चौथो अंग : प्रहरीको प्रवक्ताजस्ता भयौँ सुरक्षा बिटका पत्रकार

चौथो अंग : प्रहरीको प्रवक्ताजस्ता भयौँ सुरक्षा बिटका पत्रकार
तस्बिर- कृष्पा श्रेष्ठ

३०औं आईजीपी नियुक्तिका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईजीपीका एक प्रतिष्पर्धीका जन्ममिति विवाद के हो अनुसन्धान गर्नु भनी पत्र लेख्यो। जब आईजीपी नियुक्ति सकियो, तब अख्तियारले त्यो मुद्दा तामेलीमा राख्यो।

अख्तियारले पत्र काटेका प्रतिष्पर्धीबारे मिडियाले खुब लेख्यौँ। यसमा अख्तियारको नियत सहि रहेको पाइएन। किनभने आईजीपी नियुक्ति सकिनेबित्तिकै यो मुद्दा तामेलीमा किन राखियो त?

कुनै पनि घटनामा प्रहरीले जे बतायो हामी त्यो लेख्छौं, जसकारण धेरै अवस्थामा प्रहरीले हामीलाई प्रयोग गर्यो। प्रहरीलाई अति विश्वास गर्दा म पनि १/२ वटा समाचारमा चुकेको छु।

अख्तियारको नियत नै मिडियामा ल्याएर ती प्रतिष्पर्धीलाई कमजोर पार्नु थियो। मिडिया प्रयोग भयो यो बेला। यस्ता धेरै केसहरू छन्, जहाँ मिडिया प्रयोग भएका छन्।

सही विषयमा मिडियालाई प्रयोग गर्नु राम्रो पनि हो तर कसैको स्वार्थको लागि मिडिया प्रयोग हुनु राम्रो होइन। सुरक्षा मामिला पत्रकारिताको नेटवर्क ठूलो हुने भएको हुँदा यसतर्फ रिपोर्टरको विशेष दख्खल हुन जरुरी छ। 

प्रहरीका प्रवक्ता जस्ता भयौँ
२०६५ सालदेखि हो मैले पत्रकारिता सुरु गरेको । दृष्टि साप्ताहिकमा काम गर्दा मलाई सुरक्षा मामिलामा पत्रकारिता गर्न लगाइयो। पत्रकारितामा सुरक्षा मामिला अरुभन्दा बढी नै चुनौतीपूर्ण र संवदनशील बिट हो। यो बिटमा काम गर्न अलि बढी नै मेहनत र सक्रियता चाहिन्छ।

संवेदनशील कुन अर्थमा भने एउटा सानो गलत सूचनाले पनि शान्ति सुरक्षामा ठूलो असर पार्नसक्छ। उदाहरणका लागि संविधान जारी ताका मधेसमा भएको हुलदंगाको रिपोर्टिङलाई लिन सकिन्छ। त्यतिबेला मिडियाले प्रहरी र प्रर्दशनकारीको झडपमा मृत्यु भएका भन्दा धेरै संख्या लेख्यो।

त्यतिबेला घटनास्थलमा जानुपर्ने मिडिया गएनन्, जसलाई सहज हुन्छ उसैलाई सोधेर समाचार लेखे। सक्रियता र मिहिनेत भएको भए यस्तो ठूलो गल्ती हुने थिएन। यसको अर्थ अन्य बिट संवेदनशील छैनन् भन्न खोजेको होइन। सबै बिटका आ–आफ्नै प्रकारका संवेदनशीलता छन्।

सुरक्षा मामिलामा काम गर्ने नेपालका पत्रकारहरू तुलनात्मक रूपमा खारिएका छन्। खोज पत्रकारिताले पनि विस्तारै गति लिँदै गएको देखिन्छ। तर कुनै समय सुरक्षा बिट बदनाम थियो।

सुरक्षा मामिलामा रिपोर्टिङ गर्ने पत्रकारहरूले प्रहरीसँग हिमचिम गरेर अनुचित लाभ लिन्छन् भन्ने आरोप लाग्थ्यो। तर, पछिल्लो दशकमा यो बिटको पत्रकारिता सबैभन्दा धेरै सुध्रिएको जस्तो लाग्छ।

