२०२४ को टी-२० विश्वकप क्रिकेटको छनोट खेल नेपालमा हुने

२०२४ को टी-२० विश्वकप क्रिकेटको छनोट खेल नेपालमा हुने

काठमाडौं : अर्को वर्ष हुने टी-२० विश्वकप क्रिकेटको छनोट खेल नेपालमा हुने भएको छ।

सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको एसियाली छनोट खेल नेपालमा हुन लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दका अनुसार नेपालले नोभेम्बरमा काठमाडौंमा टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोटको खेल आयोजना गर्नेछ।

हाले सम्पन्न एसीसी प्रिमियर कपको सफल आयोजनापछि आईसीसीले यो छनोट प्रतियोगिता गराउने जिम्मेवारी नेपाललाई दिएको हो।

यो विश्वकपमा पहिलो पटक २० टिमले सहभागिता जनाउँदैछन्। जसमा एसियाली छनोटबाट दुई टिमले प्रवेश पाउने छन्।

छनोट प्रतियोगितामा आयोजक नेपालसँगै ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। जसमा ४ टिमको दुई समूहबाट २/२ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् भने फाइनल खेल्ने दुई टिम विश्वकपका लागि छनोट हुनेछन्।

छनोट प्रतियोगितामा नेपाल, यूएई, ओमान, हङकङ, सिंगापुर र बहराइनले प्रतिस्पर्धा गर्ने छन् भने बाँकी २ टिम छनोट हुन बाँकी छ।

प्रतियोगिता आगामी नोभेम्बर १ देखि १० सम्म टीयू क्रिकेट मैदान र मूलपानी मैदानमा हुनेछ।  

वैशाख ३०, २०८० शनिबार ११:२७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।