लगातार ४ खेल जितेको पाकिस्तान अन्तिम खेलमा न्युजिल्यान्डसँग पराजित
एजेन्सी : एकदिवसीय सिरिजमा लगातार सुरुवाती चार खेल जितेको पाकिस्तान अन्तिम खेलमा भने न्युजिल्यान्डसँग पराजित भएको छ।
पाँच खेलको सिरिजको उपाधि पक्का गरिसकेको पाकिस्तान अन्तिम खेलमा ४७ रनले पराजित भएको हो।
कराँचीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड अन्तिम ओभरमा २९९ रन जोड्दै अल आउट भयो।
न्युजिल्यान्डका लागि विल योंगले सर्वाधिक ८७ रन र कप्तान टम लाथमले ५९ रन जोडेका थिए। बलिङमा पाकिस्तानका शाहिन अफ्रिदीले ३ विकेट लिए।
जवाफमा ३०० रनको विजय लक्ष्य पछ्याएको पाकिस्तान ४६.१ ओभरमा २५२ रनमा अलआउट भयो। पाकिस्तानका लागि इफ्तिखर अहमदले सर्वाधिक ९४ रन जोडे पनि जितका लागि पर्याप्त भएन।
न्युजिल्यान्डका लागि हेनरी शिफ्ले र रचिन रविन्द्रले समान ३/३ विकेट लिएका थिए।
यो जितसँगै न्युजिल्यान्ड क्लिनस्वीप हुनबाट जोगिंदा सिरिज पाकिस्तानले ४-१ ले जित्यो।
वैशाख २५, २०८० सोमबार ०९:३१:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।