नक्कली शरणार्थी प्रकरण : बयानका लागि खाँणलाई सरकारी वकिलको कार्यालय लगियो

नक्कली शरणार्थी प्रकरण : बयानका लागि खाँणलाई सरकारी वकिलको कार्यालय लगियो

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई बयानका लागि आज (सोमबार) सरकारी वकिलको कार्यालयमा लगिएको छ।

काठमाडौं प्रहरी परिसर टेकुमा हिरासतमा रहेका उनलाई प्रहरीले बयानका लागि सरकारी वकिलको कार्यालय बबरमहलमा लगेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत साता पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई ४ दिन म्याद थप गरी हिरासतमा राख्न अदालतले आइतबार प्रहरीलाई अनुमति दिएको थियो।

सुरुमा ३ दिनका लागि पाएको म्याद शुक्रबार सकिएको थियो। शनिबार विदा भएका कारण हिजो म्याद थपका लागि खाँणलाई अदालत लगिएको थियो। 

खाँण गत वैशाख २७ गते मनमैजुमा रहेको डेराबाट समातिएका थिए। हिजो मात्र यस प्रकरणमा मुछिएका गिरोहका दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासमेत यो गिरोहमा संलग्न रहेको भन्दै उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएको हो।

यस प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाँण, उनका पीए केसी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरी पक्राउ गरेको छ।

टोपबहादुर रायमाझी, इन्द्रजितका छोरा निरज र बादलका छोरा प्रतीक भने फरार छन्।

जेठ १, २०८० सोमबार ११:३९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।