इमरान खान पक्राउपछि भएको हिंसात्मक झडपमा पाकिस्तानमा १० जनाको मृत्यु, १९ सय जना पक्राउ

इमरान खान पक्राउपछि भएको हिंसात्मक झडपमा पाकिस्तानमा १० जनाको मृत्यु, १९ सय जना पक्राउ

काठमाडौं : पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेपछि भएको हिंसात्मक प्रदर्शनमा पाकिस्तानमा अहिलेसम्म १० जनाको मृत्यु भएको छ।

खान पक्राउ परेपछि उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई)ले देशभर विरोध गर्दै हिंसात्मक प्रदर्शन गरेको थियो। बिहीबारसम्म आइपुग्दा अहिलेसम्म १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

उसका अनुसार पीटीआईका सात नेताविरुद्ध हत्या, डकैती, सरकारी सम्पत्तिमा क्षति पुर्याएको आरोपमा मुद्दा दर्ता गरिएको छ। उनीहरूमाथि १५ करोडभन्दा बढिको सम्पत्तिमा क्षति पुर्याएको आरोप लगाइएको छ।

यस्तै प्रहरीले अहिलेसम्म १९ सय प्रदर्शनकारीलाई पक्राउ गरेको छ। पीटीआई अध्यक्ष परवेज इलाहीको अन्तरिम जमानतको रिटलाई पनि अदालतले खारेज गरिदिएको छ।

त्यसैगरी बिहीबार नै इमरान खानलाई आठ दिनको हिरासतमा बस्ने पक्का भएसँगै प्रहरीले नेशनल अकाउन्टबिलिटी ब्यूरोलाई जिम्मा लगाएको छ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले हिंसात्मक कार्यमा संलग्न कसैलाई पनि नछाड्ने कडा कारबाही गरिने चेतावनी दिएका छन्।

यस्तै सर्वोच्च अदालतको तीन सदस्यीय इजलासले नेशनल एकाउन्टबिलिटी ब्यूरोलाई एक घण्टाभित्र इमरान खानलाई अदालतमा उपस्थित गराउन आदेश दिएको समाचार पनि बीबीसीले लेखेको छ।

वैशाख २८, २०८० बिहीबार १८:०८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।