विद्यालय सुधारका पाँच खम्बाहरू
नेपालको संविधानले शिक्षालाई मौलिक हकको रूपमा स्वीकार गरी प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको अनिवार्य व्यवस्था गरेको छ।
साथै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ तथा सोसम्बन्धी नियमावली, २०७७ जारी भएको छ।
त्यस्तै राष्ट्रिय शिक्षा नीति, २०७६ तथा पन्ध्रौं योजनाले अनिवार्य तथा निःशुल्क शिक्षालाई प्राथमिकताका साथ जोड दिएका छन्। संघीय स्वरूपअनुसार स्थानीय तहलाई विद्यालय शिक्षाप्रति जिम्मेवार र बनाउने प्रयासस्वरुप शैक्षिक कार्यविधिहरू कार्यान्वयनमा छन्।
मौजुदा नीतिगत व्यवस्थालाई कार्यान्वयन गरी विद्यालयको अवस्था सुधार गर्न विभिन्न विद्यालय क्षेत्र विकास कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूका माध्यमबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्। संघ ,प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाइएको छ।
यी र यस्ता विविध प्रयास र पहलका बाबजुद पनि अपेक्षित रूपमा शिक्षामा किन उपलब्धि भनेजस्तो प्राप्त भएको छैन त ? यिनै विषयमा यो लेख केन्द्रित रहनेछ।
आर्थिक सर्वेक्षण, २०७७/०७८ अनुसार शैक्षिक वर्ष २०७७ मा प्राथमिक तह (कक्षा १-५) को खुद भर्नादर ९७.४ प्रतिशत, आधारभूत तह (कक्षा १-८) को ९४.७ प्रतिशत र माध्यमिक तह (कक्षा ९-१२) को ५१.२ प्रतिशत छ।
शैक्षिक वर्ष २०७६ मा यस्तो भर्नादर क्रमशः ९७.१, ९३.४ र ४७.६ प्रतिशत रहेको थियो। त्यस्तै शैक्षिक वर्ष २०७७ मा कक्षा १ मा खुद प्रवेशदर (भर्ना हुने उमेर ५ वर्ष पूरा भएका) ९७.३ प्रतिशत थियो।
कक्षा ८ सम्मको टिकाउदर ८२.२ प्रतिशत, कक्षा १० सम्मको टिकाउदर ६४.६ प्रतिशत र कक्षा १२ सम्मको टिकाउदर २९.२ प्रतिशत थियो।
त्यस्तै शैक्षिक वर्ष २०७६ मा कक्षा १ मा खुद प्रवेशदर (भर्ना हुन उमेर ५ वर्ष पूरा भएका) ९६.९ प्रतिशत रहेको थियो। यसैगरी कक्षा १० सम्मको टिकाउ दर ६०.३ र कक्षा १२ सम्मको टिकाउदर २४.० प्रतिशत थियो। ६ वर्षमाथिको साक्षरता ७८ प्रतिशत पुगेको छ भने १५ वर्ष माथिको साक्षरता दर ५८ प्रतिशत मात्र छ।
त्यसैगरी, १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता दर ८८.६ प्रतिशत छ।
यसरी हेर्दा बालबालिका विद्यालय ल्याऔँ, टिकाऔँ, सिकाऔँ र बिकाऔँ भन्ने शिक्षाको नाराको प्रयासमा रहे पनि उपलब्धि हासिल भएको देखिँदैन।
सार्वजनिक विद्यालय होस् या संस्थागत। व्यापक सुधारको आवश्यकता छ। २१औँ शताब्दी सुहाउँदो शिक्षा प्रदान गर्न र आफ्नो साख जोगाइराख्न सरकारले तथा विद्यालयले आफूलाई परिमार्जन र सुधार ल्याउनुको विकल्प नै छैन। समय सन्दर्भ र परिवर्तित विश्व सँगसँगै जान सिकाइ प्रणाली ,ऐन कानुन, भौतिक व्यवस्था, शैक्षिक व्यवस्था, विद्यालय समुदाय सम्बन्ध आदिमा विशेष ख्याल राख्दै सुधारका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्छ। विद्यालय सुधारका पाँच खम्बाहरू यसप्रकार छन्।
