छातिरोग विशेषज्ञ अशेषको उपचार अनुभव : परिवारले बाँच्ने आशा मारिसकेकी युवती ठमठम हिँडेर घर गइन्

छातिरोग विशेषज्ञ अशेषको उपचार अनुभव : परिवारले बाँच्ने आशा मारिसकेकी युवती ठमठम हिँडेर घर गइन्

डा. अशेष ढुंगाना छातिरोग विशेषज्ञ हुन्। बिरामीको उपचार गर्ने क्रममा उनले धेरै यस्ता अनुभव सँगालेका छन्। जुन आश्चर्यलाग्दा र रोचक छन्। कोरोना संक्रमणका बेला आफ्नो जीवन नै दाउमा राखेर काम गरेका उनी हाल वीर अस्पतालमा कार्यरत छन्। 

चिकित्सकीय पेसा अपनाउँदा सँगालेका अनुभव उकेरासँग उनले यसरी साटे। 

२९ लिटर स्लाइन पानीले युवतीको फोक्सोको विकार पखालेपछि

केही समयअघि दाङबाट रिफर भएर वीर अस्पताल पुगेकी करिब १८ वर्षकी बिरामी युवतीको उपचार गरेको प्रसंग डा. अशेष कहिल्यै भुल्दैनन्। 

अस्पताल पुगेकी ती युवती भर्ना भइन्। उनमा स्वासप्रश्वासको कमी देखिएको थियो। अवस्था जटिल बनिसकेको थियो। बुवाआमा तथा परिवारले त बाँच्ने आशा नै मारिसकेका थिए। 

उनमा ‘पल्मोनर एलभेयोलर प्रोटिनोसिस्’को समस्या देखिएको थियो। यो भनेको फोक्सोभित्र बन्ने बिकार बाहिर ननिस्कने समस्या हो। यो समस्या लाखौंमा एक जनालाई हुने अशेष बताउँछन्। 

फोक्सोमा विकार (प्रोटिन) जम्मा भएपछि अक्सिजनको मात्रा कम भएर श्वाप्रश्वासमा नै समस्या हुने गर्छ। त्यसैले ती युवतीमा भएको फोक्सोको विकारलाई पाइपको माध्यमबाट स्लाइन हालेर पखाल्नुपर्ने थियो। 

उनको फोक्सोमा एक पटकमा १२ देखि १५ लिटर पानी हालेर पखाल्नुपर्ने थियो। यसका लागि बिरामीलाई बेहोस बनाउनुपर्ने हुन्छ। उपचार जोखिम थियो। युवती पुग्नुअघि डा. अशेषले वीरमा यसखाले उपचार गरेका थिएनन्। तर, उनीसँग ज्ञान त अवश्य थियो। भारतमा अध्ययनका क्रममा भने उनले यस्तो उपचार गरेका थिए। 

बिरामीको अवस्था जटिल भइसकेको थियो। वीरमा यसखाले उपचार गर्न सकिने डा. अशेषले युवतीका आफन्तलाई बताएका थिए। तर, बिरामीका आफन्तले वीरमै उपचार गरिदिन अनुरोध गरे।

ती बिरामीको उपचार सुरु भयो। ‘पहिलो पटकमा ६ लिटर पानीले पखाल्यौं, दोस्रो पटकमा १३ लिटर पानीले पखाल्यौं, तेस्रो पटकमा १० लिटर पानीले पखाल्यौं,’ डा. अशेषले भने।  

दोस्रो पटक पखाल्दा त छातिको संक्रमणसमेत भयो। तर, उपचारपछि संक्रमण ठिक भयो। युवतीदलाई अढाई महिनासम्म अस्पतालमै राख्नुपर्ने भयो। उनको अवस्था पनि विस्तारै ठीक हुँदै गयो। २९ लिटर पानीले फोक्सोको विकार पखालेपछि उनी डिस्चार्ज हुन सफल भइन्। 

'बिरामीलाई हिँडेर घर पठाउन सफल भयौं,’ डा. अशेष ती दिन सम्झिन्छन्। 

अहिले पनि ती युवती फलोअपमा आउने गरेकी र स्वास्थ्य अवस्था सामान्य रहेको पाउँदा अशेष आफूलाई खुसी लाग्ने उनी बताउँछन्। 

डा. अशेषलाई थाहा भएसम्म हालसम्म यस्तो उपचार नेपालमा भएको छैन। वीरमा उनको टिमले नै पहिलो पटक यो उपचार गरेको उनले दाबी गरे। 

