भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भयो : एमाले

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने घटनाले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको निष्कर्ष निकाल्दै एमालेको केन्द्रीय समिति बैठक सकिएको छ।
बिहीबारदेखि शनिबारसम्म ललितपुरको च्यासलमा बसेको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै १६ बुँदे प्रस्तावसमेत पारित गरेको छ।
यस्तै बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारितसमेत गरेको छ।
१६ बुँदे प्रस्तावमा लामो समयदेखि भित्र-भित्रै चलिरहेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने र यस्तो काममा गृह मन्त्रालयकै उच्च नेतृत्व संलग्न रहनुले राज्यविरुद्धको अपराध सङ्गठित रूपमा अघि बढाइएको रहेछ भन्ने देखिएको उल्लेख छ।
उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दबाबविना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय गर्न बैठकले माग गरेको छ।
प्रस्तावमा हिरासतमा राखिएका व्यक्तिहरूलाई छानबिनको दायरामा आउनसक्ने व्यक्तिसँग अवैध रूपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयास गर्ने, असम्बद्ध व्यक्तिहरूको नाम लिन र आफू अनुकूलको बयान गराउन दबाब दिइएको जस्ता सूचना सार्वजनिक भएको उल्लेख छ।
‘हामीले सुरूदेखि भन्दै आएको- दोषी कोही नछुटून र निर्दोष कोही नफसून् भन्ने कुरातर्फ यो बैठक गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छ,’ पारित प्रस्तावमा छ, ‘राज्यका वैधानिक निकायबाट गरिने यस्ता विषयको निष्पक्ष अनुसन्धानमा हाम्रो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने स्पष्ट पार्न चाहन्छ।’
नेपाली समाजमा भ्रष्टाचार र अनियमितता सङ्क्रामक रोगका रूपमा रहँदै आएको र यस्ता घटनाहरूको निष्पक्ष छानबिन र दोषीहरूलाई कानूनको दायरामा नल्याउँदा यसले लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरूमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको एमालेको ठहर छ।
प्रस्तावमा लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन अघि बढाउनसमेत आह्वान गरिएको छ।एमालेले यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने उल्लेख गरेको छ।
नक्कली भुटानी प्रकरणमा एमालेका सचिव तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी समेत संलग्न देखिएपछि पक्राउ पुर्जी जारी भएको थियो। उनी अहिले फरार छन्। कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायत १२ जना हिरासतमा छन्।
वैशाख ३०, २०८० शनिबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।