प्रचण्डपथ महतपथमा विलय भएको देखियो, बधाई छ : गोकुल बास्कोटा

प्रचण्डपथ महतपथमा विलय भएको देखियो, बधाई छ : गोकुल बास्कोटा

काठमाडौं : एमाले नेता एवं प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले प्रचण्डपथ महतपथमा विलय भएको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बास्कोटाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अध्ययन गर्दा प्रचण्डपथ महतपथमा विलय भएको महसुस गरेको बताए।

बजेटका सिद्धान्त र प्राथमिकतामा समाजवाद भन्ने शब्द नै प्रयोग नभएको भन्दै उनले माओवादीले समाजवाद छाडेकोमा र प्रचण्डलाई महतपथमा ल्याउन सकेकोमा बधाई दिए।

‘प्रचण्डपथलाई महतपथमा ल्याउन सकेको मैले महसुस गरेँ, त्यसका लागि अर्थमन्त्रीलाई बधाई,’ उनले भने, ‘त्यसैगरी बजेटका सिद्धान्त र प्राथमकितामा समाजवाद शब्द एक ठाउँमा पनि नभएपछि माओवादीले समाजवाद छोडेको देखियो, त्यसमा पनि बधाई।’

यस्तै उनले अर्थमन्त्रीले सदनमा प्रस्तुत गरेको दस्तावेजमा सरकार दायित्वबाट भाग्न खोजेको देखिएको बताइएको छ।

सांसद् बास्कोटाले निजी क्षेत्रलाई प्रोत्साहित गरेकोमा खुसी व्यक्त गर्दै राज्यको लगानी हाम्रोजस्तो देशमा कति आवश्यक छ भन्नेबारेमा सोच्नसमेत प्रधानमन्त्री र अर्थमन्त्रीलाई सुझाव दिए।

वैशाख २५, २०८० सोमबार १५:३१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।