भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा प्रहरीलाई हस्तक्षेप भए सरकारबाट बाहिरिन्छौँः माधव नेपाल
नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानबिनलाई सरकारले हस्तक्षेप गर्न खोजे सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।
पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले संगठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रविरुद्ध भएकाले सरकार संवेदनशील हुनुपर्ने बताए।
सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा साथ दिनुपर्ने बाध्यता नरहेको प्रस्ट पार्दै उनले कानुन सबैलाई समान रहेकाले उच्च ओहोदामा रहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताए।
कम्युनिष्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही काममा संलग्न हुनु दुःखदायी विषय भएको उनको भनाइ थियो।
अध्यक्ष नेपालले माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट आफू सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको बताए।
अहिले पनि नेकपा ब्युँत्याउने उद्देश्यले साना छरिएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउन गृहकार्य भइरहेको जानकारी दिए।
वैशाख ३०, २०८० शनिबार २२:०२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।