाहनेहरू पनि विकल्प खोजिरहेका देखिन्छन्।
मिडियामा लगानीकर्तामा पनि जोखिम व्यवस्थापनको राम्रो तयारी नरहेको पुष्टि भयो, जसको सबैभन्दा ठूलो मार श्रमजीवी पत्रकारमाथि नै पर्यो। कतिले जागिर गुमाउनुपर्यो त कसैले तलबलगायतमा सम्झौता गरेर सम्हालिनुपर्यो। यो संकट अहिले झनै बढ्दो देखिन्छ।
कोभिडको अर्को असर हुनुपर्छ, स्थलगत पत्रकारितामा कमी आएको छ। स्वास्थ्य, सामाजिक न्याय र अपराध बिटमा काम गर्ने केही सहकर्मीको भने लोभलाग्दो सक्रियता देखियो।
महामारीले रिपोर्टर आफैंलाई शिथिल त पारेको छ नै स्टोरीमा लगानी गर्ने सञ्चार संस्थाको क्षमतामा पनि असर गरेको छ। कुनै रिपोर्टरले दुई साताका लागि उपत्यकाबाहिर फिल्ड रिपोर्टिङमा जाने प्रस्ताव ल्याए सम्पादकले कताबाट पैसाको जोहो गर्ने भनेर सोच्नुपर्ने अवस्था छ। यसले खोज पत्रकारितामा धक्का दिएको छ।
अनलाइन म्यागेजिनलाई अवसर
हुन त विस्तारै कोभिडअघि नै प्रिन्ट मिडियालाई उछिन्ने क्रममा नै थियो अनलाइन मिडिया। महामारीको समयमा भने अनलाइनको विकल्प रहेन।
अहिले एउटा पुस्ता नै 'इन्टरनेट पुस्ता' भइसक्यो। त्यसैले हुनसक्छ, छापा मिडियाको व्यवसाय पनि सुस्तायो। छापा मिडिया सूचनाको प्राथमिक स्रोत रहेन अब। सूचना लिनकै लागि पत्रिका कमै हेरिन्छ अहिले। यसको अर्थ प्रिन्टको भविष्य छैन भनेको होइन।
हाम्रोभन्दा अघि नै इन्टरनेट क्रान्ति भइसकेका विकसित देशहरूमा पनि प्रिन्ट मिडिया चलिरहेकै छ। प्रिन्ट पढ्ने मान्छे तीव्र गतिमा घटेका छन्, त्यो स्वीकार्नुपर्छ तर यो माध्यम मरिसकेको कतिपयको तर्क सत्य छैन।
तर, सत्य यो पनि हो कि अब छापा माध्यम टिकाउने हो भने अनलाइन न्युज पोर्टलभन्दा कसरी फरक बनाउन सकिन्छ भन्ने सोच्नुपर्छ, सामग्रीमा पनि लक्षित पाठक पनि।
मिडियाले दुई काम गर्छ। एउटा सूचना दिन्छ, अर्को विश्लेषण। नेपाली मिडियाले सूचना मात्रै दिएर पुग्दैन, विचार विश्लेषण पनि दिन जरुरी छ।
हिमालजस्तो पत्रिकाको काम विश्लेषण गर्ने हो, विचार निर्माण गर्न सहयोग गर्ने हो। तर, यतिबेला हामी पनि कतै सामाजिक सञ्जालबाट निर्देशित त भइरहेका छैनौँ ? हुनुपर्ने त मूलधारका मिडियाले सामाजिक सञ्जाललाई डोहोर्याउन पर्ने हो। किनकि विरासत बोकेको, उत्तरदायी र जिम्मेवार मिडिया मूलधारकै मिडिया हुन्।