ऐन कानून, नीति नियम र निर्देशिका
सबैभन्दा पहिले शिक्षामा सुधार र सुशासनका लागि भएका ऐन कानून, नीति नियम र निर्देशिकाहरूको प्रभावकारी निर्माण, सुधार र कार्यान्वयन नै हो। अझसम्म संघीय शिक्षा ऐन बन्न नसक्नु दुःखद् हो।
विद्यालयको अनुमतिदेखि शिक्षक नियुक्ति, शिक्षक तालिम, शैक्षिक व्यवस्थापन, छात्रवृति वितरण, व्यवस्थापन समिति गठनलगायत सबै पक्षमा ऐन र नियमावलीले बोलेका छन्। त्यहीअनुसार कार्यसम्पादन गर्नुपर्नेमा तजबिजी र कसैलाई खुसी बनाउन गरिने कार्यव्यहारले शिक्षालाई ठूलो समस्यामा पारेको वर्तमान अवस्था छ।
अहिले शिक्षाका चार आदर्श शान्ति, सहिष्णुता, सदाचार र रोजगारलाई प्रभावकारी ढंगले आत्मसात नगरेको अवस्था छ। निर्माण भएका शिक्षासम्बन्धी ऐन कानून, नीति नियम र निर्देशिकाहरू कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालाको सहभागितामा कार्य योजना निर्माण, कार्यान्वयनमा तदारूकता, जिम्मेवारी र उत्तरदायित्व आआफूले बहन गरे अवश्य नै शिक्षामा सुधार र सुशासनको अपेक्षा गर्न सकिन्छ।
कार्यान्वयन पाटो नै राम्रो नभएपछि योजनाको के काम रु नेपालको शिक्षा प्रणाली सुधारका लागि दर्जनौँ योजना, ऐन कानून, नीति नियम र निर्देशिकाहरू निर्माण भएर प्रयोगमा छन्। तर उत्तम कार्यान्वयन नहुँदा अपेक्षित सुधार भएको छैन। जसले उचित प्रतिफल पाउन नसकिएको अवस्था छ।
कुशल व्यवस्थापन
नेपालको विद्यालय शिक्षाको व्यवस्थापक र व्यवस्थापनमा व्यापक सुधार र परिवर्तन आवश्यक छ। व्यवस्थापक भिजिनरी, मिसिनरी, प्लानर, पोलिसी मेकर, सुपर भिजन गर्न सक्ने, सक्षम तथा बृहत् सकारात्मक दृष्टिकोण भएको हुनुपर्छ।
शिक्षामा लगानी, प्रक्रिया र उत्पादनलाई गहिरो गरी मूल्यांकन गरेर त्यसमा सुधार उपलब्धि र रुपान्तरण गर्न सक्ने असल व्यवस्थापक हुनुपर्छ। गुरुयोजना, विद्यालय सुधार योजना, शैक्षिक वार्षिक कार्यक्रम, सिकाइ योजना प्रभावकारी कार्यान्वयन गरेरनगरेको प्रभावकारी ढंगले सुपरीवेक्षण तथा मूल्यांकन गर्नुपर्छ। यसका लागि समुदायले व्यवस्थापन तथा व्यवस्थापकलाई सुधार र परिवर्तन गर्नसमेत पछि पर्नु हुँदैन।
प्रशासन र प्रशासनिक नेतृत्वको रुपान्तरणकारी अग्रगामी भूमिका हुनुपर्छ। सबैभन्दा अगाडि हिँड्न सक्ने, विद्यालयमा पूरै समय दिने, शुद्ध आचरण भएको, प्राज्ञिक, ड्यासिङ, अरूको मन र मस्तिष्क जित्ने, कसैलाई काखापाखा नगर्ने, गुणस्तरमा विश्वास गर्ने र विद्यालयको लागि मरिमेट्ने र सबैसँग सन्तुलित व्यवहार गर्न सक्ने प्रशासकको आवश्यकता छ।
