इमरान खानको पक्राउपछि अशान्त पाकिस्तान, शेयर बजार पनि ४ सय अंकले घट्यो

इमरान खानको पक्राउपछि अशान्त पाकिस्तान, शेयर बजार पनि ४ सय अंकले घट्यो

एजेन्सी : पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तानमा अशान्ति छाएको छ।

मंगलबार विहान भ्रष्टाचारको आरोपमा खानलाई अदालत जबरजस्ती पक्राउ गरेपछि उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ(पीटीआई)का कार्यकर्ता र समर्थकहरूले देशव्यापी रूपमा प्रदर्शन थालेका छन्।

प्रदर्शनकारीहरूले देशका विभिन्न सडक अवरुद्ध गर्दै टायर बालेका छन्। पार्टीका अधिकांश नेताहरूले आ–आफ्नो क्षेत्रमा पुगेर जनतालाई घरबाहिर आएर प्रदर्शन गर्न आग्रह गरेका छन्।

देशका विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडपको खबर आएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ। प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरी ढुङ्गा प्रहार गरेपछि प्रहरीले पनि अश्रुग्यास र पानीको फोहोरा हानेको छ।

यस्तै खान पक्राउ परेको खबर आएपछि पाकिस्तानको शेयर बजारमा उथलपुथल भयो। मंगलबार शेयर बजार चार सयभन्दा बढी अंकले घटेर बन्द भयो।

देशको राजनीतिक-आर्थिक अवस्थाका पहिल्यै दबाब झेलिरहेको शेयर बजार खानको गिरफ्तारीपछि झनै ओरालो लाग्यो। खान पक्राउ परेको खबर आउनेबित्तिकै शेयर बेच्नेहरू ह्वात्तै बढे।

वैशाख २६, २०८० मंगलबार १८:४५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।