पूर्व गृहमन्त्री खाण जान्न भन्दै फोन गर्दै थिए,कसैको फोन नउठेपछि लुरुक्क बाहिर निस्किएर प्रहरीको गाडी चढे

पूर्व गृहमन्त्री खाण जान्न भन्दै फोन गर्दै थिए,कसैको फोन नउठेपछि लुरुक्क बाहिर निस्किएर प्रहरीको गाडी चढे

काठमाडौँ : नक्कली भुटानी शरणार्थीको अनुसन्धानमा प्रारम्भमै शंकामा परेका थिए पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण। तर पक्राउ गर्ने मेलोमेसो मिलिसकेको थिएन। उनको श्रीमती मञ्जुले नक्कली भुटानी शरणार्थी बनाउन सक्रिय गिरोहसँग ६ करोड रकम लिएको अडियो सार्वजनिक भएसँगै उनी पक्राउ पर्ने जोखिम बढ्यो। अनि उनी स्वास्थ्य ठिक नभएको भन्दै बुटवलतिर लागे।

उनी बुटवल जानुको कारण थियो पक्राउ पर्ने भय। तत्काल पक्राउको तयारी नभएको सूचनापछि उनी मङ्गलवार बेलुका काठमाडौँ आएर चाबहिल मैजुबहालमा रहेको डेराको घरमा बसेका थिए।

उता खाण पक्राउ गर्ने तयारीमा रहेको प्रहरीले उनी काठमाडौँ आएको चाल पाइसकेको थियो। बेलुकै पक्राउ गर्ने तयारी भए पनि गलत सन्देश जान सक्ने भन्दै बुधवार बिहानै पक्राउ गर्ने र पक्राउ अगाडि अदालतलाई समेत जानकारी नदिने तयारी भयो।

सूचना चुहिए खाण पनि एमाले सचिव टोपबहादुर रायमाझी जस्तै फरार हुनसक्ने जोखिमका कारण पहिल्यै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ आदेश लिएन प्रहरीले। खाण समात्न प्रहरीले आकस्मिक पक्राउ पुर्जी जारी गर्ने रणनीति बनायो। सोही रणनीति अनुसार बुधवार बिहानै प्रहरी टोली खाण रहेको मैजुबहालको घरमा पुग्यो। तीन वटा गाडीमा गएका प्रहरीमध्ये दुई टोली घर बाहिरै बस्यो।

तेस्रो टोली घरभित्रको कम्पाउन्डमा गयो। प्रहरी कम्पाउन्ड गए पनि खाण भने भित्र ढोकामा चुकुल लगाएर बसेका थिए। प्रहरीले आफूहरू सोधपुछका लागि लिन आएको बताउँदा उनी रिसाए। निरन्तर विभिन्न व्यक्तिहरूलाई मोबाइलबाट फोन गर्ने प्रयास गरिरहेका थिए।

जति गरे पनि फोन उठेन। प्रहरीले आफैँ बाहिर नआए बल प्रयोग गर्नुपर्ने बताएपछि जे सोध्ने हो घरमै सोध्न र आफू प्रहरी कार्यालय नजाने बताए। प्रहरीले छलफल गर्न बाहिर आउन भने। उनी बाहिर आए लगत्तै आकस्मिक पक्राउ पुर्जी दिएर भित्र लगेको गाडीमा राखेर टेकुमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा पुर्यायो।

कार्यालयमा खाणको संलग्नताबारे सोधपुछ भइरहेको छ।

२७ बैशाख, २०८०, १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।