दलितभित्रको विभेद अन्त्य गर्ने प्रयास : सार्कीका छोरा र बादीकी छोरीबीच मागी विवाह
सुर्खेतः दलितभित्रको जातीय विभेद अन्त्य गर्न सुर्खेतमा मागी विवाह भएको छ।
काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ भंगाल निवासी सुन्दर पुर्कटी र लक्ष्मी पुर्कटीका छोरा सुरेशसँग सुर्खेत वीरेन्द्रनगर-११ झुप्राका गोपाल बादी र पार्वती बादीकी छोरी सीतासँग मागी विवाह भएको हो।
'भागी होइन, मागी गरौं, अपमान होइन, सम्मान गरौं' भन्ने नारा नै बनाएर उनीहरूको विवाह शुक्रबार झुप्रामा परम्परागत रूपमा बाजागाजा बजाएर सम्पन्न भयो।
पुर्कटी दलितकै सार्की समुदायअन्तर्गत पर्दछ। राष्ट्रिय दलित आयोगका सदस्य समेत रहेका पुर्कटीले दलित समुदाय भित्रकै विभेद अन्त्य गर्नका लागि आफ्नो एक मात्र छोराको बादी समुदायबाट मागेर विवाह गरेको बताए।
दलित समुदायभित्र नै छुवाछुत र विभेद भएको विषय बारम्बार उठिरहेको अवस्था छ।
'साँच्चिकै विभेद अन्त्य गर्न पहिलो सुरुवात हामीबाटै सुरु गर्नुपर्दछ,' बेहुलाका बुवा सुन्दरले भने, 'संविधानमा छुवाछूत र विभेदविरुद्ध व्यवस्था गरिए पनि त्यो व्यवहारमा लागू भएको छैन। त्यसको अन्त्यका लागि छोराको मागेर विवाह गरिएको हो।'
२०७७ असार १० गते दलित आयोगको सदस्यमा नियुक्त भएका पुर्कटी २०६७ सालमा स्थानीय विकास मन्त्रालयअन्तर्गत उपेक्षित, उत्पीडित दलित विकास समितिको कार्यकारी निर्देशकसमेत भएका थिए।
झुप्राकै स्थानीय तथा वीरेन्द्रनगरका पूर्वकार्यपालिका सदस्य एवम् बादी समुदायका अगुवा विष्णु बादीले यसरी दलितभित्रकै आफूभन्दा उच्च जाति मानिनेले मागेरै विवाह गरेको यो पहिलो पटक रहेको बताए।
'हाम्रो समुदायमा यसरी उच्च जातिले मागेरै विवाह गरेको यो पहिलोपटक हो। अन्य जातिसँग विवाह भए पनि भागेर हुन्थ्यो। त्यसो हुँदा सम्बन्ध पनि खासै राम्रो हुन्थेन। यो त परम्परागत रुपमा नै विवाह भएपछि हाम्रो समुदायभित्र खुसी छाएको छ,' उनले भने, 'विभेदले समाजमा जरा गाडीरहेका बेला यो कुराले हाम्रो समुदायमा खुसीयाली छाएको छ विभेदको सुरुवात हामी आफैंबाट सुरु भएको छ। यो जोडीको सम्बन्ध अजमबरी चलोस्, शुभकामना।'
यस विवाहलाई आफूहरूले हरेक वर्ष उत्सवका रुपमा लिने पनि उनले बताए। दलित समुदायमा आफ्नो मिल्ने जातमा मात्रै विवाह गर्ने प्रचलन अन्त्य भएको उनको भनाइ छ।
यस्तै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा कुरीति र विसंगतिविरुद्धको सुरुवात दलितबाटै सुरु भएकोमा खुसी व्यक्त गर्छन्। 'हजारौं वर्षदेखि दलितलाई विभेद गरिएको छ। त्यसको आवाज उठाउँदा दलितभित्रकै विभेदको कुरालाई ल्याएर बहस गरिन्छ। त्यसको जवाफ यो विवाहले प्रस्ट देखाउनेछ,' अध्यक्ष विश्वकर्माले भने, 'उत्पीडित वर्गले पनि परिवर्तनको मुद्दा आफैंबाट सुरु गर्नुपर्छ भन्ने कुराको पाठ यो विवाहले सिकाएको छ।'
अगामी दिनमा पनि दलित समुदायका अरू जोडीले पनि यस्तो परम्पराको सुरुवात गर्नुपर्ने उनले बताए। त्यसका लागि सहयोग, समन्वय र हौसला दिन आयोग तयार रहेको उनले विश्वास दिलाए।
अध्यक्ष विश्वकर्माले यस्ता उदाहरणीय कार्यले समाजमा सबैको आत्मसम्मान र मानवअधिकारको संरक्षण हुने विश्वास व्यक्त गरे।
दलित समुदायभित्र पिछडिएका वर्गको हकअधिकार र सम्मानको लागि तीनै तहका सरकारसँग समन्वय गरेरर काम गर्ने योजनाका साथ आयोग लागिपरेको अध्यक्ष विश्वकर्माको भनाइ छ।
वैशाख २३, २०८० शनिबार १३:३६:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।