सांसदहरूको पोशाक तोकियोः जिन्स पाइन्ट र टिसर्ट प्रतिबन्ध

सांसदहरूको पोशाक तोकियोः जिन्स पाइन्ट र टिसर्ट प्रतिबन्ध

प्रतिनिधिसभाले सांसदहरूले संसद भवनभित्र लगाउने पोशाक तोकेको छ। 

अब संसद् बैठकमा सहभागी हुँदा सांसदहरूले मर्यादित पोशाक लगाएर मात्र उपस्थित हुनुपर्ने गरी नियम बनाइएको छ। संसद् बैठकमा उपस्थित हुँदा अब लोगो पनि अनिवार्य गरिएको छ। 

आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको सभामुख देवराज घिमिरेका प्रमुख प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। 

आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरूले मर्यादित पोशाक लगाएर उपस्थित हुनुपर्ने गरी सभामुखबाट निर्णय भएको उनले बताए। 

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४२ मा सांसदको पोशाकसम्बन्धी व्यवस्था गरिएको छ। 

उक्त नियमावलीअनुसार नै सभामुख घिमिरेले संसदमा मर्यादित पोशाक लगाएर उपस्थित हुनुपर्ने गरी पोशाक तोकेका हुन् । अधिकारीका अनुसार अब सांसदले संसद्भित्र टिसर्ट, जिन्स पाइन्ट लगाउन पाउने छैनन्। 

वैशाख ३१, २०८० आइतबार १९:५८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।