'मोखा' चक्रवात शक्तिशाली हुँदा काठमाडौँमा आइतबार साँझ हावाहुरीसहित वर्षा
काठमाडौँः काठमाडौं उपत्यकामा आइतबार साँझ हावाहुरीसहित असिनापानी परेको छ।
हावाहुरीका कारण काठमाडौं लगायत आसपासका क्षेत्रका केही स्थानमा विद्युत् सेवासमेत अवरुद्ध बनेको थियो।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ। अहिले पनि यी क्षेत्रमा वर्षा भइरहेको छ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको 'मोखा' नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त चक्रवात उत्तर-उत्तर-पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव भने नरहने देखिएको जनाइएको छ।
भोलि सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने जनाइएको छ।
तर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
वैशाख ३१, २०८० आइतबार २०:१४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।