गगनको निराश ट्विटको सङ्केत विद्रोह कि विभाजन?

गगनको निराश ट्विटको सङ्केत विद्रोह कि विभाजन?

काठमाडौँ :  पार्टीको निष्कर्षहीन पदाधिकारी बैठक, मन्त्रिपरिषद्मा उत्साहित पुरानै मुहार अनि नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्को नेता पोलिनेक्रम बढ्नु।

उपनिर्वाचनमा सबै जोडबल लगाउँदा पनि पार्टी उम्मेदवारको पक्षमा नतिजा ल्याउन असफल भएका कांग्रेस महामन्त्री गगनकुमार थापा आइतबार बेलुका भिन्न शब्दहरूसहित सामाजिक सञ्जालमा आए।

यस अगाडिका उनका धारणामा कि उत्साह हुन्थ्यो, कि आत्मविश्वास कि प्रहार। आइतबार सामाजिक सञ्जालमा आएको धारणा निराश अनि हतोत्साहित थियो।

थापा महामन्त्री पदमा छन्। महामन्त्री पार्टी सङ्गठनको मेरुदण्ड। तर उनी नै पार्टीको भविष्यप्रति विश्वस्त देखिएनन्।

उनले लेखे'कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !'

उनले प्रयोग गरेको अब त अति भयो भन्ने शब्दले दिक्दारीसँगै निर्णायक चरणमा प्रवेश गरेको सङ्केत गर्यो। तर त्यो चरण पार्टीको शैली परिवर्तनका लागि सशक्त सङ्गठित विद्रोह वा विभाजन के हो प्रस्ट खुलेको छैन।

मङ्सिर ४ को निर्वाचनसँगै पार्टीमा स्पेस खोज्न सक्रिय एक समूह नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षित देखिएका छन्।

मनिष झादेखि स्वर्णिम वाग्लेसम्म एकै थलोमा अटाए। केन्द्रीय सदस्यका रूपमा  रहेका नेताहरूको पृष्ठभूमि कांग्रेससँगै जोडिन्छ।

तर तत्काल पार्टी विभाजन गर्न आवश्यक कानुनी सङ्ख्या जुटाउन सहज छैन उनलाई।

उनलाई शेखर कोइराला समूहका नेताको रूपमा जोड्ने गरे पनि पछिल्लो समय आफ्नै समूहको नेतासँग उनको मिल्ती छैन। बरु वैचारिक रूपमा अहिले प्रकाशमान समूहका ठानिने विश्वप्रकाश शर्मासँग नजिक छन्। प्रदीप पौडेलले साथ दिएका छन्।

शर्मासँगको निकटताको प्रभाव उनको ट्विटको भाषामा समेत झल्किन थालेको छ।

आइतबारको निराशासँगै नयाँ बाटोको खोजीको सङ्केत पार्टी रूपान्तरणका लागि आन्तरिक विद्रोहको तयारी हो त!

वैशाख २४, २०८० आइतबार २३:१४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।