कमेडी च्याम्पियनले कार नामसारी नगरिदिएको भरतमणिको गुनासो
काठमाडौं : तेस्रो संस्करणको ‘कमेडी च्याम्पियन’को तयारी भयरहँदा दोस्रो संस्करणका ‘कमेडी च्याम्पियन’का विजेता भरतमणि पौडेलले पुरस्कार बापत पाएको कार अहिलेसम्म आफ्नो नाममा पास नभएको गुनासो गरेका छन्।
पौडेलले एक टेलिभिजन शोमा कार पाएको तर अझै आफ्नो नाममा नामसारी नभएको सार्वजनिक गरेका हुन्।
‘कार पाएँ तर मेरो नाममा नामसारी भएको छैन। किन नभएको हो त्यो पनि थाहा छैन। सल्टाउनुपर्ने विषय त सल्टाइहाले राम्रो हो नि!’, उनले भने।
पौडेलले २५ लाख पुरस्कार घोषणा गरिए पनि आफ्नो हातमा १४ लाख २५ हजार मात्र परेको बताए। यसबारे निर्माण टिमसँग बुझ्दा ‘के–के कर काट्दा त्यति भएको’ बताएको उनले खुलाए।
‘२५ लाख भने पनि आकस्मिक लाभ कर, के–के काट्दा १४ लाख २५ हजार मात्र आयो। पुरस्कारमा पनि के कर लगाएको होला। कर त अन्य विषयमा तिरेकै छौ नि!’, उनले थपे।
२५ लाख भनेर १४ लाख हातमा पर्दा ए... जस्तो लागे पनि चित्तै भने नदुखेको उनले बताए। पहिलो सिजनको विजेताले पनि त्यति नै पैसा पाएको र आफूले पनि त्यति नै पाएको उनले खुलाए।
कुन–कुन विषयमा कति कर काटियो भनेर चाहिँ हेरेका रैहेनछन् उनले। पुरस्कार वापतको आकस्मिक लाभ करदेखि कारको करसम्म पुरस्कार राशीबाट काटेको उनले बताए।
जेठ २, २०८० मंगलबार १७:०६:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।