बिटमा धेरै व्यावसायिक पत्रकारहरू छन्, केही अपवाद छाड्ने हो भने नेपालको पत्रकारितामा अहिलेको सुरक्षा बिटको रिपोर्टिङ मेरो दृष्टिकोणमा गर्व गर्न लायक छ।

पहिला सुरक्षा तथा अपराधसम्बन्धी समाचार सामान्यता पत्रिकाका भित्री पृष्ठमा कम प्राथमिकतामा साथ छापिन्थे। नयाँ पत्रिका दैनिकले यस्ता समाचारलाई पहिलो पृष्ठमा प्राथमिकतामा साथ राख्न थाल्यो। जून पाठकले अत्याधिक रुचाए र प्रयोग सफल भएपछि अन्य मिडियाले पनि पछ्याएको जस्तो लाग्छ।

सामाजिक सञ्जालमा सूचनालाई फिल्टर गरेर तथ्य उजागर गरी समाजलाई गाइडेड गर्ने नयाँ जिम्मेवारी थपिएको छ हामीमा। कतिपय अवस्थामा भने हामी अल्छी भएर सामाजिक सञ्जालबाट बढी नै गाइडेड भइरहेका हुन्छौँ।

कतिपय अवस्थामा हामी सुरक्षा बिटका पत्रकार प्रहरीका प्रवक्ता जस्ता भएका छौँ। करिब १५ वर्षदेखि यो बिटमा लगातार कलम चलाउँदै आएको छु, धेरै पछि म आफैँलाई यो महसुस भयो।

कुनै पनि घटनामा प्रहरीले जे बतायो हामी त्यो लेख्छौं, जसकारण धेरै अवस्थामा प्रहरीले हामीलाई प्रयोग गर्यो। प्रहरीलाई अति विश्वास गर्दा म पनि १/२ वटा समाचारमा चुकेको छु।

अपराधका ठूला घटनामा पीडित पक्ष मात्र नभई अभियुक्तका पक्षको पनि कुरा सुन्नुपर्ने हुन्छ, मुद्दाको मिसिल अध्ययन र विश्लेषण गरेर अनुसन्धानको कमजोरी पत्ता लगाउन सक्नुपर्छ।

मिडिया फेरिएसँगै बढ्यो सक्रियता
सुरक्षा मामिला रिपोर्टिङ गर्ने प्राय हामी पत्रकारहरू नेपाल प्रहरीमा केन्द्रीत भएका छौँ। गृह मन्त्रालय केन्द्रीत रिपोर्टिङ गर्न सकेका छैनौँ। पुर्व गृहसचिव भइसकेका व्यक्ति पक्राउ पर्नुले पनि उनीहरूको बदमासीबारे अहिलेसम्म हामीले सुईंको नपाउनाले पनि प्रष्ट पार्छ।

त्यसमाथि गृह मन्त्रलाय अन्र्तगतकै अर्धन्यायिक निकायको रिपोर्टिङ हुन सकेको देखिँदैन। गृह मन्त्रालयको कर्मचारी प्रशासन, सीमाका मुद्दासँग हामीले रिपोर्टिङ गर्न सकिएन। हामी प्रहरीमा केन्द्रीत भएका हौँ।

प्रहरीमा सुधार भएको छ, त्यसले सुरक्षा बिटको पत्रकारितामा पनि विगतमा जस्तो विकृति कम हुँदै आएको छ। आईजीपी नियुक्तिको बेला विगतमा पत्रकारहरू खुलेर कसैको पक्षमा लाग्दथे, त्यो पछिल्ला वर्ष कम छ।

सुरक्षा बिटमा पनि युवा र व्यावहारिक पत्रकारहरूको सक्रियता छ। अरु बिटमा जस्ता यो बिटका पत्रकारहरूको कुनै संगठन पनि छैन। संगठन हुुँदा समाचारहरू कार्टेलिङ्ग भएको पाइन्छ। झन् इस्यु उठानमा तिखारिनु पर्नेमा पेशागत संगठनले रोकेको पाइन्छ।

