एकदिवसीय विश्वकपः भारतले पहिलो खेल अष्ट्रेलियासँग खेल्ने, पाकिस्तानसँग भने १५ अक्टुबरमा
एकदिवसीय विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा हुने भएको छ ।
आईसीसीले विश्वकपको आधिकारिक तालिका भने सार्वजनिक गरेको छैन । यो विश्वकपको आयोजक भारतले पाएको छ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म खेलाइने छ ।
क्रिकेट वेबसाइट क्रिक बजको रिपोर्टअनुसार दुई देशका क्रिकेट बोर्डबीच खेलस्थलका विषयमा भने सहमति हुन सकेको छैन । बीसीसीआई र आईसीसी यो खेल अहमदाबादमा गराउन चाहन्छन् तर पाकिस्तानको क्रिकेट बोर्ड त्यसका लागि तयार छैन।
रिपोर्टका अनुसार विश्वकपको पहिलो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा इंग्ल्याण्ड र न्युजिल्यान्डबीच खेल हुनेछ। गत विश्वकपको विजेता इंग्ल्याण्ड र न्युजिल्यान्ड उपविजेता बनेको थियो ।
भारतले आफ्नो पहिलो खेल अष्ट्रेलियासँग चेन्नईमा खेल्दै छ । यसको मिति अझै आएको छैन । पाकिस्तानसँगको खेल १५ अक्टोबर अर्थात् आइतबार हुन सक्ने बताइएको छ। फाइनल खेल नोभेम्बर १९ मा हुनेछ ।
विश्वकप अक्टोबर ५ बाट सुरु हुने र यसका लागि १२ स्थानहरू सर्टलिस्ट गरिएका छन्। जसमा चेन्नई र कोलकाता पनि परेका छन्। बाँकी १० स्थान अहमदाबाद, लखनऊ, मुम्बई, राजकोट, बैंगलोर, दिल्ली, इन्दोर, गुवाहाटी, हैदराबाद र धर्मशाला हुन्।
वैशाख २७, २०८० बुधबार १६:५०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।