इमरान खान आज इस्लामबाद उच्च अदालतमा हाजिर हुँदै

इमरान खान आज इस्लामबाद उच्च अदालतमा हाजिर हुँदै

एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अल कादिर ट्रस्ट मुद्दामा शुक्रबार इस्लामावाद उच्च अदालतमा हाजिर हुने भएका छन्।

उनलाई शुक्रबार बिहान ११ बजे अदालतमा उपस्थित हुन भनिएको छ। यस मामिलामा उनको गिरफ्तारी गैरकानूनी घोषित गर्दै, पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार उनलाई इस्लामाबाद उच्च अदालतमा उपस्थित हुन भनेको थियो।

बिहीबारको सुनुवाईमा, सर्वोच्च अदालतले अल कादिर ट्रस्ट मुद्दामा नेशनल अकाउन्टबिलिटी ब्यूरो (एनएबी)ले इमरानको गिरफ्तारीलाई गैरकानूनी ठहर गर्यो।

इजलासले भन्यो, ‘अल कादिर ट्रस्ट मुद्दामा एनएबी र आवेदकले दिएको चुनौतीबारे सुनुवाइ गर्नका लागि आवेदकलाई शुक्रबार विहान ११ बजे इस्लामाबाद उच्च अदालतमा उपस्थित गराउन।’

सर्वोच्च अदालतले इमरान खानको गिरफ्तारीलाई गैरकानूनी घोषणा गरेको छ तर उनलाई घर जान भने दिइएको छैन। दुई दिनअघि इमरान खान पक्राउ परेपछि देशभर हिंसा र प्रदर्शन सुरु भएको थियो।

अदालतले आफ्नै सुरक्षाका लागि पनि इमरान खान शुक्रबार इस्लामावाद उच्च अदालतमा उपस्थित नभएसम्म अदालतको निगरानीमा प्रहरी सुरक्षामा बस्नुपर्ने बताएको थियो।

प्रधानन्यायाधीश उमर अता बन्दियालले इमरान खानलाई भने, ‘तपाईंको गिरफ्तारी गैरकानूनी छ, त्यसैले सम्पूर्ण प्रक्रियालाई सुरुदेखि नै हेरिनुपर्छ,’

इमरान खानले अदालतलाई इस्लामावाद बाहिर रहेको आफ्नो फार्म हाउसमा फर्कन अनुमति दिनुपर्ने माग गरेका थिए। तर अदालतले खान प्रहरीको नभई सर्वोच्च अदालतको हिरासतमा रहने र नजिकका मानिसहरूसँग भेट्न सक्ने आदेश दिएको थियो।

वैशाख २९, २०८० शुक्रबार ०८:५८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।