त्यसका लागि नेतृत्वलाई अग्रगामी र रूपान्तरणको कसीले पटक पटक परीक्षण गर्नुपर्छ।
राइट म्यान राइट प्लेसको सिद्धान्तअनुसार नेतृत्व चयन गर्ने र जिम्मेवारी दिने अभ्यास गर्नुपर्छ। योजना गर्ने, संगठन गर्ने, स्टाफको निर्णयमा चल्ने, निर्णय निर्माण गर्न सक्ने, समन्वय गर्ने, रिपोर्टिङ गर्ने र बजेट निर्माण गर्न सक्ने असल र कुसल प्रशासक हुनुपर्छ। यस्तो प्रकारको नेतृत्व छैन भने रूपान्तरण या आवश्यकताअनुसार हुनेगरी परिवर्तन गर्नु वाञ्छित हुन्छ।
विद्यालयको व्यवस्थापकीय सुधारमा विद्यालय व्यवस्थापन समितिको सक्रिय सहभागिता रहनेगरी शिक्षक अभिभावक संघलाई समेत अनुगमन तथा मूल्यांकनमा सरिक बनाउने र शैक्षिक कार्यक्रमहरू निर्माण गर्दा बालबालिकाहरूको शैक्षिक गुणस्तर अभिवृद्धि हुने कार्यक्रमहरूमा केन्द्रित रही कार्यक्रम निर्माण गर्नुपर्ने हुन्छ।
अतः कुशल व्यवस्थापकमा असल भिजिनरी हुन्छ। मानव संशाधनको राइट म्यान राइट प्लेसअनुसार कार्य बाँडफाँट र परिचालनमा आफूलाई समर्पित गर्दछ। चाहे त्यो व्यवस्थापक होस् वा प्रशासक। सम्पूर्ण कर्मचारीलाई माया गर्ने र शुद्द आचरण भएको कुशल हुनुपर्छ।
सामुदायिक सहभागिता
विद्यालय समूदायको विकासमा सहभागी हुने, समूदायले विद्यालयको विकास र विस्तारमा श्रमदान र योगदान गर्नेगरी पारस्परिक सुमधुर सम्बन्धको विकास गर्नुपर्छ। प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरूलाई समूदायको विकासमा आआफ्नो ठाउँबाट परिचालन गर्नुपर्छ। स्थानीय समूदाय, स्थानीय तह, नगरर गाउँ शिक्षा समिति, वडासमितिलाई विद्यालयको सम्पूर्ण पक्षको विकासमा लाग्न प्रेरित गर्नुपर्छ। यसबाट समूदाय र विद्यालयको सुमधुर सम्बन्धको विकास हुन्छ। अपनत्वको भावना पैदा भएर व्यक्तिहरू व्यवहार गर्ने र थप जवाफदेही हुने गर्छन्।
विद्यालय क्षेत्रको समुदायको आवश्यकता र समस्या पहिचान गरी आवश्यक सहयोग पुयाउने र स्थानीय अभिभावक तथा समुदायका समाजसेवी प्रबुद्ध वर्गको सहयोग जुटाउन सहजीकरण गर्ने गर्नुपर्छ।
स्थानीय चाडपर्व, सांस्कृतिक भेला, सुख दुःखका कार्यहरूमा आत्मीयता प्रदर्शन गर्नुका साथै समुदायको भौतिक, शैक्षिक र आर्थिक विकासमा सामूहिक जिम्मेवारीबोध गराउन सचेतीकरण गर्ने कार्यक्रमहरू गर्नुपर्छ।
त्यति मात्र होइन समुदायको विकास कार्यमा अभिभावक र विद्यार्थीलाई संलग्न गराई दिगो विकासमा सघाउ पुर्याउने र समुदायको चौतर्फी विकासमा विद्यालयको सक्रिय सहभागिता जुटाउन सहयोग गर्नेजस्ता कार्यहरू पनि गर्नुपर्छ।