पैसा नभएकी युवती बचाउँदा खुसी

वीर अस्पताल कैयौँ यस्ता बिरामी आउने गर्छन्, जो आर्थिक रूपमा निकै विपन्न हुने गर्छन्। सबैलाई निःशुल्क उपचार गरिदिँदा पनि औषधि लिनेसमेत पैसा अभाव हुने गर्छ। आईसीयूमै रहेका आफन्तले समेत पैसा जुटाउन नसकेको पनि भेटिन्छ। 

करिब २५ वर्षकी डाइबेटिक किटोएसिडोसिस (चिनीरोग) को समस्या भएकी युवतीलाई आईसीयूमा भर्ना गरिएको प्रसंग उनी सम्झिरहन्छन्। ती युवतीलाई एन्टिबायोटिक औषधि चलाउनुपर्ने थियो। उनलाई छालाको मुनितिरको भागमा कडा किसिमको संक्रमण भएको थियो। 

आर्थिक अवस्था कमजोर भएकी ती युवतीका परिवार उपचार खर्च जोहो गर्न सक्ने अवस्थामा थिएनन्। जसकारण उनलाई स्वास्थ्य परीक्षणलगायत खर्च निःशुल्क गरियो। 

उनलाई कडा किसिमको एन्टिबायोटिक औषधि चलाउनुपर्ने थियो। औषधिमा करिब २० हजार रुपैयाँ खर्च लाग्ने थियो। तर, बिरामीका बुवाआमासँग औषधि किन्न सक्ने पैसा थिएन। 

डा. अशेषले औषधि कम्पनीका व्यक्ति र साथीभाइसँग भनेर एन्टिबायोटिक व्यवस्था गरे। उपचारपछि ती युवतीको स्वास्थ्य विस्तारै सुधार हुँदै गयो। आईसीयूमा राखेको चार दिनपछि उनलाई वार्डमा सारियो। केही दिनको उपचारपछि उनी हिँडेरै घर जान सक्ने भइन्। 

डिस्चार्जपछि युवतीका बुवाआमा आफ्नो टिमप्रति कृतज्ञ भएर देखाएको व्यवहार उनी कहिल्यै भुल्दैनन्। आजभोलि पनि उनी यस्ता बिरामी दिनहुँजसो भेटिरहन्छन्। 

जब अक्सिजन नचाहिने बिरामीले नेताको सोर्स लगाए

दोस्रो चरणको कोरोना भाइरस संक्रमणको लहर चलिरहेको थियो। त्यस बेला कोरोना संक्रमितको उपचारमा उनी खटिएका थिए। तर एक दिन एक जना बिरामीले गरेको झगडाको प्रसंग पनि उनले उप्काए। 

अस्पतालमा बिरामी राख्ने बेड अभाव थियो। अक्सिजनको हाहाकार थियो। त्यस बेला करिब २५ वर्षका कोरोना संक्रमित युवा वीरको वार्डमा भर्ना भए। बिरामीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको थियो। उनलाई अक्सिजनको आवश्यकता पनि नचाहिने हुँदै गएको थियो। उनलाई डिस्चार्ज गरेर अर्को सिकिस्त बिरामी भर्ना गर्नुपर्ने अवस्था थियो। 

तर, ती कोरोना संक्रमित युवा कोरोना निर्मुल नहुन्जेल अस्पतालमै बस्ने भन्दै जिद्दी गर्न थाले। उनले डा. अशेषसँग झगडा गर्दै भने, ‘मेरो परिवारलाई कोभिड सर्यो भने तपाईं जिम्मेवारी लिनुहुन्छ ?’ 

जति सम्झाए पनि उनी घर जान मान्दै मानेनन्। उल्टो उनले त नेताको सोर्स पो लगाउन थाले। नेताले पनि फोन गरेर ती संक्रमितलाई डिस्चार्ज नगरिदिन अनुरोध नै गरे। यी युवकलाई ठीक भएको भन्दै अशेषले नेतालाई सम्झाए पनि। उनले ती नेतालाई भने, 'नेताज्यू तपाईंको बिरामी ठिक भएकाले डिस्चार्ज गर्न लागिएको हो, तपाईंलाई भोलि अक्सिजन चाहियो भने मैले त्यो बेड दिने कि नदिने ?’

नेतालाई डा. अशेषले त्यसरी उत्तर दिएपछि भने युवकले कुरा बुझे अनि बल्ल उनी घर फर्किए। 

कोरोना भाइरस संक्रमणको दोस्रो लहरको बेला उपचार त परको कुरा, बेड पाउनु ठूलो थियो। बेड मिलाइदिनुपर्यो भनेर कयौं ठाउँबाट सोर्सफोर्स पनि आएका उनी सम्झन्छन्। बिरामीले अक्सिजन नपाएर छटपटाउँदासमेत राम्रोसँग उपचार गर्न नपाउँदा भने उनी निकै चिन्तिन देखिए। त्यसबेला आफू पनि लाचार हुनुपरेको सुनाए। 

मर्न डर त भैहाल्छ नि !