डिजिटल मिडियाको आगमनसँगै सुरक्षा बिटको रिपोर्टिङ सशक्त भएको देखिन्छ। हरेक अनलाइनमा सुरक्षा बिटका पत्रकार अनिवार्य जस्तो भएको छ। यसको प्रमुख कारण अपराध सम्बन्धी समाचारमा हुने उच्च रिडरशीप हो। अनलाइन मिडियामा सुरक्षा बिटका पत्रकारको मेहनत हेर्दा उनीहरूलाई अन्य रिपोर्टरभन्दा दोब्बर तलब दिनुपर्छ जस्तो लाग्छ।

पत्रकारले गल्ती नगर्ने होइनन्
पत्रकारबाट गल्ती नहुने होइनन्। तर, त्यो गल्ती नियतबश हो कि सूचनाको कमीले हो भन्ने हेर्नुपर्छ। यो बिटको पत्रकारितामा पनि धेरै कमजोरी थिए र छन् भने विभिन्न घटनाले देखाउँछ।

निर्मला पन्त हत्या प्रकरणमा हामीले कति एकपक्षीय पत्रकारिता गर्दै आएका रहेछौैं भन्ने बाहिर आयो। त्यो घटनाले केस स्टडी बनाएर सुरक्षा बिटको पत्रकारितामा सुधार सुरु भइसकेको छ। मलाई लाग्छ आगामी दिनमा अझै परिपक्व हुनेछ भन्ने लाग्छ।

पत्रकारमाथि पनि वाचडग आवश्यक छ, तर समाचारमा सानो गल्ती भएकै आधारमा समाचार नै गलत हो भन्ने तरिकाले खिल्ली उडाउँदा पत्रकारिता नै कमजोर हुन्छ।

सामाजिक सञ्जालले मिडियालाई चुनौती थपेको छ। तर, यसलाई अवसरका रूपमा लिनुपर्छ। सामाजिक सञ्जालमा गलत सूचनाको बाढी छ।

सामाजिक सञ्जालमा सूचनालाई फिल्टर गरेर तथ्य उजागर गरी समाजलाई गाइडेड गर्ने नयाँ जिम्मेवारी थपिएको छ हामीमा। कतिपय अवस्थामा भने हामी अल्छी भएर सामाजिक सञ्जालबाट बढी नै गाइडेड भइरहेका हुन्छौँ।

दक्षताको अभावले नेपाली मिडियामा अत्यधिक गल्ती हुने गरेका छन्। पछिल्लो समय सामाजिक सञ्जालबाट ती गल्ती पहिल्याउने काम भएको छ। सामाजिक सञ्जालले पत्रकारलाई सजग पनि बनाएको छ। गल्तीलाई सच्याउन तत्परता देखाउनु मिडियाको दायित्व नै हो।

तर, आफूलाई कोही पत्रकार मन परेको छैन, आफूअनुकुलको समाचार लेखेको छैन वा त्यो मिडिया आफूलाई मन पर्दैन भने उसको एउटा गल्ती खोजी सामाजिक सञ्जालमा बुलिङ गर्ने, होच्याउने उसलाई मोरल डाउन गर्ने प्रवृत्ति बढेको छ।

पत्रकारमाथि पनि वाचडग आवश्यक छ, तर समाचारमा सानो गल्ती भएकै आधारमा समाचार नै गलत हो भन्ने तरिकाले खिल्ली उडाउँदा पत्रकारिता नै कमजोर हुन्छ।

नेपाली पत्रकारिताको सबैभन्दा ठूलो बिडम्बना समाचार लेख्दै, गल्ती गर्दै, सच्चिँदै अघि बढ्नुपर्ने अवस्था छ। यही कारण पत्रकारितामा गल्ती धेरै हुन्छन्। आम पाठकलाई त त्यो गल्ती थाहा नहुन सक्छ, तर सम्बन्धित क्षेत्रका मान्छेले त सजिलै पत्ता लगाउँछन्। सामान्य कुरा पनि गल्ती गरेपछि स्वभाविक रूपमा मिडियाप्रतिको विश्वास र सम्मान कम हुन्छ।

