द केरला स्टोरी : फिल्मको आवरणमा नेपाल भित्रिएको धार्मिक दङ्गा फैलाउन प्रेरित 'भारतीय विष'
काठमाडौँ मध्यबानेश्वरको हलमा शनिवार हिन्दी फिल्म' द केरला स्टोरी' हेर्न दर्शकहरूको सङ्ख्या ठिकठिकै थियो। म बसेको रोहमा हिन्दी भाषी एक प्रौढ अनि अर्को युवती थिइन्। सायद हजुर आमा र नातिनी हुनुपर्छ। 'लव जेहाद' मा केन्द्रित फिल्म निकै गभ्मिर थियो। फिल्ममा हास्यरस कतै फेला पारिन मैले। तर फिल्म हेर्दा ती प्रौढ बिचबिचमा हलै थर्किनेगरी हाँसिरहेकी थिइन्।
पुरै फिल्मभर हलको कुर्सीमा अडिन निकै उकुसमुकुस भइरहेको थियो। फिल्मको अन्त्यको दृश्यतिर एक बालिकाले मुस्लिम महिलाहरूले प्रयोग गर्ने हिजाव लिएर आगोमा हाल्छिन्। ती प्रौढ निकै खुसी भएर हलभित्रै ताली बजाउँछिन् मज्जाले।
सायद यो फिल्म निर्माणमा संलग्नहरू हलमा हुन्थे भने कति खुसी हुन्थे होला। तर त्यो दृश्य अनि नेपालमा रिलिज हुने फिल्मको कानुनी मापदण्ड हेर्न बनेको सेन्सर बोर्डका सदस्यहरूको औकात देखेर खिन्न भयो मन।
नेपालको संविधानले सनातन धर्मको संरक्षणसँगै कुनै पनि धर्मावलम्बीहरूको भावनामा प्रहार गर्न बन्देज लगाएको छ। म हिन्दु धर्मावलम्बीको मन त त्यो दृश्यले यति खिन्न बनायो भने त्यो दृश्य हेर्ने मुस्लिम धर्मावलम्बीलाई कति चोट पुग्यो होला!
भारतमा समेत विवादका कारण सबै प्रदेशमा सहज रूपमा फिल्म प्रदर्शनमा आउन सकेन। तर नेपालमा सहजै प्रदर्शन भयो। कलामाथि प्रतिबन्धै लगाउनु पर्छ भन्ने छैन। तर फिल्मको उद्देश्य पक्कै हेर्नै पर्छ।
भारतमा हिन्दु अनि मुस्लिमबिच भइरहेको प्रेम विवाहलाई लव जेहादको रूपमा परिभाषित गरिन्छ। त्यसमा केरलामा यो बढिरहेको दाबीहरू सार्वजनिक भएका थिए।
केही घटनामा प्रेमको आवरणमा फसाएर धर्म परिवर्तन गराउँदै जेहादी बनाएका घटना सार्वजनिक भएका थिए। तर त्यो कुनै धर्म विशेषका हैन आतङ्कवादमा संलग्नहरूले गरेका घटना थिए। त्यसलाई आधार बनाउँदा प्रहार आतङ्कवादमाथि हुनुपर्ने थियो। तर प्रहार भयो मुस्लिम धर्मविरुद्ध।
'द केरला स्टोरी' जस्तो दूषित मनसायले बनाइएको फिल्म बिना कुनै सेन्सर नेपाली हलहरूमा रिलिज हुनु भनेको कतै राज्य संयन्त्रमा रहेकाहरू नै नेपालमा पनि धार्मिक दङ्गाको पक्षमा त छैनन् भन्ने गम्भीर प्रश्न भने उब्जाएको छ।
फिल्म निर्माणको लक्ष्य आतङ्कवाद विरोधी जनमत निर्माण नभई कुनै निश्चित धर्म विरोधी जनमत निर्माण केन्द्रित रहेको प्रस्टै देखियो। हिन्दु धर्मावलम्वीहरुलाई मुस्लिम बनाउन र उनीहरूको दुरुपयोग गर्न आतंकवादीहरुले कतिसम्म गर्न सक्छन् भनेर खुलासामा केन्द्रित हुनुपर्ने हो। तर कलाको दुरुपयोग गर्दै भारतमा भारतीय जनता पार्टीले मुस्लिम समुदायविरुद्ध फैलाइरहेको भ्रमलाई थप मलजल गर्न कला क्षेत्रको दुरुपयोग भएको प्रस्टै देखिन्छ।