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रकरण यसका लागि हाम्रो ‘केश स्टडी’ बन्नुपर्छ। एमसीसीजस्तो भू-राजनीतिक असर पार्न सक्ने विषयमा फरक विचारधारालाई स्थान दिँदादिँदै पनि समयमै प्रस्ट सम्पादकीय नीति सार्वजनिक गरिदिएको भए सामाजिक सञ्जालले विषयान्तर गर्दै ‘अमेरिकी सेना नेपाल आउने’ जस्ता अफवाह गाउँगाउँ फैलाउन सक्ने थिएनन्।
जसै अन्त्यमा मूलधारका मिडिया एक ठाउँ आए, जनताले पनि पत्याए, एमसीसी पारित भयो, समाज शान्त देखियो।
छापामा म्यागेजिन ननिस्के तापनि अनलाइनमा पनि म्यागेजिनको अभ्यास गर्न सकिन्थ्यो, कतिपय विदेशी अनलाइनमा गजबले यस्ता अभ्यास देख्न सकिन्छ।
तर, हामीकहाँ गम्भीरतापूर्वक यो ढाँचा अपनाएको देखिन्न। सम्भावना देखिएको केही अनलाइन मिडिया पनि प्रकारान्तरले ‘क्लिकबेट’को लोभमै लहसिएका देखिए किनभने बजार त्यहाँ छ।
जहाँ बजार छ त्यहाँ विज्ञापन छ। त्यो बजारको बाध्यता हो। तर, हामी पत्रकारको दायित्व पाठक, दर्शकले जस्तो मन पराउँछन् उस्तै सामग्री पस्कने होइन, तथ्य र प्रमाणको आधारमा सत्य उजागर गर्ने हो।
र, त्यही सत्यले देखाएको दिशामा समाजलाई डोहोर्याउन प्रयत्न गर्ने हो जसले सभ्य र समतामूलक समाज बनाउन मद्दत गर्छ। आखिर पत्रकारिता कुनै फेन्सी बुटिक होइन।
आत्मस्वीकारोक्तिः हाम्रो अध्ययन पुगेन
समाचारकक्ष राम्रो हुन सम्पादन समूह, रिपोर्टिङलगायत सबै पक्षको लय मिल्नुपर्छ। कुनै एक असफल हुनु भएको टिम नै असफल हुनु हो।
जहाँ रिपोर्टर फेल हुन्छ, त्यहाँ सम्पादक पनि फेल हुन्छ। एक हिसाबले अन्तर्सम्बन्धित हुन्छ। कुनै एकलाई मात्र राम्रो देखाएर आरोप-प्रत्यारोपको घातक खेल खेल्नुहुन्न।
मैले धेरैपछि आफैंलाई समीक्षा गर्दा बुझेको कुरा के हो भने नेपाली भाषाको पत्रकारिता गर्ने हामी अधिकांश पत्रकारमा पढाइ नै पुगेन। यो पढाइ विश्वविद्यालयको होइन, देशको हो, समाज विज्ञान अनि आफ्नै इतिहास हो।
गत वर्षको हिमाल मिडिया मेलामा भारतीय पत्रकार रवीश कुमारले बडो गजबसँग भनेका थिए, ‘हामी पत्रकारले किन बेलैमा पढ्नुपर्छ भने जब तपाईं कुनै पदमा पुग्नुहुन्छ, त्यसबेलाको प्रस्तुतिमा तपाईंलाई ऊबेला पढेका कुराले काम दिन्छ।’
आफ्नै विविधता नबुझेका हामी धेरै समय अरु देश र समाज बुझ्न खर्च गर्ने रहेछौं। पढाइले हाम्रो समझ मात्र होइन, लेखाइ र लेखन शैलीमा पनि मद्दत गर्ने रहेछ।
यहाँनेर विश्वास भनेको समुदाय र मिडियाबीचको विश्वास हो भरोसा हो। हाम्रा मिडिया समुदायबाट कति टाढा वा नजिक छन् ? हामीले दिइरहेको सामग्रीलाई कसले खपत गरिरहेको छ ? कसले प्रयोग वा दुरुपयोग गरिरहेको छ?
