भ्रष्टाचारको गन्ध मात्रै आए पनि कारबाही हुन्छ : मन्त्री मोदी
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले भ्रष्टाचारको गन्ध मात्रै आए पनि कारबाही हुने चेतावनी दिएका छन्।
प्रेस सेन्टर नेपाल काठमाडौंको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले भने, ‘विभिन्न मन्त्रालयमा हाम्रै मन्त्रालय मातहतका कर्मचारीहरू हुनुहुन्छ, मैले सबैलाई भनेको छु, भ्रष्टाचारको गन्ध मात्रै आएको खण्डमा पनि कारबाही हुन्छ।’
भ्रष्टाचारलाई निर्मूल पारी सुशासन कायम गर्नेगरी कार्यसम्पादन गर्न आफूले सबैलाई निर्देशन दिएको बताउँदै उनले अहिलेको सरकारको प्राथमिकता भनेकै सुशासन कायम गर्नु रहेको बताए।
‘प्रधानमन्त्रीज्युको पहिलो मिसन भनेको सुशासन हो। सामाजिक न्याय, सुशासन र विकास र समृद्धि अहिलेको सरकाको मुख्य मिसन हो। यसबाहेक अन्य कुरामा ध्यान दिएको खण्डमा सबैलाई जुनसुकै हदसम्मको कारबाही हुन्छ।’
मन्त्री मोदीले समाजको खराब मनोविज्ञान चिर्नका लागि प्रेस सेन्टरले अग्रमोर्चामा रहेर भुमिका निर्वाह गर्नुपर्ने बताउँदै सरकारको काम कारबाहीलाई सकारात्मक रुपमा प्रचारप्रसार गर्नका लागि यो क्षेत्रको भूमिका महत्वपूर्ण रहेको समेत औँल्याए।
वैशाख ३०, २०८० शनिबार १६:००:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।