यसका लागि बिट रिपोर्टिङका लागि तालिमको अभाव छ भने अर्काेतर्फ नयाँ पत्रकारका गल्ती सुधार्ने र सिकाउने परिपक्व डेस्कको खाँचो छ, जून नेपाली मिडियाले भोगेको समस्या हो।

नेपाली मिडियालाई दोहोरो चुनौती 
मेरो बुझाईमा नेपाली मिडिया यतिबेला दुई किसिमको चुनौती छन्।

एकातर्फ आम जनतामा मिडिया भनेका पनि नेताहरू जस्तै खराब हुन्, आफ्नो स्वार्थमा मात्र समाचार लेख्छन् भन्ने परेको छ। त्यो भ्रम तोडेर विश्वास आर्जन गर्न मिडियाले धेरै दुःख गर्नुपर्छ। त्यसका लागि आत्मसमीक्षा गरेर जनताका मुद्दामा केन्द्रीत हुन जरुरी छ।

हरेक बिटमा १/२ जना मात्र निडर पत्रकार हुने हो भने पनि त्यो क्षेत्रका विकृति बाहिर ल्याउन पर्याप्त हुन्छ जस्तो लाग्छ। त्यसका लागि मिडिया हाउसले पनि रिपोर्टरको आधारभूत आवश्यकता पूरा त गर्नैपर्छ।

तर, दुःखको कुरा अहिले देशको आर्थिक अवस्था यस्तो छ कि मिडिया आफैँ आर्थिक संकटतर्फ अग्रसर छन्। यसले सम्पादकीय स्वतन्त्रतादेखि पत्रकारको जागिर नै प्रभावित छ।

यस्तो अवस्थामा कन्टेटमा सञ्चार गृहले लगानी गर्न सक्नेमा शंका छ। तर, मिडिया मालिकहरूले पत्रकारिता समाजका लागि गरेका हुन् कि आफ्नो लागि भन्ने कुरा अहिलेको यही कठिन समयमा परीक्षण हुनेछ।

नेपाली मिडियामा अत्यधिक कर्पाेरेट दबाब छ, तर त्यसका बाबजुत नेपाली मिडियाको सबैभन्दा सुन्दर पक्ष के भने राष्ट्रियता र नागरिक स्वतन्त्रता लगायत महत्वपूर्ण सवालमा सधैं चर्काे रूपमै आवाज उठाएर दबाब दिँदै आएका छन्।

ठूला भ्रष्टाचार प्रकरण पनि मिडियाकै कारण मुद्दा तहसम्म पुगेको छ। अहिले शरणार्थी प्रकरण पनि सायद मिडियाको दबाब थिएन भने यहाँसम्म आइपुग्ने थिएन। नेपाली मिडियाका धेरै कमजोरी छन्, तर गाली गर्नुअघि यति तथ्य चाँही बिर्सनुहुँदैन।

लगानी कम भए पनि खोजी पत्रकारिता भइरहेको छ। मिडिया साहुहरू खोजी पत्रकारितामा चाहन्छन् तर लगानी गर्न इच्छुक देखिँदैनन्। हरेक बिटमा १/२ जना मात्र निडर पत्रकार हुने हो भने पनि त्यो क्षेत्रका विकृति बाहिर ल्याउन पर्याप्त हुन्छ जस्तो लाग्छ। त्यसका लागि मिडिया हाउसले पनि रिपोर्टरको आधारभूत आवश्यकता पूरा त गर्नैपर्छ।

(दृष्टि साप्ताहिक, नेपाल लाइभमा कामगरेका मैनाली अहिले नयाँ पत्रिकासँग आबद्ध छन्। उनैसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला

वैशाख २६, २०८० मंगलबार १७:०१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।