धर्म निरपेक्ष मुलुक नेपाल जहाँ छिटपुट निश्चित घटना केन्द्रित झडपका घटना सार्वजनिक भए पनि सङ्गठित रूपमा एक धर्मावलम्बीहरूले अर्को धर्मविरुद्ध घृणा फैलाउने घटना बढेका छैनन्।
पछिल्ला समय कहिले चर्चमा बम राख्ने त कहिले मुस्लिम धर्मावलम्बीविरुद्ध भ्रम फैलाउने प्रयास नभएका हैनन्। तर त्यसले सङ्गठित आकार लिइसकेको छैन।
यहाँ हिन्दु, क्रिश्चियनसँगै मुस्लिम धर्मावलम्बीहरू समेत मिलेर बसेका छन्। तर 'द केरला स्टोरी' जस्तो दूषित मनसायले बनाइएको फिल्म बिना कुनै सेन्सर नेपाली हलहरूमा रिलिज हुनु भनेको कतै राज्य संयन्त्रमा रहेकाहरू नै नेपालमा पनि धार्मिक दङ्गाको पक्षमा त छैनन् भन्ने गम्भीर प्रश्न भने उब्जाएको छ।
'लभ जेहाद'लाई मुख्य कथावस्तु बनाइएको फिल्मले कसरी आतंकवादीहरुले हिन्दु युवतीहरूको ब्रेनवास गरेर धर्मको नाममा आतङ्कवादमा सहभागी गराउँछ भन्ने विषयको आडमा धार्मिक दङ्गा फैलाउने उद्देश्य राखेको प्रस्ट देखिन्छ।
फिल्म आतंकवादीहरुले धर्मलाई हतियार बनाएर कसरी मुस्लिम धर्मको दुरुपयोग गरिरहेका छन् भन्ने हैन मुस्लिमहरूले कसरी हिन्दु अनि क्रिश्चियन धर्मावलम्बीहरूको भावनामा खेलेर आतङ्कवादी बनाइरहेका छन् भन्ने विष घोल्ने प्रयास गरेको छ। सबैभन्दा गम्भीर विषय नै यही हो फिल्मको।
निर्देशक सुदीप्तो सेनले कुनै धर्मको आवरणमा आतंकवादीहरुले उठाइरहेको फाइदा केन्द्रित नभई मुस्लिम धर्मविरुद्ध घृणा बढाउन दर्शकहरूको ब्रेनवास गर्ने दूषित मनसायले फिल्म बनाएका छन्। अनि त्यस्तो दूषित फिल्मलाई सहजै सञ्चार मन्त्रालयको मातहतमा रहेको सेन्सर बोर्डबाट पास हुनु पनि दूषित मनसाय नै हो भन्ने प्रस्टै देखिन्छ।
केरलाको आडमा खेलिएको खेल
फिल्मले केरलामा कसरी मुस्लिमहरूको प्रभाव बढ्दै छ अनि अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन आइएसआइसम्म कसरी केरलाका युवतीहरू पुगिरहेका छन् भन्ने कथा पस्कन खोजेको छ।
विध्यालयतहको शिक्षा सक्काएका तीन युवती शालिनी उन्नीकृष्णन (अदा शर्मा), गीताञ्जली (सिद्धि इदनानी) अनि निमाह (योगिता बिहानी) को भेट हुन्छ नर्सिङ कलेजमा। उनीहरू रुममेट हुन्। त्यही रुममा आइपुग्छिन् आसिफा (सोनिया बलानी)।
मूल कथा हो हिन्दु धर्मावलम्बी शालिनीको। एक कम्युनिस्ट विचारधाराको घरमा हुर्किएको युवती अनि अर्की क्रिश्चियन धर्मावलम्बीलाई सहायक पात्रको रूपमा जोडेका छन् निर्देशकले। फिल्मको मूल पात्र केरलाकी हिन्दु धर्मावलम्बी शालिनी नै हुन्। उनी फतिमाहुँदै कट्टर मुस्लिम बनेर सिरियामा लड्न जाँदासम्मका दृश्य नै फिल्मको मूल कथा हो।