कोरोना संक्रमणको सुरु अवस्थामा कयौं चिकित्सकसमेत डराएका उनले देखे। त्यसबेला वीरमा पनि कोरोनाको उपचार गराउनुपर्छ भन्ने लागिपर्नेमा उनी पनि एक हुन्। 

त्यसबेला वीरमा कोरोना संक्रमितको उपचार गर्न मुस्किल हुन्छ भनेर चिकित्सकहरू नै नमानेको अवस्था थियो। तर, आफूले सरकारी अस्पताल भएर कोरोना संक्रमितको उपचारमा हिचकिचाउनु हुँदैन भन्ने अडान लिएको उनी बताउँछन्। 
‘वीर अस्पतालमा पहिलो दिनबाट नै कोभिडको उपचार गर्नुपर्छ भनेर भनें,’ उनले सुनाए। 

'कोरोना संक्रमितको उपचार गर्दा आफूलाई पनि संक्रमण हुने डर उनलाई पनि नभएको होइन, तर चिकित्सकीय धर्म नै त्यस्तै थियो,' उनी भन्छन्, 'बिरामीको उपचार त गर्नै पर्यो।'

उनी कोरोना संक्रमितको उपचार गर्न पछि हटेनन्। भन्छन्, ‘मलाइ पनि डर नलागेको हैन, मर्न डर त भैहाल्छ नि।’ 
उनको परिवारसँगै उनलाई पनि कोरोना संक्रमणले छोयो। दोस्रो लहरको संक्रमणका बेला उनी, श्रीमती र डेढ वर्षका छोरासमेत कोरोना संक्रमित भएका थिए। त्यो बेला उनी आफैँ उनी तनावमा परे। 

डाक्टरी सपना छातिको अध्ययन

अशेष २०४० मा जनकपुरमा जन्मिएका हुन्। उनले तीन कक्षासम्म स्थानीय विद्यालयमा नै अध्ययन गरे। 
त्यसपछि उनको परिवार काठमाडौंमा नै बस्न थाल्यो। त्यसैले अशेष काठमाडौं आएर ग्यालेक्सी पब्लिक स्कुलमा भर्ना भए। त्यहीँबाट उनले एसएलसी गरे। उनले माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट आईएस्सी गरे।  

अशेषलाई डाक्टर बन्ने इच्छा थियो। त्यसैले उनी एमबीबीएस अध्ययनका लागि पोखरास्थित काठमाडौं विश्वविद्यालयअन्तर्गत मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा सन् २००२ अध्ययन गरे। 

सन् २००७ मा एमबीबीएस अध्ययन पूरा भयो। त्यसपछि उनले चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा करिब डेढ वर्ष मेडिकल अधिकृतका रूपमा काम गरे।

स्नातकोत्तर तहको डीएम अध्ययनका लागि डा. अशेष सन् २००९ मा भारत पुगे। उनले भारतको चण्डीगढस्थित ‘पोष्ट ग्राजुएट इन्टिच्युड अफ मेडिकल एजुकेशन एण्ड रिसर्च (पीजीआईएमईआर)’ मा भर्ना भएर ‘इन्टरनल मेडिसिन’ विषयमा डीएम अध्ययन गर्न थाले। 

सन् २०११ मा अध्ययन पूरा भयो। त्यहाँ उनले छात्रवृति कोटामा अध्ययन गरेका हुन्। त्यसपछि उनी नेपाल फर्के। 
नेपला फर्केपछि डा. अशेषले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपप्राध्यापकका रूपमा काम गर्न पुगे। 

त्यहाँ उनले विद्यार्थीलाई पढाउने र बिरामीको उपचार गर्ने काम हुन्थ्यो। 

उनलाई थप अध्ययन गर्ने भोक कम थिएन। त्यसैले उनी थप अध्ययनको समेत तयारी गरिरहेका थिए। डा. अशेषलाई छाति रोगसम्बन्धी विषयप्रति विशेष रुचि बढिरहेको थियो। त्यसैले छाति रोग विषयमा नै डीएम गर्ने उनको इच्छा थियो। 
पाल्पामा करिब डेढ वर्ष काम गरिसकेपछि डीएम अध्ययनका लागि सन् २०१३ मा भारत पुगे।

