काठमाडौं महानगरले भोलिदेखि अव्यवस्थित तार काट्ने, तोकियो दुई रुट

काठमाडौं महानगरले भोलिदेखि अव्यवस्थित तार काट्ने, तोकियो दुई रुट

काठमाडौं : काठमाडौं महानगरपालिकाले सोमबार (भोलि)बाट अव्यवस्थित तार व्यवस्थापन थाल्ने भएको छ।

आइतबार महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा साझेदारबीच भएको छलफलबाट सोमबारबाट व्यवस्थापनको काम थाल्ने निर्णय भएको हो।

पहिलो चरणमा सोमबार विहानदेखि माइती घर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्यूरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गरिने भएको महानगर प्रहरी बलका प्रमुख पाण्डेले जानकारी दिए।

यसमा नेपाल विद्युत प्राधिकरण, दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहनेछन्।

ती क्षेत्रमा सेवा प्रदायकले आ–आफ्नो तारमा संकेत चिन्ह लगाउने, चिन्ह नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैँ जिम्मेवार हुनुपर्ने बैठकले गरेको अर्को महत्वपूर्ण निर्णय हो।

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणका इञ्जिनियरहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल, द इन्टरनेट सर्भिस प्रोभाइडर्स एशोसिएसन अफ नेपाल (आइएसपीएएन)का कोषाध्यक्ष पुष्कर कडाल, प्रमुख प्रशासकीय अधिकृत सुवेश खड्कासहित महानगरका अधिकारीहरू सहभागी थिए।

सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिम बढेपछि अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिन्ह (ट्याग) लगाउन महानगरले १५ दिनको समय दिएर वैशाख ११ गते सार्वजनिक सूचना जारी गरेको थियो।

सूचनासँगै टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरू नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केवुल प्रसारक संघलगायतलाई पत्र पठाइएको थियो।

वैशाख २४, २०८० आइतबार २०:२१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।