सिरियामा गएर आइएसआइका लागि लड्न तयार युवती खोज्ने गोप्य जिम्मेवारी पाएकी आसिफाले यी तीन युवतीलाई कसरी आफ्नो योजनामा सहभागी गराउँछिन्? उनीहरू कसरी मुस्लिम धर्मप्रति आकर्षित हुन्छन् भन्ने देखाउन भरमग्दुर प्रयास भएको छ फिल्ममा।
हिन्दु परिवारमा हुर्किएको शालिनीलाई आसिफाले हजारौँ श्रीमती राख्ने कृष्ण कसरी भगवान् हुनसक्छ, रावणले श्रीमती अपहरण गर्दा समेत केही गर्न नसक्ने राम कसरी भगवान् अनि आफ्नै श्रीमती सतीदेवीलाई समेत जोगाउन नसक्ने शिवले कसरी भक्तहरूलाई जोगाउँछन् भन्दै ब्रेनवास गर्न प्रयोग गरिएका डायलगमा हिन्दु धर्मावलम्बीको मनमा मुस्लिमहरूले भ्रम फैलाउँछन् भन्ने स्थापित गर्ने मनसाय प्रस्टै देखिन्छ।
कृष्णका गोपिनीहरू अनि सतीदेवीको मृत्युपछि शिवले काँधमा राखेर विरहमा हिँडेका पौराणिक कथाहरूबारे हिन्दु परिवारकी शालिनीलाई केही थाहै नभएको हास्यास्पद दृश्य समेत अटाएका छन् निर्देशकले।
होस्टलको भित्तामा ओसामा बिन लादेन मात्रै देखाइएको छैन। त्यहाँ फ्री काश्मिरको नारा समेत देखाउनाले फिल्म निर्माण टोलीको उद्देश्य के हो भन्ने प्रस्ट देखिन्छ।
कम्युनिस्ट विचारधारामा हुर्किएर भगवान भनेको भ्रम हो भन्नेमा सहमत भइसकेकी युवती भगवान भनेका अल्लाह मात्र हुन् अनि जसले अल्लाहलाई मान्दैन उ धर्म विरोधी हो भन्नेमा सहमत भएर आइसीयुमा भएका बाबुको टाउकोमा थुक्नसम्म राजी गराउन कसरी ब्रेन वास हुन्छ भन्ने देखाउन निर्देशकले निकै मिहिनेत गरेका छन्।
ती दृश्यले धर्मको नाममा आतङ्कवाद बढाइरहेकाहरूप्रति आक्रोश जन्माउनु पर्ने हो। तर जन्मँदैन। ती दृश्यले मुस्लिम धर्मप्रति मात्र आक्रोश जन्माउँछ। धर्मको दुरुपयोग गर्नेहरूप्रति हैन।
बलात्कार, युवतीहरूलाई आफूले भने अनुसार काम गर्न राजी गराउन खुवाइने लागूऔषध, उनीहरूलाई हिन्दूबाट मुस्लिम बनाउन हुने प्रेमको खेल लगायतका कथाभित्र पनि आतंकवादविरुद्ध हैन निश्चित धर्म विरोधी भाव बढाउनै भरमग्दुर प्रयास भएको छ।
होस्टलको भित्तामा ओसामा बिन लादेन मात्रै देखाइएको छैन। त्यहाँ फ्री काश्मिरको नारा समेत देखाउनाले फिल्म निर्माण टोलीको उद्देश्य के हो भन्ने प्रस्ट देखिन्छ।
यस्तै दृश्यहरूले फिल्म निर्माणको उद्देश्य आतङ्कवादको विपक्षमा जनमत बनाउने हैन केरलाको कथाको आवरणमा धार्मिक दङ्गा फैलाउने हो भन्ने आफैँ पुष्टि गरेको छ।
सत्य घटनाको भ्रम
फिल्म छरिएका सत्य घटनामा आधारित भनिएको मात्रै छैन केरलाको करिब ३० हजार युवतीहरूको कथा भएको दाबी समेत गरिएको छ। तर यो सत्य घटनाभन्दा पनि इस्लामफोबिया केन्द्रित फिल्म देखिन्छ। केरलामा बढ्दो इस्लाम धर्मावलम्बीको सङ्ख्याबाट तर्सिएको समुदायले गैर इस्लाम समुदायलाई तर्साउने नियतले बनाएको फिल्म हो द केरला स्टोरी भन्नेमा कुनै सङ्कोच देखिन्न।