नेपालमा व्यवसायिक पत्रकारिताको विकास नै धेरैपछि भएकाले पत्रकारिता भरपर्दो पेशा अझै बन्न सकिरहेको छैन। पत्रकारलाई न्यूनतम तलबको कुरा गरियो भने त्यही न्यूनतमलाई नै अधिकतम् बनाउन खोज्नु लगानीकर्ताको चाहना हुन्छ।
यस्तो बेला पत्रकारलाई देश, विदेशका पत्रकारिताका आचारसंहिताको पाठ पढाएर यहाँको पत्रकार पनि उस्तै हुनुपर्छ भन्नुपर्छ भन्ने मान्यता राख्नु कतिपय अर्थमा विरोधाभाष पनि सुनिन्छ।
किनकि जबसम्म पत्रकारले सञ्चारगृहबाट जीविकाका लागि न्यूनतम सेवासुविधा पाउन सक्तैन, तबसम्म यस्तो अपेक्षा पूरा गर्न कठिन हुन्छ। त्यसमाथि पनि कोभिड महामारी, आर्थिक संकटले अहिले पत्रकार थलिएका छन्। यतिबेला के गर्ने त ? यो गम्भीर प्रश्न हो।
र, मेरो विचारमा पत्रकारको पेशागत सुरक्षा र सबलीकरणमा राज्य, सरकार पनि जिम्मेवार हुनुपर्छ। किनकि स्वतन्त्र र बलियो प्रेस लोकतन्त्रका अवयव हुन्। प्रेसजगत जति बलियो हुन्छ, लोकतन्त्र उति उन्नत हुन्छ।
पत्रकारिता जहिल्यै खोज हो। त्यसैले पत्रकारिताको भविष्य पनि खोज पत्रकारिता हो। म यसलाई ‘आफूलाई खोज्ने’ र ‘आफूले खोज्ने’ पत्रकारिता भन्छु।
स्रोतले देखाउन वा लेखाउन खोज्नेभन्दा लुकाउन वा दबाउन खोजिएका समाचारको पछि लाग्नसके मात्रै राम्रो रिपोर्टर बन्न सकिन्छ। त्यसबाहेक पत्रकारले बढावा दिनुपर्ने अर्को कुरा भनेको स्थलगत रिपोर्टिङ अनि सँगै प्राज्ञिक वर्गसँगको अन्तरक्रिया पनि हो।
प्राज्ञिक वर्ग र पत्रकारबीचको दूरी कम गर्न सकिए पत्रकारिताकै स्तरवृद्धि हुन्थ्यो कि भन्ने अनुमान हो।
अन्त्यमा, हामीले हालैमात्र हिमाल मिडिया मेलाको दोस्रो संस्करणमा मिडियाको ‘विश्वास र आत्मसमीक्षा’को कुरा गर्यौं।
यहाँनेर विश्वास भनेको समुदाय र मिडियाबीचको विश्वास हो भरोसा हो। हाम्रा मिडिया समुदायबाट कति टाढा वा नजिक छन् ? हामीले दिइरहेको सामग्रीलाई कसले खपत गरिरहेको छ ? कसले प्रयोग वा दुरुपयोग गरिरहेको छ ?
यसमा हामी पत्रकारहरूले गहन विमर्श गर्नुपर्छ। सँगै कतिपय सोसल मिडियाको अतिरञ्जना रोक्न स्थानीय समुदाय, सरकारहरूले पनि राम्रा सञ्चारमाध्यमहरू बचाएर राख्ने भन्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ।
इन्टरनेट र सञ्चार साक्षरता अर्को नगरी नहुने पाटो हो। इन्टरनेट पुस्ताका लागि कस्ता सामग्री उपयोगी हुन सक्छन् भन्नेतर्फ पनि हामी घोत्लिनुपर्छ।
बुझ्न र बुझाउनैपर्ने अर्को कुराचाहिँ हामी मिडिया र समुदायबीचको विश्वास भत्काउन केही ‘पपुलिष्ट’ राजनीतिकर्मीहरू पनि लागेका छन्, जो नियतवश मूलधारका मिडियामा लगातार आक्रमण साँधेर जनआक्रोशलाई आफूले प्रतिनिधित्व गरिरहेको दाबी गरिरहेका छन्।
उनीहरू चाहन्छन्, नागरिकले विश्वास गर्ने हरेक संस्थाहरू धरासायी हुन ताकि त्यसबाट सिर्जित रिक्ततामा आफ्नो कुत्सित राजनीति स्थापित होस्। जब उनीहरू शक्तिमा पुग्छन्, उनीहरू नै सबैभन्दा अलोकतान्त्रिक र अधिनायकवादी हुन्छन्।
र, हिजो आफूलाई नै जिताएका जनताका स्वतन्त्रता खोस्न उनीहरू नै अग्रपंक्तिमा हुन्छन्। संसारका धेरै देशको अध्ययनले यसै भन्छन्।
(धरानबाट मर्निङ पोष्ट दैनिक हुँदै द हिमालयन टाइम्स, अन्नपूर्ण पोस्ट् र पछिल्लोमसय हिमाल खबरपत्रिकाका सम्पादक रहेका रविन गिरीसँग ‘कोभिड-१९ पछिको छापा पत्रकारिता’ शीर्षकमा आधारित रहेर उकेराको चौँथो अंगका लागि प्रजु पन्तले गरेको कुराकानी)
*हेेेेडलाइन बदलिएको। हिमाल खवर पहिलो नेपाली अनलाइन पोर्टल भन्ने दाबी गलत देेखिएकाले माफीसहित संशोधन गरेेर पहिलो शब्द हटाइएको छ।
चौथो अंगका पुराना श्रृंखला
जेठ २, २०८० मंगलबार १७:५४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।