नक्कली शरणार्थी प्रकरण संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ : महरा
काठमाडौं : माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारवाही हुनुपर्ने बताएका छन्।
शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराध कार्यमा संलग्न कसैलाई पनि सरकारले छाड्न नहुने बताएका हुन्। उनले यो गम्भीर अपराध भएकाले गठबन्धनभित्र र बाहिर जोसुकैलाई पनि कारबाही गरिनुपर्नेमा जोड दिए।
फरक प्रसङ्गमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग स्पष्ट बहुमत रहेकाे बताए। सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आए पनि स्पष्ट बहुमत पुग्ने धारणा राखे।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरिसकेको छ तर औपचारिक रूपमा सरकारलाई जानकारी दिएको छैन,’ उनले थपे, ‘निर्णय गरेपछि औपचारिक रूपमा जानकारी गराउँछ होला नै। सरकारसँग स्पष्ट बहुमत छ। रास्वापाले फिर्ता लिँदैमा सरकारमाथि प्रश्न उठ्ने अवस्था छैन।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले भ्रष्टाचारविरुद्धका फाइल खोल्ने भएपछि मात्रै सरकारमा सहभागी हुने भन्दै आएको भए पनि सरकार त्यसमा अघि बढेको बेला समर्थन फिर्ता लिएको महराले बताए।
माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराले सरकार जनतासँग गरेको प्रतिवद्धता अनुरुप अघि बढिरहेको बताए। उनले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन, मिटरब्याज पीडितलाई न्याय दिने कुरामा अडिग रहेको बताए।
माओवादी केन्द्रसहित ६ वटा पार्टीबीच समाजवादी मोर्चा बनाउने भन्ने विषय र चरणमा छलफल जारी रहेको महराले जानकारी दिए।
‘हाम्रो पार्टी माओवादी केन्द्रसहित ६ पार्टीबीच समाजवादी मोर्चा बनाउनेबारे छलफल जारी छ,’ उनले भने, ‘मोर्चामा सहभागी विचार र कार्यक्रम मिल्ने पार्टीबीच एकता गर्ने नभए राष्ट्र र राष्ट्रियता र जनजिवीकाका सवालमा सहकार्य गर्ने सहमति भएको छ।’
वैशाख २३, २०८० शनिबार १५:५९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।