नेपालीलाई अमेरिका लैजाने भनेर कोलम्बियाको समुन्द्रमा डुबाएर फरार भएका टोपबहादुर जिसी बल्ल पक्राउ परे
दाङ : नेपाली नागरिकसँग पैसा असुलेर अवैध बाटोहुँदै गैर कानुनी रूपमा अमेरिका पठाउन सक्रिय एमाले नेता टोपबहादुर जिसी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलिले जिसीलाई बुधवार पक्राउ गरेको हो। जिसीले गैर कानुनी रूपमा अमेरिका पठाउनेक्रममा घोराही १२ का पूर्व वडा अध्यक्षका छोरा डुङ्गा पल्टेर मृत्यु भएको थियो।
अवैध बाटोबाट अमेरिका पठाउन जिसीले पठाएका नेपालीहरू कोलम्बियाको पोएर्तो स्कोन्दियोस्थ्ति क्यारेबियन सागरमा परेका थिए। अवैध रूपमा अमेरिका छिर्न चढेको डुङ्गा पल्टँदा ७ जना नेपाली र ५ जना बङ्गलादेशी नागरिक बेपत्ता भएका थिए।
तीमध्ये दाङका एञ्जल बुढा मगर समेत बेपत्ता भएका थिए। उनको परिवारले मानव बेचबिखन अनुसन्धान ब्युरोमा दाङ घोराहीका टोपबहादुर जिसीले अमेरिका लैजाने भन्दै पैसा लिएर पठाएको भन्दै जाहेरी दिएका थिए।
दुबई र भारतमा बस्ने जिसी विरुद्ध प्रहरीले इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी भएको थियो। उनी घोराहीको भिग्रेली भिलेजमा लुकिछुपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले बताए।
जिसी विरुद्ध जिप्रका दाङमा ठगी र मानव बेचबिखन ब्युरोमा जाहेरी रहेको छ। घटनाबारे थप अनुसन्धान गर्न मानव बेचबिखन ब्युरोसँग समन्वय हुने र दाङबाट ब्युरोमा पठाउने एसपी वलीले जानकारी दिए।
जिसी २०७६ मा मानव बेचबिखनमै पक्राउ परे पनि १५ लाख धरौटीमा छुटेर पुन मानव तस्करीमा सक्रिय भएका थिए।
काठमाडौँ जिल्ला अदालतले २०७७ पुस १९ गते जिसी विरुद्ध २ वर्ष कैद र १२ लाख जरिवानाको फैसला गरेपछि पनि उनी दाङमा पक्राउ परेका थिए। तर दाङका तत्कालीन प्रहरी प्रमुख गणेश चन्दले उनलाई छाड्दा उनले पुन तस्करीको धन्दा सुरु गरेका थिए।
यो समूहले एमाले नेता तथा पूर्व प्रदेश सभा सदस्य स्व. उत्तम कुमार वलीसँग मिलेर मानव तस्करीको धन्दा सुरु गरेका थिए। टोपबहादुर फरारै रहे पनि प्रहरीले यस अगाडि दाङ तुलसीपुरका मुकुन्द जिसीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो।
सवारी दुर्घटनामा उत्तमको मृत्यु भएपछि एमालेले उनको श्रीमती विमला वलीलाई टिकट दिँदा उनी सांसद बनिन्। पछि उनी लुम्बिनी प्रदेशको मन्त्री समेत भएकी थिइन्। यो घटनामा उनी समेत प्रतिवादी छिन्।
सम्बन्धित समाचार
वैशाख २७, २०८० बुधबार १८:४८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।