१० वर्षदेखि विश्वलाई तिलौराकोट चिनाइरहेका राजकुमार
बुटवल : कपिलवस्तुको तिलौराकोट भगवान गौतम बुद्धले २९ वर्ष बिताएको स्थल हो।
गौतम बुद्धसँग सम्बन्धित तिलौराकोट विश्वकै ऐतिहासिक र पुरातात्त्विक महत्वको स्थान हो। तिलौराकोटभित्र विशेष गरी तीन भग्नावशेष छन् : दरबारको पूर्वी द्वार, पश्चिमी द्वार तथा दक्षिणी द्वार।
यही ऐतिहासिक स्थल हेर्न बर्सेनि लाखौंको संख्यामा पर्यटक तिलौराकोट पुग्छन्। सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राजकीय जीवन त्यागेर ज्ञानका लागि दरबार त्याग गरेको यस स्थलमा सधैं जसो भेटिने गर्छन् राजकुमार यादव।
यादव गौतम बुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई यहाँको भौतिक संरचनाका विषयमा बुझाउने गर्छन्। एक दुई मात्र होइन, नेपाली, हिन्दी, अंग्रेजी, चिनियाँ, थाईलगायत भाषाको ज्ञान उनलाई छ।
कपिलवस्तु नगरपालिका–३ शिवगढ घर भएका यादवले पर्यटक पथ प्रदर्शकको काम गर्छन्।
३३ वर्षाका ‘टुर गाइड’ यादवले तिलौराकोट, बुद्ध सम्बन्धी ऐतिहासिक, पुरातात्त्विक र बुद्धिस्ट क्षेत्रको प्रचारबारे पर्यटकलाई बताउँदै हिंडेको १० वर्ष भइसक्यो।
‘गौतमबुद्ध (तिलौराकोट), कनकमुनि बुद्ध (निग्लिहवा) र क्रकुच्छन्द बुद्ध (गोटिहवा)को क्रिडास्थल सहित बुद्धसँग सम्बन्धित सयभन्दा बढी स्थल यहाँ छन्। तर जति प्रचार सरकारले गर्नुपर्ने हो, गरेको छैन। आएका पर्यटकहरुको धेरै रुची भने तिनै स्थानबारे थाहा पाउनेमा हुन्छ। सरकारले यसतर्फ ध्यान दिएकै छैन,’ यादवले भने।
यादव आफूसँग तिलौराकोटदेखि गोटिहवा, निग्लीहवासम्मका सबै पुरातात्त्विक वस्तुबारे ज्ञान भएको बताउँछन्।
‘यहाँ आउने पर्यटकहरुले कहाँ आएको छु भन्ने जानकारी नलिई फर्केको देखेपछि मैले यो काम गर्न थालेको हुँ। रुची जाग्यो, अनि यस बारे आफूले अध्ययन गरेपछि यो काममा लागें,’ उनले भने।
यादवले सन् २०१६ मा उत्खननका क्रममा तिलौराकोट दरबारको पूर्वपट्टि कन्थक स्तूपको दक्षिणपट्टिको खेतमा चाँदीका ४९७ र तामाका २८९ सिक्का फेला परेको देखि सन् २०१८ को उत्खननमा विभिन्न बुद्धका मूर्ति, माटाको खेलौना, चुरा, मालाजस्ता थुप्रै पुरातात्त्विक अवशेष भेटिएको बारे पर्यटकलाई जानकारी दिन्छन्।
तिलौराकोट दरबार क्षेत्रदेखि ४०० मिटर दक्षिण पश्चिममा कपिलवस्तु सङ्ग्रहालय स्थापना गरिएको छ। प्राचीन कपिलवस्तु उत्खनन गर्दा भेटिएका बहुमूल्य वस्तुहरु जस्तै : फलामका किला, सिसाका टप, सिसाका बाला, माटाका भाँडा, इँटाका टुक्रा र फुटेका चुरा सङ्ग्रहालयमा राखिएका छन्।
त्यहाँ पुगेर पनि यादवले पर्यटकहरुलाई त्यसको ऐतिहासिकता दर्साउँछन्। पुरातात्त्विक महत्वको स्थल भएर पनि तिलौराकोटको विकास सोचेअनुरुप नभएको यादवको अनुभव छ।
तालिमपछि बने टुरिष्ट गाइड
घर आँगनको ऐतिहासिकता बोकेको तिलौराकोट बारे जान्न उनको रुची थियो। त्यही क्रममा उनले काठमाडौंमा बुद्धिस्ट एरियाको तालिममा सहभागी हुने मौका पाए।
विश्व सम्पदा क्षेत्रमा काम गर्ने युनेस्कोले रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका १५ जना युवाहरूलाई दिएको तालिममा यादव पनि सहभागी थिए। काठमाडौंमा नेपाल एकेडेमिक टुरिज्म एशोसिएशन होटल म्यानेजमेन्टबाट पनि उनले तालिम लिए।
‘तालिम लिएपछि मलाई पर्यटकहरुलाई अब गाइड गर्छु भन्ने आँट आयो। थप अनुसन्धानमुलक अध्ययन गरेपछि गाइडको काम गर्न थालें,’ यादवले भने।
कपिलवस्तुको शान्ति निकेतन स्कूलबाट २०६४ सालमा एसएलसी गरेका उनले कपिलवस्तु बहुमुखी क्याम्पसबाट आईएस्सी गरे भने मानविकी संकायमा स्नातक गरेका छन्।
यादव ‘बुद्धिष्ट’ क्षेत्रमा राज्यले नै पथ प्रदर्शक राख्नुपर्ने बताउँछन्। ‘विभिन्न भाषामा जानकारी दिन सक्ने गरी पथ प्रदर्शक (टुरिष्ट गाइड) राज्यले राख्ने हो भने अझ यसको ऐतिहासिकता विश्वभर फैलाउन सकिन्थ्यो। यस तर्फ पनि राज्यले ध्यान दिनुपर्छ’ उनले भने।
यादव तिलौराकोटमा पथ प्रदर्शन गरे बापत दैनिक १ हजारदेखि ४ हजार रुपैयाँसम्म लिन्छन्। तर उनी दिनदिनै भने त्यहाँ आउँदैनन्।
विभिन्न समयमा भएका उत्खननबाट तिलौराकोटमा ईशापूर्व छैटौं शताब्दीमा नै योजनाबद्ध शहरीकरण सुरू भएको पाइएको छ।
चारैतर्फ किल्ला र पर्खालले घेरिएको, उत्तरतर्फ स्तूप, दक्षिणमा औद्योगिक स्थल, पूर्वमा विहार र पश्चिममा बसोबास रहेको बताइन्छ। दरबारभित्र बुद्धले नुहाउने कोठा, आराम गर्ने कक्ष समेत भेटिएको यादव बताउँछन्।
वैशाख ३०, २०८० शनिबार ०९:४९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।