विवेकशील साझाको चेतावनीः शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाए भयावह स्थिति सिर्जना हुन्छ

विवेकशील साझाको चेतावनीः शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाए भयावह स्थिति सिर्जना हुन्छ

विवेकशील साझा पार्टीले नक्कली शरणार्थी प्रकरणलाई परिणाममुखी निष्कर्षमा पुर्याउन सरकारसँग माग गरेको छ। 

आज एक विज्ञप्ति जारी गर्दै पार्टीले यस कार्यमा दलीय पूर्वाग्रहका राखेर दोषीलाई उन्मुक्ति दिइए भयावह अवस्था सिर्जना हुन सक्ने पनि चेतावनी दिएको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचीमा हरेक वर्ष संसारका भ्रष्ट मुलुकहरूको अग्रसूचीमा नेपाल उक्लिरहेको भन्दै यस प्रकरणले विश्वमै लज्जास्पद रूपमा चित्रण भइरहेकोप्रति विवेकशील साझा पार्टीले विशेष ध्यानाकर्षण भएको जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ- नक्कली शरणार्थी प्रकरणमा उच्च नेता, कर्मचारी र उनीहरूका आफन्त समेत प्रत्यक्ष जोडिएकाले नेपाली परम्परागत राजनीतिको कुरूप तस्वीरलाई नागरिकहरूले कसरी सहीरहेका छन भन्ने टड्कारो सवाललाई नजरअन्दाज नगर्न दलका नेता, कर्मचारी र सरोकारवालाहरूलाई स्मरण गराउँदै विवेकशील साझा पार्टी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा विश्वास गर्ने पार्टी भएको पुनः स्मरण गराउन चाहन्छौँ।

साथै पार्टीले भ्रष्टाचारका अन्य चर्चित काण्डहरू  वाइडबडी, यती, ओम्नी, एनसेल, ३३ केजी सुन, सेक्युरिटी प्रिन्टिङ प्रेस , ७० करोड, सीसीटीभी फुटेज काण्ड, लडाकु शिविर, फोरजी, बालुवाटार जग्गा प्रकरणलगायत भ्रष्टाचार काण्डलाई छानबिन गरी दोषीलाई कारबाही गरेर दण्डहीनताको अन्त्य गर्न सरकारसँग जोडदार माग गरेको छ। 

वैशाख २९, २०८० शुक्रबार १६:३९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।