आईपीएलमा गिलको पहिलो शतक, गुजरात बन्यो प्लेअफमा पुग्ने पहिलो टिम

आईपीएलमा गिलको पहिलो शतक, गुजरात बन्यो प्लेअफमा पुग्ने पहिलो टिम

एजेन्सी : डिफेन्डिङ च्याम्पियन गुजरात यो सिजनको जारी आईपीएलको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ।

ओपनर शुभमन गिलको शतकको मद्दतले गए राति भएको खेलमा गुजरातले हैदराबादलाई ३४ रनले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो।  

गुजरातका लागि ओपनर शुभमन गिलले आईपीएलमा आफ्नो पहिलो शतक प्रहार गरे। उनले ५८ बलमा १३ चौका र १ छक्काको सहयोगमा १०१ रनको शतकीय पारी खेलेका थिए। हैदराबादका लागि भुवनेश्वर कुमारले ५ विकेट लिए।

यसपछि १८९ रनको लक्ष्य पछ्याएको हैदराबादले खराब ब्याटिङ गर्दा २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १५४ रनमा समेटियो।

कुनैबेला मात्र ५९ रनमा ७ विकेट गुमाएको हैदराबादका लागि हेनरिक क्लासनले सर्वाधिक ६४ रन जोडेका थिए।गुजरातका लागि मोहित शर्मा र मोहम्मद सामीले ४/४ विकेट लिए। 

लिगको १३ खेलमा ९ जितपछि १८ अंकसहित गुजरातले लिगको शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेको छ।

हारपछि १२ खेलबाट ८ अंक रहेको हैदराबाद लिगबाट बाहिरिने दोस्रो टोली बनेको छ। यसअघि दिल्ली पनि लिगबाट बाहिरीसकेको छ।

जेठ २, २०८० मंगलबार ०८:०२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।