दिल्लीका मुख्यमन्त्री केजरीवालले भने, 'जनताको काम रोक्नेले आफ्नो कर्मको फल भोग्नुपर्छ'
भारतको सर्वोच्च अदालतको फैसलापछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार पत्रकार सम्मेलन गरेका छन्।
खल्तीबाट पर्चा निकालेर चश्मा मिलाउँदै उनले भने, 'प्रधानन्यायाधीश डीवाई चन्द्रचुड र सबै न्यायाधीशलाई धन्यवाद । सर्वोच्च अदालतले आज दिल्लीका जनतालाई न्याय गरेको छ।'
करिब १५ मिनेटसम्म सञ्चारकर्मीसामु बोलिरहेका उनले प्रधानमन्त्रीलाई राज्यका पिता भन्दै काममा अवरोध नगर्न लेफ्टिनेन्ट गभर्नरलाई आग्रह गर्ने बताए ।
अदक्ष र भ्रष्ट अधिकारीलाई हटाइने, इमानदारलाई माथिल्लो पदमा राख्ने उनले घोषणा गरे । उनले भने, 'जनताको काम रोक्नेले आफ्नो कर्मको फल भोग्नुपर्छ।'
भारतको सर्वोच्च अदालतले आज दिल्लीमा सरकारी अधिकारीमाथि निर्वाचित सरकारको मात्र नियन्त्रण रहने फैसला गरेको हो ।
५ न्यायाधीशको संवैधानिक इजलासले सर्वसम्मतिमा भनेको छ, 'सार्वजनिक व्यवस्था, प्रहरी र जग्गाबाहेक अन्य सबै मामिलामा उपराज्यपालले दिल्ली सरकारको सल्लाह र सहयोगमा काम गर्नेछन्।'
अदालतको फैसलापछि दिल्ली सरकारले सेवा विभागका सचिव आशीष मोरेलाई पदबाट हटाएको छ।
वैशाख २८, २०८० बिहीबार २०:५९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।