विश्वकप बहिस्कार गर्ने पाकिस्तानको चेतावनी
एजेन्सी : पाकिस्तान क्रिकेट बोर्डको व्यवस्थापन समितिका प्रमुख नजम सेठीले एसिया कपको आयोजनाको अधिकार पाकिस्तानबाट खोसिए विश्वकप बहिस्कार गर्ने बताएका छन्।
भारत र पाकिस्तानले लामो समयदेखि एकअर्काको भूमिमा खेल खेलेका छैनन्। उनीहरूबीचको खेल जहिले पनि अन्य देशमा भइरहेका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले सन् २०२३ मा हुने एसिया कप पाकिस्तानको सट्टा तटस्थ स्थानमा गर्नुपर्ने यसअघि नै बताइसकेका छन्।
सुरक्षाको कारण देखाउँदै भारतले पाकिस्तान जान अस्वीकार गरिरहेको छ। त्यसपछि पीसीबीले ‘हाइब्रिड मोडल’ अन्तर्गत युएईमा खेल्न पाउने प्रस्ताव गरेको थियो।
यसबारे बीसीसीआईको प्रतिक्रिया आएको छैन। यसैबीच श्रीलंका र बंगलादेशले गर्मी र अन्य कारणले युएईमा खेल्न अस्वीकार गरेका छन्।
त्यसपछि भने सेठीले अर्को बयानसमेत दिइसकेका छन्। उनले युएईमा नभए श्रीलंकामा गर्नसक्ने प्रस्तावसमेत ल्याएका छन्। भारतले एसिया कपलाई पाकिस्तानबाट निकाल्न चाहेको बताउँदै त्यसो भएको खण्डमा यसैवर्ष भारतमा हुने विश्वकप र पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा गम्भीर असर पर्नसक्ने चेतावनी दिएका हुन्।
के भारतले हाइब्रिड मोडेलका लागि सहमत हुन्छ त? भन्ने प्रश्नको जवाफमा सेठीले अक्टोबर–नोभेम्बरमा हुने विश्वकपका लागि पाकिस्तानले पनि यस्तै शर्त राख्ने बताए।
उनले भने, ‘हामीलाई पनि भारतमा खेल्न सुरक्षाको चिन्ता छ। त्यसैले पाकिस्तानलाई ढाका, मिरपुर वा संयुक्त अरब इमिरेट्स वा श्रीलंकामा खेल्न दिनुस्।’
पाकिस्तान क्रिकेट बोर्डका पूर्व अध्यक्ष रमिज राजाले पनि भारतीय टोली पाकिस्तान नआए पाकिस्तानले भारतमा हुने विश्वकपमा सहभागी नहुने बताएका छन्।
गत वर्ष १९ अक्टोबरमा पीसीबीले एक विज्ञप्ति जारी गर्दै २०२३ मा हुने एसिया कपमा भारतले पाकिस्तान आउन अस्वीकार गरेपछि यहाँबाट सार्ने चलखेल सुरु भएको बताएको थियो। विज्ञप्तिमा पाकिस्तानले पनि यसको उचित जवाफ दिने बताएको थियो।
२०१८ मा भारतमा आयोजना हुनुपर्ने एसिया कप दुई देशबीचको तनावपछि युएईमा सारिएको थियो।
जेठ १, २०८० सोमबार १८:३१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।