भारतीय भूमिमा विश्वकप क्रिकेट खेल्नुपर्ने भएपछि पाकिस्तानले राख्यो यस्तो शर्त
पाकिस्तान क्रिकेट बोर्डले यसै वर्ष भारतमा हुने विश्वकपलाई लिएर नयाँ शर्त राखेको छ ।
बोर्ड अफ फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले सन् २०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा भारतलाई पठाउने लिखित ग्यारेन्टी दिएपछि मात्रै पाकिस्तान क्रिकेट टोली विश्वकप खेल्न भारत आउने शर्त पाकिस्तानले राखेको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) अध्यक्ष नजम सेठीले बीसीसीआई सचिव जय शाहबाट लिखित ग्यारेन्टी मागेका हुन्।
पीसीबी स्रोतका अनुसार केही दिनअघि नजम सेठीले एसिया कपमा सहभागी हुन पाकिस्तान सरकारका अधिकारीहरूसँग भेट गरेका थिए ।
सेठीले एसिया कपमा पाकिस्तानको सहभागिताबारे अधिकारीहरूसँग छलफल गरेका थिए । सेठीका अनुसार दुबई र लाहोरमा एसिया कपका खेलहरू नभए पाकिस्तानले एसिया कपबाट आफ्नो नाम फिर्ता लिन सक्छ ।
सरकारसँग छलफल गरेर मात्रै सेठीले आफ्नो अन्तिम निर्णय एसिया क्रिकेट काउन्सिललाई दिने बताएका छन् । हाइब्रिड मोडलमा एसिया कप आयोजना नगरे उनी कुनै पनि प्रतियोगितामा सहभागी नहुने अनुमान गरिएको छ ।
हाइब्रिड मोडलमा एसिया कप पाकिस्तानमा हुने भए पनि भारतको खेल भने यूएईमा गराउने तयारी छ।
विश्वकप अक्टोबर ५ बाट सुरु हुनेछ। यसका लागि १२ स्थान छनोट गरिएको छ । जसमा चेन्नई र कोलकाता पनि परेका छन्।
वैशाख २३, २०८० शनिबार २३:४५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।