नेपाली चलचित्रका भान्से र मेकअप म्यान ‘लाइफटाईम एचिभमेन्ट अवार्ड’ द्वारा सम्मानित

नेपाली चलचित्रका भान्से र मेकअप म्यान ‘लाइफटाईम एचिभमेन्ट अवार्ड’ द्वारा सम्मानित

काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा विगत चार दशकभन्दा लामो समयदेखि सक्रिय रहेका जेठा दाई (कुल बहादुर महत) र शन्तु तामाङलाई ‘लाइफटाईम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ।

एलजी सिने सर्कल अवार्डले दुवैलाई ५१ हजार नगदसहित लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरेको हो।काठमाडौंमा आयोजित एक समारोहमा सम्मानित भएका जेठा दाई भान्से हुन् भने सन्तु मेकअप म्यान हुन्। 

उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्य रहेको समारोहमा २०७७, २०७८ र २०७९ सालमा प्रदर्शन भएका नेपाली चलचित्र तथा कलाकर्मीलाई सम्मान गरिइएको थियो।

पर्दा पछाडिका हिरो मानिएका जेठा दाई र शन्तुलाई सम्मानित गर्न पाउँदा एकदम खुशी लागेको उपराष्ट्रपति यादवले बताए। 

जेठा दाईको चलचित्र क्षेत्रको यात्रा निर्देशक तुलसी घिमिरेको जत्तिकै छ। निर्देशक घिमिरेसँग नै काठमाडौं आएका उनको जीवन चलचित्रमै जोडियो। चलचित्रकै कारण विवाह भएको उनको डिभोर्स पनि भयो। अहिले उनि असनको सानो कोठामा एक्लै बस्ने गर्छन्। 

६९ वर्षीय जेठा दाई २०३७ सालमा बनेको चलचित्र बाँसुरीबाट यस क्षेत्रमा होमिएका हुन्। चलचित्र अन्याय, कोसेली, दुई थोपा आँसु लगायतका नेपाली र भोजपुरी गरेर सय भन्दा बढि चलचित्रमा प्रमुख भान्सेको रुपमा काम गरेका उनले केहीमा भने अभिनय पनि गरेका छन्।

उनले बनाएको खाना र खाजाको स्वाद निर शाह, मह जोडी, बसुन्धारा भुषाल, राजेश हमाल, करिश्मा मानन्धरदेखि नयाँ पुस्ताका अनमोल केसी, प्रदीप खड्का, स्वस्तिमा खड्का, सुरक्षा पन्तसम्मको पुस्ताले चाखिसकेका छन्।

भारतीय चलचित्र महानको छायांकनमा आउँदा अमिताभ बच्चनले कार्ड दिएको क्षण कहिले पनि बिर्सन नसक्ने पल बताउने गरेका उनि अब आफ्नो बाँकीको जिन्दगी पनि यसै क्षेत्रमा बिताउने बताउँछन्। 

त्यस्तै शन्तु भने कलिलै उमेरमा काभ्रेबाट काठमाडौं छिरे। किसान परिवारमा जन्मिएका उनि तत्कालीन शाही नेपाली चलचित्र संस्थानमा पिउनको जागीरमा लागेसँगै स्थल सहयोगी, श्रृंगार सहायक हुँदै मेकअप म्यानसम्म बनेर आफूलाई स्थापित गर्न सफल भए। 

२०३६ सालमा बदलिँदो आकाश नामको चलचित्रमा सहायक मेकअप म्यान हुँदा उनले भारतीय मेकअप म्यानको नेतृत्वमा काम गरे। पछि मायालु चलचित्रबाट भने उनले पूर्ण रुपमा मेकअप म्यान भएर नै काम गर्न थाले। 

२०५७ सालमा भने बागबजारमा उनले आफ्नै मेकअप स्टुडियोको स्थापना गरे र धेरै जनशक्ति पनि उत्पादन गरे। नेपाल चलचित्र प्राविधिक संघको उपाध्यक्षदेखि अध्यक्षसमेत भएका उनले चलचित्र सम्बन्धी विभिन्न संस्थामा समेत आबद्ध भएर काम गरेका छन्।

वैशाख ३०, २०८० शनिबार ०७:५५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।