नाबालिग बलात्कार अभियोगमा जेलको अनुभव समेटेर म्युजिक भिडियो बनाए पलले, समर्थकको सान्त्वना फर्काउने प्रयास
काठमाडौँ : नाबालिग बलात्कार अभियोगमा कारागारमा बस्दादेखि जिल्ला अदालत अनि उच्च अदालतबाट सफाइ पाएर रिहा हुँदासम्मको कथालाई समेटेर अभिनेता पल शाहले म्युजिक भिडियो रिलिज गरेका छन्।
'तिमिलाई हेर्ने बानी पर्यो' बोलको गायिकाको भर्सनको गीतको म्युजिक भिडियो उनैले बनाएर आफ्नो आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।
गीतको कथानक उनी पक्राउ परेदेखि सफाइ पाएर रिहा भएसम्मको दृश्यसँगै आमा अनि बहिनीको अवस्थालाई समेटिएको छ। एक गायिका नाबालिगहुँदा नै पलले प्रेममा पारेर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै जाहेरी परेको थियो।
पछि जाहेरीकर्ता र पीडित भनिएकी गायिकाले अदालतमा बयान बदलिइन्। जिल्ला अदालत नवलपुरले बलात्कार नभई नाबालिग यौन दुरुपयोगमा साढे २ वर्ष कैद सजाय तोक्यो। जिल्ला अदालत तनहुँले सफाइ दियो। नवलपुरको फैसला उच्च अदालत पोखराले उल्टाएपछि उनी रिहा भएका थिए।
तर दुवै अदालतको फैसलाविरुद्ध पुनरावेदन परिसकेको छ। घटनाक्रमले नाबालिग र उनको परिवारलाई होस्टायलमा पारेर बयान बदल्न लगाएको देखिएको थियो। केही दिन अगाडि एक अन्तर्वातामा पीडित भनिएकी गायिकाले समेत घटना सत्य भएको दाबी गर्दै मायाका कारण आफूले बयान बदलेको सङ्केत गरेकी थिइन्।
केही दिन अगाडि पीडित भनिएकी गायिकाले एक टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिँदै आफू गलत नभएको तर मायाका कारण आफू गलत भएर पनि पललाई रिहा हुन सघाएको दाबी गरेकी थिइन्।
वैशाख २८, २०८० बिहीबार १७:४९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।