कांग्रेसको पत्रकार सम्मेलनः खाँणको बचाउ, आरजुमाथि षडयन्त्र भएको दाबी
नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफ्ना नेता बालकृष्ण खाँणको बचाउ गरेको छ।
आज एक पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले खाँणले आफू निर्दोष रहेको बताइरहेका भन्दै उनलाई निलम्बन गर्ने नगर्ने अनुसन्धान सकिएपछि मात्र निर्णय लिने बताए।
यस प्रकरणमा खाँण पक्राउ परेपछि पार्टीभित्रै उनलाई निलम्बन गर्नुपर्ने चर्को माग उठिरहेको छ। प्रहरीको चातुर्ययले फरार हुन नपाएका खाँण मैजुबहालमा रहेको आफ्नै डेराबाट समातिएका थिए।
पक्राउ परेर अदालतबाट म्याद थपका लागि हिरासतमा लैजाँदासमेत निलम्बन नगरिएको भन्दै पार्टीकै विद्यार्थी संगठन नेविसंघले समेत प्रदर्शन गरिसकेको छ।
महामन्त्रीद्वयले पनि सभापति देउवालाई भेटेर खाँणलाई निलम्बन गर्नुपर्ने सुझाव मात्र हैन अडान नै राखेका थिए। तर यसबारे सभापति देउवाले अझै निर्णय लिइसकेका छैनन्।
बिहीबार बसेको पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले खाँणलाई निलम्बन गर्ने विषयमा निष्कर्ष निकाल्न नसकेको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताएका थिए।
त्यस्तै यसै प्रकरणमा सभापति देउवापत्नी आरजुलाई पनि फसाउन षडयन्त्र भइरहेको कांग्रेसले आपत्ति जनाएको छ।
मंगलबार बिहानको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता महतले यस प्रकरणमा आरजुको नाम जोडिनु सोसल मिडिया र मिडिया ट्रायल भएको आरोप लगाए।
'उहाँहरू कहाँ जानु भो के गर्नुभो भन्ने पार्टीले त्यसलाई फलो गर्ने कुरा भएन। उहाँ आरजु आफैंले साइबर ब्युरो गएर यो नक्कली कुरा हो, यसको अनुसन्धान गर्न उहाँले भनिराख्नुभएको छ,' महतले भने, 'न त्यसको कुनै प्रमाणिकता छ। त्यो आयो भनेर सामाजिक सञ्जालमा आ'को छ। त्यतिकै सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी हो भन्याजस्तो त गर्नुभएन नि।'
सामाजिक सञ्जाल र मिडियामा पहिला नै दोषीजसरी देखाइदिनु राम्रो नभएको पनि उनको भनाइ थियो। महतले यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत बताए।
केही दिनअघि आरजु र खाँणपत्नी मञ्जुले यस प्रकरणमा साढे ६ करोढ रुपैयाँ बुझेको अडियो सार्वजनिक भएको थियो। उक्त अडियो खण्डन गर्दै महतले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको भरमा दोषी भन्न नहुने तर्क गरेका हुन्।
आफ्नो नाम जोडिएर आएपछि आरजुले पनि संसदमा यसबारे विषय उठाएकी थिइन्। आफूलाई फसाउन षडयन्त्र भएको र उक्त अडियो झूटो रहेको भन्दै साइबर ब्युरोमा उजुरी हालेकी थिइन्।
जेठ २, २०८० मंगलबार १२:३२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।