पत्रकारको मुखौटोमा लुकेको ‘चे’
भित्ताभरी पत्रिका टाँसिएको। एउटा कुनामा चार जोर कपडा झुण्ड्याएको। अर्को कुनामा ग्याँस सिलिण्डर र चुल्हो। केही थान किताब र एउटा सिंगल बेड।
यो बाहिरी जिल्लाबाट काठमाडौं आएर संघर्ष गरिरहेको पात्र सुरजको कोठा हो। सुरज पेशाले पत्रकार। उसको दुईवटा जिन्दगी छ, व्यक्तिगत र व्यावसायिक।
व्यावसायिक जीन्दगी बडो लोभलाग्दो छ। सबैलाई नैतिकताको पाठ पढाउँदै हिँड्छ। क्रान्तिको गीत गाउँदै हिड्छ। सहकर्मीलाई क्रान्ति के हो भन्ने बुझाउन झगडामै उत्रन्छ।
नाटक सकियो भनेर उठ्न आँटेका दर्शकलाई मञ्चबाहिरको आवाजले आकर्षित गर्छ। आवाज पछ्याउँदै जाँदा फेरि टेलिभिजनकै समाचारले नाटक अन्त्य हुन्छ। जसले गर्दा दर्शक आफैँ नाटकका पात्र बन्न पुग्छन्।
ऊ राजनीतिक बिटमा सनसनीपूर्ण समाचार लेख्न सिपालु छ। नेताले बोलेको भाषणलाई कडा शब्दमा उतार्नु नै उसको काम हो। बिक्ने समाचार लेखेकै कारण मिडिया साहुको ऊ प्रिय पात्र हो।
व्यक्तिगत जीवन उसको जस्तो खत्तम सायद कमैको हुन्छ। नेवारको घरमा बस्छ, नेवारको एकलौटी छोरीलाई प्रेम गर्छ। हुनेवाला ससुरा आएर उसलाई लात्ताले भकुर्छ, गालै गालामा झापड हान्छ, पेशाको अपमान गर्छ।
प्रेमिकाले असाध्यै प्रेम गर्छिन् तर बारम्बार विदेश जान कर लगाउँछिन्। हरेक वाक्यमा ‘मेरो कारण जिउँदो छस्’ भन्ने खालको धम्की पनि दिन्छिन्।
पत्रिकाले पैसा नदिएकाले प्रेमिकाबाट जीवन आश्रित छ। दूध किन्ने पैसा नभएर चिया पकाउन नसक्ने स्थितिमा पुगिसक्यो। पैसा नभएकै कारण रातिमा हिँड्ने बिरामीको उपचार गर्न पाएको छैन।
नाटकमा देखाइएको सुरजको जिन्दगी नेपालका प्रायः पत्रकारले भोगिरहेको जीवन हो। नाटकले दुरुस्तै पत्रकारको जिन्दगी मञ्चमा मञ्चन गरिदिएको छ। त्यसैले एक पत्रकारले नाटकमा मज्जासँग जिउनसक्छ।
‘चे’ भन्ने बित्तिकै कुनै कम्युनिष्टको नाटक हो कि भन्ने लाग्नसक्छ। तर चे नाम सिम्बोल मात्रै हो। नाटकले हतियारविनाको क्रान्तिको परिकल्पना गरेको छ। हरेकको मनमा राष्ट्र प्रेम लुकेको हुन्छ र विनाहतियार विसङ्गतीविरुद्ध त्यसविरुद्ध मानिस लडिरहेको हुन्छ भन्ने विषय नाटकले देखाउन खोजेको छ।
दर्शकले लगाइसकेको अनुमानलाई फेरि संवादमार्फत भन्दा अलि मज्जा आएन। सस्पेन्स रिभिल हुने ठाउँ आउनुअघि नै दर्शकसामु खुलिसक्दा त्यसले दर्शकको उत्सुकतालाई मारिदिन्छ।
पत्रकार सुरजसँगै नेवारी परिवारको संस्कार नाटकको रमाइलो पक्ष हो। नेवार परिवार देखाउँदा हाँस्य रससँगै कारुणिक रस भरिपूर्ण छ।
‘चे इज ब्याक’ नाटकले गरेको प्रयोग नौलो छ। दर्शक नाटकघरको बन्द कोठामा पुग्ने बित्तिकै टेलिभिजनमा समाचार आउँछ। बीचमा समाचारले नै दर्शकलाई डोहोर्याउँदै कथा भन्छ।
नाटक सकियो भनेर उठ्न आँटेका दर्शकलाई मञ्चबाहिरको आवाजले आकर्षित गर्छ। आवाज पछ्याउँदै जाँदा फेरि टेलिभिजनकै समाचारले नाटक अन्त्य हुन्छ। जसले गर्दा दर्शक आफैँ नाटकका पात्र बन्न पुग्छन्।
