निर्वाचनमा एक रूपैयाँ पनि खर्च नगरेको जसपाको दाबी

निर्वाचनमा एक रूपैयाँ पनि खर्च नगरेको जसपाको दाबी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा एक रुपैयाँ पनि खर्च नगरेको दाबी गरेको छ।

निर्वाचन आयोगको गत शुक्रबारको निर्देशनपछि सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/८० को लेखा परीक्षण प्रतिवेदनमा निर्वाचनमा एक रुपैयाँ पनि खर्च नगरेको उल्लेख छ।

२०७९ वैशाखमा स्थानीय तह निर्वाचन भएको थियो। उक्त निर्वाचनमा पार्टीको खाताबाट रकम नै खर्च नभएको प्रतिवेदनमा जनाइएको छ।

पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेताहरूले आ–आफ्नै तहबाट खर्च गरेको उल्लेख गर्दै स्थानीय तहमा पार्टीले निर्वाचनमा एक रुपैयाँ पनि खर्च नगरेको दाबी गरे।

पार्टीले निर्वाचन खर्चसँगै सामाजिक कार्यक्रम खर्च, भातृ संगठन खर्च, प्रकाशन खर्च, निर्वाचन खर्च र प्रशिक्षण खर्चमा एक रुपैयाँ पनि खर्च नभएको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेश गरेको छ।

प्रतिवेदनअनुसार पार्टीको खातामा गतवर्ष भन्दा यसवर्ष रकम बढेको छ। गतवर्ष ८० लाख २२ हजार ४५१ रुपैयाँ रहेको पार्टीको खातामा यस वर्ष १ करोड ११ लाख ८ हजार ८६२ रुपैयाँ छ।

यसैगरी पार्टीले गत वर्षको तुलनामा सदस्यता, लेभी र नवीकरण शुल्क भने बढि उठेको छ। आर्थिक वर्ष २०७७/७८ मा २९ लाख ४० हजार रुपैयाँ उठेको यो शीर्षकमा आर्थिक वर्ष २०७८/७९ मा ४२ लाख ६ हजार ३७५ रुपैयाँ उठाएको छ।

यस्तै चन्दा तथा सहयोग पनि गतवर्षको भन्दा चाुल वर्षमा बढी देखिएको छ। गतवर्ष ६ लाख ६७ हजारको मात्र संकलन गरेको पार्टीले चालु वर्षमा १२ लाख ५० हजारको चन्दा तथा सहयोग प्राप्त गरेको विवरणमा उल्लेख छ।

जसपाले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन

पार्टीको कार्यालय सञ्चालन खर्च भने गत वर्षको भन्दा घटेको छ। गतवर्ष ६५ लाख ७१ हजार ९६३ रुपैयाँले कार्यालय खर्च धानेको पार्टीले आर्थिक वर्ष २०७८/७९ भने ५३ लाख ९० हजार ६४९ रुपैयाँले मात्र पुर्याएको छ।

यसको अर्थ उसले कार्यालय सञ्चालन खर्च गत वर्षको तुलनामा ११ लाख ८१ हजार ३१४ रुपैयाँ जोगाएको देखिन्छ।

जेठ १, २०८० सोमबार १९:४६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।