३३ डलरसम्म घट्यो कच्चा तेलको मूल्य

३३ डलरसम्म घट्यो कच्चा तेलको मूल्य

एजेन्सी : अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ (क्रुड आयल)को मूूल्यमा भारी गिरावट आएको छ।

नेपाल राष्ट्र बैङ्कले  सार्वजनिक  गरेको  तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूूल्य २० प्रतिशत घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा २०७८ चैत मसान्तसम्म प्रतिब्यारल १०८.४९ अमेरिकी डलर रहेकामा २०७९ चैतमा घटेर ८६.५१ अमेरिकी डलरमा झरेको हो।

रुस–युक्रेनको युुद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको थियो। रुसले युक्रेनमा आक्रमण गरेसँगै युरोपेली सङ्घका मुलुकले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि तेलको मूल्य एक्कासी बढेको थियो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असर नेपालमा समेत परेको थियो। गत असोजदेखि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रूपमा घट्दै गएको छ।

पछिल्लो समय तेलको उत्पादन बढ्दै गएपछि मूूल्यमा गिरावट हुुँदै आएको हो। कच्चा तेलको मूल्यबारे जानकारी राख्ने आयल प्राइस डटकमका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा बे्रन्ड क्रुड आयलको मूूल्य घटेर प्रतिब्यारेल ७५.२७ अमेरिकी डलरमा झरेको छ।

यसअनुसार गत वर्ष चैतको तुलनामा आजको दिनमा क्रुड आयलको मूल्यमा ३३ डलरसम्म घटेको देखिन्छ।

एक महिनाको अवधिमा प्रतिब्यारेल १० अमेरिकी डलरले घटेको छ। पछिल्लो समय  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएको छ। कच्चा तेलको मूल्यले  नेपाली बजारसम्म प्रभाव पार्छ।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन(आइओसी)बाट तेल खरिद गर्दै आएको छ। आइओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्य अनुसार नेपाललाई रिफाइन तेल प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउँछ।

वैशाख २९, २०८० शुक्रबार ०७:२७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।