स्थानीय अभिभावक र विद्यालय व्यवस्थापन समितिसँग प्रभावकारी सम्बन्ध स्थापना गरी समुदाय र विद्यालयबीच सम्बन्ध स्थापना गर्ने, स्थानीय शिक्षा समिति र गैरसरकारी संस्था, बुद्धिजीवी अभिभावकसँग विद्यालय र शिक्षकको प्रअको सम्बन्ध कायम गर्ने, विद्यालयका लागि आर्थिक सहयोग तथा भौतिक सुविधा जुटाउन समुदायसँग मिलेर काम गर्ने, समुदायमा साक्षरता र जनचेतना कार्यक्रमको सञ्चालन गर्ने/गराउने काममा सहयोग पुर्याउने गर्नुपर्छ।
विद्यार्थीको समग्र विकासका लागि उनीहरूको प्रगतिका सम्बन्धमा समुदाय र अभिभावकसँग छलफल गर्ने र विद्यालय र समुदायबीच एकापसमा अन्तरसम्बन्धित कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक विकास कार्य तथा अन्य स्वयंसेवी क्रियाकलापहरूमा विद्यालयको संलग्नता बढाउने गर्नुपर्छ।
विद्यार्थीहरूलाई सामुदायिक गतिविधिमा सक्रिय तुल्याउने वातावरण सिर्जना गराउँदै विद्यालय र समुदायबीच बलियो सम्बन्ध स्थापना गरी बौद्धिक, शैक्षिक र सामाजिक क्रियाकलाप सञ्चालन गर्ने गराउने गर्दा समुदाय र विद्यालयको सम्बन्ध मजबुत बन्छ।
भौतिक सुधार
भौतिक सुधार एउटा अनिवार्य सर्त हो। विद्यालय भवन, ल्याब, ल्याइब्रेरी, शौचालय, चमेना गृह आदिको भैतिक व्यवस्थापन राम्रो हुनुपर्छ। भैतिक सुधारमा भौतिक व्यवस्थापन र कक्षाकोठाको व्यवस्थापन पर्दछ।
आधुनिक, वैज्ञानिक र सिकाइअनुकूल भौतिक व्यवस्थापनमा विशेष जोड दिनुपर्छ अनि मात्र अपेक्षित परिणाम आउँछ।
तथ्यांकहरूले भौतिक व्यवस्थापनले सिकाइ उपलब्धिमा निकै गुणात्मक वृद्धि भएको देखाएका छन्। भौतिक व्यवस्थापनले विद्यार्थीको सिकाइ मनोवैज्ञानिक प्रभाव पार्दछ। सिकाइअको पहुँच र सहजतामा यसले वृद्धि गराउँछ।
शिक्षण सिकाइमा सुधार
विद्यालयमा शिक्षण सिकाइको क्रममा विद्यार्थीहरूको 3H, Head,Heart and Hand को वास्तविक अवस्था पहिचान गरी उल्लेखनीय सुधार गर्न शिक्षकले कक्षाकोठामा प्रयोग गर्दै आएको 4T: Target,Tools,Technique and Test को अझै प्रभावकारी प्रयोग गर्ने र सिकाइका लागि अनुकूल वातावरण सिर्जना गर्नुपर्छ।
त्यसका लागि सर्वप्रथम त रुसोले भनेजस्तै शिक्षकले प्रत्येक विद्यार्थीको पन्ना पन्ना पढ्नुपर्छ। वैज्ञानिक सिकाइ पद्धति, समालोचनात्मक सोचाइ र डिजिटल सिकाइ सहजीकरणमा जोड दिँदै स्थानीय आवश्यकता र परिवेशअनुसार व्यवहारिक सिकाइ गर्नुपर्छ।
स्वनुसासन,स्वपठन, पुल सिकाइ, उपचार सिकाइ,पठन संस्कृति निर्माणजस्ता कुराको विकास गरी सिकाइ सहजीकरण गर्दै सिकाइ क्षमताअनुसार विद्यार्थी वर्गीकरण, उत्कृष्ट सिकाइ उपलब्धि हुनेहरूलाई थप प्रेरित गर्न पुरस्कार, कमजोर आर्थिक पृष्ठभूमि भएकालाई छात्रवृत्ति, निःशुल्क वृत्तिजस्ता विद्यार्थी सहयोग कार्यक्रमहरूलाई व्यापक विस्तार गर्नुपर्छ।
विद्यालयले शिक्षक कर्मचारी प्रोत्साहन कोष निर्माण गरी मनोबललाई उच्च गर्नुपर्छ। उनीहरूलाई कार्य र उपलब्धिको आधारमा मूल्यांकन गरी थप अभिप्रेरणा प्रदान गर्नुपर्छ।
