काफल टिपेर फर्किँदै गरेका दुई बालिकालाई जीपले ठक्कर दियो
बझाङः जीपको ठक्करबाट बझाङमा २ बालिका घाइते भएका छन्।
चैनपुर-गोलाई हुँदै तमैल जोड्ने सडकखण्डअन्तर्गत जयपृथ्वी नगरपालिका-४ भीडमुनी वृद्धाश्रम नजिकै जीपले ठक्कर दिँदा जयपृथ्वी नगरपालिका-३ सिमोल्तोलाकी दुई बालिका घाइते भएका हुन्।
घाइते हुनेमा जयपृथ्वी नगरपालिका-३ सिमोल्तोलाकी ९ वर्षीया आयुष्मा विष्ट र १६ वर्षीया भावना विष्ट रहेका छन्। आयुष्माको टाउको, ढाड र छातीमा चोट लागेको छ भने भावनाको टाउको, ढाड र मुखमा गम्भीर चोट लागेको जिल्ला अस्पताल बझाङले जनाएको छ।
घाइते दुवैलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।
दुवै बालिका काफल बेचेर घर फर्कँदै थिए। चैनपुरबाट खप्तडछान्नातर्फ गइरहेको चालक धनराज भटराईले चलाएको से१ज १०५३ नम्बरको जीपले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
जयपृथ्वी नगरपालिका-४ पानकोट पुल अगाडि भीडमुनीमा ठक्कर दिएर फरार भएको जीप जयपृथ्वी नगरपालिका-५ कोटेलीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अहिले चालक र जीप नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बझाङ प्रहरी प्रमुख जागेश्वरी भण्डारीले बताए।
वैशाख २३, २०८० शनिबार २२:५५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।