पूर्व गृहमन्त्री खाँणलाई प्रहरीको सम्मान, अदालत लैजाँदा लगाएनन् हतकडी
काठमाडौं : प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हतकडी विना अदालत लगेको छ। जिल्ला प्रहरी परिसर टेकुबाट खाँणलाई म्याद थपका लागि अदालततर्फ लैजादै गर्दा विना हतकडी लगिएको हो।
सामान्यतया आरोपीलाई अदालतमा पेश गर्दा र पक्राउ गर्दा हतकडी लगाउने गर्ने गरिन्छ। यद्यपि यो अनिवार्य नै भने होइन। तर अधिकांश आरोपीलाई प्रहरी कार्यालयबाट अदालतमा हाजिर गराउँदा हातमा हतकडी देखिन्छ नै।
चाबहिलको मैजुबहालस्थित भाडाको घरमा बस्दै आएका खाँणलाई बुधबार विहान जिल्ला प्रहरी परिसरबाट खटिएका प्रहरीले पक्राउ गरेका थिए।
आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन्। उनीसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेकाे छ।
प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए।
वैशाख २७, २०८० बुधबार १५:५०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।