विद्यालयले विद्यार्थीहरूलाई प्रश्न गर्ने कला, हिम्मत, आत्मानन्द, साझा सिकाइ, सहयोगात्मक सिकाइ, सहकार्य, समता र समानता, समावेशीकरण, व्यवहार, कुशल सीप विकास, सिकाइमा संयुक्त प्रयास तथा सिकाइमा सूचना प्रविधिको सीप सिकाउनुपर्छ।
त्यति मात्र होइन ज्ञान कसैले दिएकोबाट कम र आफ्नो अनुभवबाट बढी प्राप्त हुने हुनाले विद्यार्थीहरूलाई विद्यालयले बढीभन्दा बढी अनुभव गर्न दिनुपर्छ र उनीहरूको सिकाइ शैलीअनुसार सिक्न पाउने वातावरणको सिर्जना गरिदिनुपर्छ।
विद्यालयले प्रभावकारी तरिकाले पढाउने, सिकाउने, खोजी गर्न लगाउने, प्रयोग गर्न लगाउने र त्यसलाई उत्पादन, उपभोग र बजारसम्म विस्तार गर्ने रणनीतिका साथ कार्यहरू गर्नुपर्छ।
शैक्षिक क्षेत्रलाई नियमित, व्यवस्थित, मर्यादित र गुणस्तरीय तुल्याउन सहयोग पुर्याउने उच्च शैक्षिक योग्यता, दक्षता, क्षमता र कार्यसम्पादन भएका विद्यालयका शिक्षकहरूलाई सम्मान गर्ने व्यवस्था मिलाउने र सूची तयार गरिराख्ने तथा सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा त्यस्ता पदाधिकारीहरूबाट सेवा लिने परम्परा बसाल्ने गर्नुपर्छ।
शिक्षण सिकाइ क्रियाकलापलाई अझ बढी प्रभावकारी बनाउन सूचना प्रविधि, सञ्चार र इन्टरनेटको अधिकतम उपयोग गर्ने, विद्यालयतहको पाठ्यपुस्तक यथा समयमै विद्यार्थीको हातमा पुर्याउन पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि जनक शिक्षा सामग्री केन्द्रको क्षमता अभिवृद्धि गर्दै जाने र प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रलाई समेत सहभागी गराउने कार्यहरू गर्दा विद्यालय शिक्षामा सुधार हुन्छ।
अतः बालबालिका विद्यालय ल्याऔँ, टिकाऔँ, सिकाऔँ र बिकाऔँ भन्ने सूत्रलाई व्यवहारमै लागू गर्न आवश्यक छ।
त्यसो गर्न विद्यालयलाई सुधार गर्नु अति नै आवश्यक छ। विद्यालयमा प्रभावकारी र अर्थपूर्ण सिकाइको वातावरण निर्माणका लागि दूरदर्शी शैक्षिक नेतृत्व, चुस्त र कुशल व्यवस्थापन, समर्पित र जिम्मेवार शिक्षक, अनुशासित र कार्यप्रति तत्पर विद्यार्थी, सचेत र कर्तव्यवान अभिभावक, समसामयिक शिक्षानीति तथा पाठ्यक्रममा भए मात्र लगानीअनुसार उन्नत शैक्षिक प्रतिफलको अपेक्षा गर्न सकिन्छ।
अन्यथा बालुवामा पानी मात्र हुन्छ। विद्यालयको सुधार गर्न विषय शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति, पालिका, जिल्ला शिक्षा समन्वय कार्यालय, सङ्घीय सरकार जवाफदेही र जिम्मेवार हुनैपर्छ। त्यसका लागि को कति जिम्मेवार हुने पनि निर्धारण गरेर मनिटरिङ गर्नुपर्छ।
जेठ १, २०८० सोमबार १५:२४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।