एसिया कपबारे पीसीबी अध्यक्ष भन्छन्- अरे भाइ, योभन्दा बढि के गरौँ म?
काठमाडौं : आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कपलाई लिएर क्रिकेट वृत्तमा बडो चासो छ। पाकिस्तानले प्रस्ताव गरेको हाइब्रिड मोडललाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले नस्वीकार्ने खबरका बीच एसिया कप हुने वा नहुने अन्योल बढेको छ।
यसैबीच पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष नजाम सेठीको अन्तर्वार्ता अहिले भाइरल बनेको छ। स्पोर्ट्स तकलाई दिएको अन्तर्वार्तामा उनले पाकिस्तानले गर्नसक्ने ‘कम्प्रोमाइज’ गरेको बताएका छन्। एसिया कप एक साता पाकिस्तानमा र बाँकी १०/१५ दिन न्यूट्रल भेन्यूमा गर्न आफूहरू तयार रहेको उनले बताएका हुन्।
सेठीले भने, ‘हामीले भनेको हाइब्रिड मोडलमा चार खेल पाकिस्तानमा हुनेछ र बाँकी सबै खेल न्यूट्रल भेन्यूमा हुनेछ। श्रीलंका, बंगलादेश र नेपाल पाकिस्तान आउनेछन् र एक हप्ताभित्र आफ्ना खेलहरू खेल्छन्। त्यसपछि हामी सबै बोरीबिस्तार बोकेर न्यूट्रल भेन्यूमा जान्छौं।’
न्यूट्रल भेन्यूमा समूह चरणका बाँकी खेल तथा सेमिफाइल र फाइनलका खेल गराउने गरी आफूले प्रस्ताव राखेको उनको भनाइ छ।
‘न्यूट्रल भेन्यूमा बाँकी रहेका समूह चरणका खेल र फाइनलसम्मका खेल हुनेछन्। सात दिन पाकिस्तानमा र बाँकी १०÷१५ दिन न्यूट्रल भेन्यूमा खेल हुन्छ। यदि भारत र पाकिस्तानको फाइनल भए वा पाकिस्तान र अन्य देशको फाइनल भए पनि हामी पाकिस्तान आउँदैनौं। त्यहि न्यूट्रल भेन्यूमा खेल्नेछौँ। योभन्दा बढि कम्प्रोमाइज म के गरौं?’
न्यूट्रल भेन्यूको विषयमा सहमति नभए पाकिस्तानले एसिया कप नखेल्ने चेतावनी समेत अध्यक्ष सेठीले दिए। पाकिस्तानविनाको एसिया कप एसिया कपनै नहुने भन्दै उनले एसिया कपको सम्पूर्ण आम्दानी भारत र पाकिस्तानबीचको खेलबाट हुने स्मरण गराए।
सेठीले पाकिस्तानमा कुनै पनि सुरक्षा खतरा नरहेको स्पष्ट पार्दै उनले आफूरू एसिया कप गराउन सक्षम रहेको बताए। उनले अहिले चलिरहेको हिंसा र झडपका घटनाहरु पनि केही दिनमै बन्द हुने जानकारी दिए।
न्यूजिल्याण्ड र इंग्ल्याण्डले भर्खरै पाकिस्तानमा सिरिज खेलेर गएको स्मरण गर्दै उनले कुनै पनि हालतमा सुरक्षा चुनौती नहुने प्रतिबद्धता व्यक्त गरे।
वैशाख २९, २०८० शुक्रबार ०९:४२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।