तपाईंहरू साँच्चै भ्रष्टाचारको विरूद्धमा लड्न तयार हो? ल हात खडा गर्नुस् : ज्ञानेन्द्र शाही
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले भ्रष्टाचार नियन्त्रणका लागि तयार हुने सांसदहरूले हात उठाउन पनि आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि तयार हुने सांसद्लाई हात उठाउन आग्रह गरेका हुन्। उनले भ्रष्टाचार नियन्त्रणका लागि सडक आन्दोलनभन्दा संसद आन्दोलनको खाँचो रहेकोसमेत बताए।
उनले भने, ‘तपाईहरू साँच्चै भ्रष्टाचारको विरूद्धमा लडने हो भने पार्टी पंक्ति, दल, सिद्धान्त भन्दामाथि उठेर कानुन बनाउन तयार हुनुहुन्छ? हुनुहुन्छ भने ल म आज हेर्न चाहन्छु–हात खडा गर्नुस ल। ल गर्नुस् खडा। हुनुहुन्छ कोही?’
शाहीले भ्रष्टाचारलाई न्यूनीकरण गर्न, भ्रष्टाचार गर्नेहरूको तीनपुस्ते सम्पत्ति हरण गरी आजीवन कारबास भोग्ने कानून यही संसदबाट बन्ने हुनाले सडक आन्दोलनको साटो संसद आन्दोलन गर्न उपयुक्त हुने तर्क गरे।
उनले भने, ‘भ्रष्टाचारलाई न्यूनीकरण गर्ने, भ्रष्टाचार गर्नेहरूलाई तीनपुस्ते सम्पत्ति हरण गर्ने, आजीवन कारवास भोग्ने कानून यही सदनबाट आजका दिनबाट पार्टी पंक्ति, सिद्धान्त नभनेर लागू गरौं। हामीलाई कानून बनाएर कारबाही गर्न कसले रोक्छ? त्यही भएर सडक आन्दोलन भन्दा संसद आन्दोलन गरौं।’
जेठ १, २०८० सोमबार १८:०६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।