भारतको नयाँदिल्लीस्थित ‘अल इन्डिया इन्टिच्युड अफ मेडिकल साइन्सेस (एम्स)’ मा ‘पल्मोनरी कृटिकल केयर एण्ड स्लिप मेडिसिन विषय’मा डीएम तहको अध्ययन थाले।

यो छातिरोग विषयको विशिष्टीकृत (सुपरस्पेशलाइजेशन) अध्ययन हो। सन् २०१६ डीएम सकेर उनी नेपाल फर्किए। 
त्यो बेला नेपालमा डीएम तहको अध्ययन गरेर काम गर्ने चिकित्सकको संख्या कमै थियो। त्यसमाथि पनि उनी त्यो बेला डीएम गर्ने कान्छामध्ये एक थिए। ‘सम्भवतः त्यो बेला डीएम गरेर आउने सबैभन्दा कम उमेरको म नै थिएँ,’ डा. अशेषले दाबी गरे। डीएम सक्दा उनको उमेर मात्र करिब ३३ वर्षको थियो। 

वीरमा एक्लो छातिरोग विशेषज्ञ हुँदा

त्यो बेला डीएम तहको अध्ययन गरेका छातिरोग  विशेषज्ञ धेरै थिएनन्। त्यसैले त्यो बेला उनका लागि अवसरसमेत धेरै आए। 

उनलाई निजी अस्पतालले समेत राम्रो पैसा दिएर जागिरका लागि अफर गरेका थिए। त्यो बेलाको पैसा नै हेर्ने हो भने निजी अस्पतालमा आकर्षक तलब सुविधा थियो। 

तर, उनलाई भने सरकारी अस्पतालमा नै काम गर्ने इच्छा थियो। सरकारी अस्पतालमा काम गर्दा धेरै बिरामीलाई  उपचार सेवा गर्न सकिने अनि सरकारी स्वास्थ्य संस्थालाई बलियो बनाउनुपर्छ भन्ने उनको सोच थियो। सरकारी अस्पतालमध्ये पनि उनलाई वीर अस्पतालमा नै काम गर्ने इच्छा जाग्यो।

डा. अशेष छातिरोग विषयको विशिष्टीकृत (डीएम) अध्ययन गरेका चिकित्सक हुन्। तर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा उनले एमबीबीएससरह सेवा सुविधामा मासिक ज्यालादारी करार मेडिकल अधिकृतका रुपमा जागिर सुरु गरे। 

उनले नै अस्पतालको एउटा सानो कोठामा छातिरोगको विशेषज्ञ सेवा दिने क्लिनिक सुरु गरे। छातिरोग युनिटको सुरु गरे। 
त्यो बेला वीर अस्पतालमा डा. अशेष एक्लो छातिरोग विशेषज्ञ थिए। त्यसैले उनी छातिरोग विषयको ओपीडीमा बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि उपचारमा एक्लै खट्थे। दुई वर्षसम्म उनले अस्पतालमा मासिक ज्यालादारी तथा करार जागिरेका रुपमा काम गरे। 

वीर अस्पतालमा काम गरिरहेको समयमा लोकसेवा परीक्षामा छातिरोग विशेषज्ञका लागि ११ औं तहका लागि विज्ञापन आह्वान भयो। डा. अशेषले नाम निकाले। करिब पाँच वर्षअघि अशेष लोकसेवामार्फत ११ औं तहको छातिरोग विशेषज्ञका रुपमा स्थायी सरकारी जागिरे भएका हुन्।

सरकारी जागिरे भएपछि अशेषको पहिलो पोष्टिङ पनि वीर अस्पतालमा नै भयो। जहाँ उनी काम गरिरहेका थिए। 
सरकारी स्थायी चिकित्सक भएर वीर अस्पतालमा नै आएपछि उनलाई वीर अस्पतालमा छातिरोग विषयको सेवा विस्तार गर्न थप सहज भयो। 

विस्तारै यो विषय अध्ययन गरेका अन्य चिकित्सकहरू समेत वीर अस्पतालमा आउन थाले। छातिरोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ पनि वीर अस्पतालमा नै पुगे। जसले उनलाई काममा थप सहज भयो। 

अहिले वीर अस्पतालमा पाँच जना छातिरोग विशेषज्ञ रहेका उनी बताएँछन्। जसमध्ये चार जना डीएम र एक जना एमडी गरेका छातिरोग विशेषज्ञ हुन्। 

अहिले पनि इन्टरनल मेडिसिन विभागअन्तर्गत छातिरोग युनिट छ। सिनियर तहका डा. अशेष अस्पतालको इन्टरनल मेडिसिन विभागको प्रमुखको भूमिकामा समेत छन्। 

उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सहप्राध्यापक पनि हुन्। 

पल्मोनरी कृटिकल केयर तथा स्लीप मेडिसिन विषयको डीएम तहको कोर्डिनेटरका भूमिकामा समेत उनी कार्यरत छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा यो विषयको डीएम तहको पठनपाठन समेत दुई वर्षअघि सुरु भएको उनले सुनाए। 

सेवा विस्तारका ती क्षण

डा. अशेषको पहलपछि करिब चार वर्षअघि वीरमा इन्ड्रोब्रोङ्कीयल अल्ट्रासाउण्ड ल्याइयो। जुन विशेष किसिमको अल्ट्रासाउण्ड हो। यो मेसिनको सहायताले दुरविनको माध्यमबाट छातिमा भएका ससना गिर्खा भिडियो एक्सरे गरेर  हेरेर छातिको पानी निकालिन्छ। त्यो जाँच नेपालमा हुँदैनथ्यो।

इन्ड्रोब्रोङ्कियल अल्ट्रासाउण्ड गर्न भारतमा जाँदा नेपालीहरुले करिब ७० हजार खर्च हुन्थ्यो। तर, नेपाल नै पहिलोपटक त्यो मेसिन भित्र्याएपछि बिरामीको उपचारमा सहजता भएको उनले सुनाए। नेपालमा नै नभएका अन्य केही प्रविधिसमेत भित्र्याएर काम गरिरहेको उनले सुनाए।

सरकारी अस्पताल (वीर) मा पहिलो पटक निद्रा विकारसम्बन्धी परीक्षण गर्ने स्लिप ल्याबको स्थापना, छातिरोगको आईसीयूको स्थापना गर्न सफल भएको डा. अशेषले सुनाए। अस्पतालमा ब्रोङ्कोसकोपि लगायतका छातिरोगसम्बन्धी उपचारका लागि सेवाहरू विस्तार हुँदै गएका छन्।

वीर अस्पतालमा छातिरोगसबन्धी अधिकांश उपचार सेवा दिन सकिने अवस्थाका सेवाहरू विस्तार गर्न पाउँदा निक्कै आनन्द लागेको उनले सुनाए। तर, अझै केही सेवा विस्तार गर्न थप्ने पहलमा रहेको उनले सुनाए।

बिरामीहरूले उनलाई चिन्ने विभिन्न रूप छन्। छातिरोग, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विशेषज्ञ भएकाले उनलाई अधिकांशले उनलाई श्वासप्रश्वाससम्बन्धी विशेषज्ञका रूपमा चिन्छन्। चिकित्सा विज्ञानको विषयमा नयाँ नयाँ खोज तथा अनुसन्धानबारे कम्तीमा एक घण्टा निकालेर भए पनि उनी दैनिक अध्ययन गर्छन्। 

उपनिर्देशक हुँदा अस्पताल उपचारको चिन्ता

डा. अशेषले वीर अस्पतालमा कोभिड व्यवस्थापन समितिको प्रमुख तथा कोभिड विशेषज्ञका रूपमा समेत काम गरे। त्यसो त उनले कोभिड-१९ युनिफाइड केन्द्रीय युनिफाइड (वीर) अस्पतलको उपनिर्देशकको रूपमा समेत काम गरे।

त्यो बेला केन्द्रीय युनिफाइडका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतम थिए। उनैले डा. अशेषलाई उपनिर्देशकको जिम्मेवारी दिएका थिए। वास्तवमा त्यो बेला उनलाई उपनिर्देशकको प्रशासनिक भूमिकामा काम गर्ने खासै चासो थिएन। 

बिरामीको औषधि उपचार जस्ता चिकित्सकीय काम गर्न नै उनको इच्छा थियो। तर, कोभिड हेर्नेगरी उपनिर्देशक बनाएपछि त्यसलाई उनले स्विकारे। 

र, कोभिड व्यस्थापनमा थप जिम्मेवारी बहन गरेर केही महिना काम गरे। उपनिर्देशकको भूमिकामा काम गर्दा प्रशासनिक तथा व्यवस्थापकीय ज्ञान लिने राम्रो मौका पाएको उनले सुनाए। 

चिकित्सकका रूपमा काम गर्दा बिरामीको स्वास्थ्य समस्या समाधान गरिदिने विषयमा मात्रै ध्यान हुन्छ। तर, अस्पतालको नेतृत्वको भूमिकामा बस्दा सिंगो  अस्पतालमा के रोग लागेको छ र यो रोगलाई कसरी ठिक पार्ने भन्नेतर्फ बढी केन्द्रित भएको अनुभव सुनाए उनले।

वैशाख ३०, २०८० शनिबार २१:४३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।