पत्रकार भएकाले पनि हुनसक्छ, नाटकमा देखाइएको समाचारकक्ष निकै परिचित महसुस हुन्छ। राजनीतिक बिटमा पत्रकारिता गरिरहेका पत्रकार साथीहरूले देश आफ्नै काँधमा बोके जसरी दिएको अभिव्यक्तिदेखि प्रधानमन्त्री बनाउने जिम्मा समेत उसैको भन्नेसम्मको तर्कको साक्षी हरेक समाचारकक्षका पत्रकारहरू बन्ने गरेका छन्।
नाटकले पनि घुमाउरो पारामा यहि कुरालाई देखाएको छ। पत्रकारको मुखौटोमा चे लुकेको छ। यो केहि वास्तविकता र केहि हदसम्म व्यंग्यात्मक दुवै मान्न सकिन्छ। तर, ‘वास्तवमा चे ऊ हैन, आम मानिस चे हुन्’ भन्ने विषय नाटकले देखाएको छ।
नाटकको सेट डिजाइनमा राम्रो काम भएको छ। भित्ताहरूमा प्रयोग गरेको चित्रदेखि लाइटसम्म सबैले दर्शकलाई नाटकभित्र पुर्याउन मद्दत गर्छ। अदृश्य चेले गरेको भाषणलाई छायाँमार्फत सुन्दर ढंगले देखाइएको छ। प्रप्सहरूको प्रयोगले नाटक अनुभुति गर्न अर्को सहयोग गरेका छ।
हरेक मञ्चनमा फरकपना नाटकको मज्जा आउने पाटो हो। त्यसैले हरेक मञ्चनमा कलाकारले गरेको मिहिनेतलाई सम्मान छ। उकेराकर्मीले हेरेको पाँच दिनअघिको मञ्चनमा कथा भन्दा केही कमीकमजोरीहरू पनि देखिए।
नाटकको मुख्य थिम नै चे को हो भन्ने प्रश्न हो। त्यसको उत्तर दर्शक आफैँलाई छाडिदिएको भए हुन्थ्यो। त्यस्तै सुरजको थाहै नपाइ राती हिँड्ने बानीले धेरै कुरा दर्शकले अनुमान लगाउने ठाउँ थियो।
दर्शकले लगाइसकेको अनुमानलाई फेरि संवादमार्फत भन्दा अलि मज्जा आएन। सस्पेन्स रिभिल हुने ठाउँ आउनुअघि नै दर्शकसामु खुलिसक्दा त्यसले दर्शकको उत्सुकतालाई मारिदिन्छ।
‘अरूको कार्यकर्ता र पुच्छर बन्ने हैन, आफ्नो विचार आफैँ बनाउने र त्यसमा अडिग रहने हो’ भन्ने विषय नाटकले देखाउन खोजेको छ।
नाटकको बन्द रंगमञ्चमा एक भाषणसहित बत्ती बल्छ र दर्शकलाई रंगमञ्चबाहिरको टेलिभिजनले आकर्षित गर्छ। त्यसअघि तीन जना पात्रहरू देखिएर चेको बारेमा भाषण गरिन्छ। त्यो भाषण नभए पनि नाटकले भन्न खोजेको कुरा पूरा हुन्छ।
नाटकमा टाइमफ्रेम देखाउन भने सकिएको छैन। पात्रले डिएसएलआर क्यामरा बोकेका छ, नयाँ भर्जनको ल्यापटप छ। कुरा सुन्दा १२ भाइको प्रसङ्गदेखि अहिलेको समसामयिक कुराहरू पनि जोडिएको छ। तर, अहिलेको पावरफुल माध्यम सामजिक सञ्जालको प्रयोग छैन।
पुरानो शैलीले रातीराती भाषण गर्नुपर्ने परिस्थिति सिर्जना गरिएको छ। चे लाई आधुनिक तरिकाले देखाउन राती भाषण गर्नुभन्दा सामाजिक सञ्जालको प्रयोगमार्फतको क्रान्ति देखाउन सकिएको भए अझ गज्जब हुथ्यो।
समग्रमा, नाटकको प्रस्तुतीकरण नौलो छ। यसले दिन खोजेको सन्देश निकै महत्वपूर्ण छ। ‘अरूको कार्यकर्ता र पुच्छर बन्ने हैन, आफ्नो विचार आफैँ बनाउने र त्यसमा अडिग रहने हो’ भन्ने विषय नाटकले देखाउन खोजेको छ।
सबै बिटमा पत्रकारिता गरिरहेका पत्रकारले यो नाटक हेर्दा त्यसमा आफू पाउनेछन्। पत्रकारितामा चासो भएका दर्शकका लागि नेपालको समाचारकक्ष बुझ्ने राम्रो मौका पनि यो नाटकले दिनेछ।
वैशाख २७, २०८० बुधबार १४:४५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।