फिल्ममा हिन्दु धर्मप्रति आस्थावान्, हिन्दु परिवार तर धर्म निरपेक्ष धारणा बोकेकी युवती अनि क्रिश्चियन धर्मावलम्बीलाई पात्रको रूपमा उभ्याएर मुस्लिमहरूको शड्यन्त्रणमा सबैभन्दा सजिलैसँग हिन्दु धर्मावलम्बीहरू फस्ने गरेको घातक सन्देश दिने प्रयास गरिएको छ।
फिल्म सत्य घटनामा आधारित हो या हैन भन्नेबारे आजतकमा सुबोध मिश्राले लेखेका छन्' ३२ हजार युवतीको कहानी दाबी गरेपछि द केरला स्टोरीको अन्त्यमा स्क्रिनमा ३० हजार युवतीको तथ्याङ्क एक वेबसाइटमा फेला परेको लेखिएको छ। अहिले त्यो वेबसाइट गायब छ। यसका लागि फिल्मका निर्माण टोलीलाई मनोरञ्जन क्षेत्रको एक चर्चित मिम समर्पित गर्न मन लाग्यो' तपाइको साथ एक सानो प्र्यांक गरिएको हो।'
यसले नै फिल्म छरिएका सत्य घटनाबाट प्रेरित रहेको भन्नेमै शङ्का बढाएको छ।
फिल्ममा समावेश यस्तो एउटा मुस्लिम चरित्र छैन जसले आतङ्कवाद र धर्म भनेको अलग पक्ष हो भन्नेमा वकालत गरेको होस्। होस्टलकी सहयोगी, मौलाना, प्रेमी, कमान्डरदेखि अधिकांशको चरित्र चित्रण आतङ्कवादको सहयोगीको रूपमा देखाइएको छ।
यति मात्रै हैन प्रेमको बहानामा गैर मुस्लिम समुदायका युवतीहरूलाई आतङ्कवादी बनाउनेहरू राज्यमा खुलेआम रहेका, उनीहरूको षड्यन्त्रविरुद्ध प्रशस्त प्रमाण समेत रहेको तर राज्यको कानुन कार्यान्वयन गर्ने निकायले प्रमाण भन्दै नजरअन्दाज गरेको भन्दै आम नागरिकलाई आफैँ प्रतिरोधमा उत्रिन भड्काउने प्रयास समेत भएको छ फिल्ममा।
फिल्ममा हिन्दु धर्मप्रति आस्थावान्, हिन्दु परिवार तर धर्म निरपेक्ष धारणा बोकेकी युवती अनि क्रिश्चियन धर्मावलम्बीलाई पात्रको रूपमा उभ्याएर मुस्लिमहरूको शड्यन्त्रणमा सबैभन्दा सजिलैसँग हिन्दु धर्मावलम्बीहरू फस्ने गरेको घातक सन्देश दिने प्रयास गरिएको छ।
आतङ्कवादको आवरणमा मुस्लिम धर्मप्रति घृणा बढाउन जति सक्दो त्यति असहज दृष्यहरुलाई प्राथमिकताका साथ राखिएको छ। बलात्कार, सिरिया कानुन नमानेको भन्दै शिर छेदन लगायतका दृश्य कलात्मक हैन भद्दा रूपमा देखाइएको छ। त्यो पनि एक पटक हैन पटक-पटक।
कलामाथि प्रतिबन्ध लगाउने देश लोकतान्त्रिक हुन सक्दैन। सबैलाई आफ्नो विचार अनि दृष्टिकोण आम नागरिकमाझ ल्याउने स्वतन्त्रता हुन्छ नै। तर यो कलामा लागु हुन्छ अजेण्डामा हैन।
जसरी रोगको उपचार गर्ने औषधी अनि विषको एकै मापदण्ड हुन सक्दैन त्यसरी नै कला अनि कलाको आवरणमा फैलाउन खोजिने धार्मिक दङ्गाको मापदण्ड एकै हुनै सक्दैनन्। फिल्म 'द केरला स्टोरी' कला हैन कलाको आवरणमा धार्मिक दङ्गा फैलाउने बनेको भारतीय विष हो। यस्ता विष रोकिएकै जाति। तर विडम्बना रोकिएन नेपालमा।
वैशाख ३१, २०८० आइतबार १८:४६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।