रास्वपा सांसद् प्रकरण : ढाकाकुमारले पाए अदालतको आदेश, विन्दवासिनीलाई आयोगको प्रमाणपत्र

रास्वपा सांसद् प्रकरण : ढाकाकुमारले पाए अदालतको आदेश, विन्दवासिनीलाई आयोगको प्रमाणपत्र

काठमाडौं : सर्वोच्च अदालतले सोमबार ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश दियो।

न्यायाधीश तिल प्रसाद श्रेष्ठको इजलासले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई ढाकाकुमार श्रेष्ठको मागबमोजिम आदेश किन जारी नहुनुपर्ने भनि कारण देखाऊ आदेश जारी गर्यो।

यस्तै, पार्टीको पत्र र कामकारबाही थप कार्यान्वयन नगरी अहिलेकै अवस्थामा राख्न अल्पकालीन अन्तरिम आदेश दियो। यो आदेशले ढाकाको सांसद पद तत्काललाई थमौती हुन्छ वा हुँदैन भन्ने अन्योल देखियो।

तर, पार्टीबाट ढाकाको ठाउँमा विन्दवासिनी कंसाकार सामानुपातिक सांसद नियुक्त भइसकिन्।

सर्वोच्चको आदेशले ढाकाकुमारमाथिको कारवाही कार्यान्वयनमा रोक लगायो। रास्वपाले भने ढाकालाई कारबाही गरकै दिन पार्टीबाट समानुपातिक सांसदमा विन्दवासिनी कंसाकारलाई सिफारिस गरेको थियो।

उक्त सिफारिसलाई सदर गर्ने निर्णय निर्वाचन आयोगले गत २१ गते लिएको छ। आइतबार मात्रै कंसाकारले आयोगमा पुगेर प्रमाणपत्रसमेत लिइसकेकी छन्। कंसाकारको सपथ ग्रहण भने हुन सकेको छैन।

सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठको सांसद पद विवादको अन्तरिम आदेशबारे छलफल गर्न जेठ ५ गते सबै पक्षलाई बोलाएको छ। छलफलले अन्तरिम आदेश कायम हुने वा अल्पकालीन आदेश खारेज हुनेमध्ये एक निर्क्योल गर्नेछ।

वैशाख २५, २०८० सोमबार १८:५४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।