'प्रचण्डले ठूला भ्रष्टाचार खोल्दै जाऊन्, कति वर्ष सरकारको नेतृत्व गर्ने हो ? हामी समर्थन गर्छौँ'

'प्रचण्डले ठूला भ्रष्टाचार खोल्दै जाऊन्, कति वर्ष सरकारको नेतृत्व गर्ने हो ? हामी समर्थन गर्छौँ'

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ठूला भ्रष्टाचारका फाइल खोल्न आग्रह गरेका छन्। यस क्रममा आफूले पनि साथ दिने उनले बताए। 

पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै लिङ्देनले उच्च पदस्थहरूको नाम आइरहँदा यसमा प्रधानमन्त्री रोकिन नहुने बताए।

उनले भने, 'नक्कली भुटानी शरणार्थी प्रकरणको जरोसम्म पुगेर छानबिन गरियोस्। साथै विगतका एनसेल, वाइडबडी, ललिता निवासजस्ता ठूला भ्रष्टाचारको फाइल खोल्नुस्, प्रचण्डले कति वर्ष सरकारको नेतृत्व गर्ने हो राप्रपाले समर्थन गर्छ ।'

लिङ्देनले माओवादी लडाकु शिविर (क्यान्टोनमेन्ट) को विषय पनि उठाएका छन् ।  'आफूलाई चोखो छु भन्ने लाग्छ भने प्रचण्डजी, आफ्नो टाउकोमाथि लागेको आरोपबाट मुक्त हुने सामर्थ्य देखाउनुस्,' उनले भने,'होइन भने भ्रष्टाचारको डंगुरमाथि बसेर सुशासनको कुरा धेरै दिन टिक्दैन ।' 

वैशाख २४, २०८० आइतबार १५:३९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।