एमाले केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनमाथि छलफल हुने, स्थायी कमिटी बैठक पनि आजै
काठमाडौं : एमालेको केन्द्रीय कमिटी बैठकमा शुक्रबार प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरु भएको छ।
केहीबेरअघि देखि सुरू भएको बैठकमा ती प्रतिवेदनहरूमाथि समूहगत छलफल सुरु भएको हो।
बिहीबारबाट सुरु केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैरभौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियान सम्बन्धी प्रतिवेदन पेश गरेका थिए।
प्रतिवेदनहरूमाथि ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ।
समूहगत छलफल मिसन ग्रासरुट अभियानको निष्कर्षको आधारमा आगामी दिनमा कसरी कार्ययोजना बनाएर अघि बढ्ने भन्ने विषयमा केन्द्रित हुने महासचिव शंकर पोखरेलले जानकारी दिए।
समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले सुझाव प्रस्तुत गर्नेछन्। त्यसका लागि हरेक अध्यक्षहरूलाई १० मिनेटको समय उपलब्ध गराइएको छ।
त्यसपछि आजै स्थायी कमिटीको बैठक बस्नेछ। प्रदेश अध्यक्षहरूबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्नेछ।
कार्ययोजनाको प्रस्ताव तयार पारिसकेपछि पुनः केन्द्रीय कमिटीको बैठक सुरू हुनेछ। केन्द्रीय समितिको बैठकबाट कार्ययोजनाको प्रस्ताव पारित गरिने छ।
त्यसपछि समसामयिक प्रस्तावहरू पारित गरेर अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्नेछन् र यही वैशाख ३० गते केन्द्रीय समिति बैठक सम्पन्न गर्ने एमालेको कार्यतालिका छ।
वैशाख २९, २०८० शुक्रबार ०८:१५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।