मोफसलमा जन्मेर अस्तित्व बचाइरहन सफल शाइन रेसुंगा बैंक
बुटवलः व्यापारिक नगरी बुटवलमा कुनै बेला यहीँका उद्योगी, व्यवसायी, शैक्षिक व्यक्तित्वहरूको समूह जुटेर बैंक स्थापना गर्ने हुटहुटी चल्यो।
विकास बैंक, फाइनान्समा यहाँका स्थानीय व्यापारीहरू नै संलग्न बनेर बैक स्थापना गरे। जस कारण रुपन्देहीमा थुप्रै बैकहरू स्थापना भए।
रुपन्देहीमा प्रधान कार्यालय राखेर जिल्ला जिल्लामा शाखा विस्तार गरिरहेका बैंकहरू तब अप्ठयारामा परे, जतिबेला राष्ट्र बैंकले नयाँ नीति ल्याउँदै निश्चित पुँजीको सीमा तोकिदियो।
त्यसपछि बुटवलमा जन्मेका बैंकहरू एकाएक आफ्नो अस्तित्व रक्षा नगर्ने स्थितिमा पुगे। २०७२ सालमा राष्ट्र बैंकको नयाँ नीतिपछि रुपन्देहीको बुटवल र भैरहवा केन्द्रीय कार्यालय रहेका सबै बैंकहरू मर्जरमा गए। त्यसपछि रुपन्देहीका बैंकहरूले नाम वा प्रधान कार्यालय कहीँ पनि आफ्नो अस्तित्व रक्षा गर्न सकेनन्।
पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, भृकुटी विकास बैंक, सेवा विकास बैंक, पूर्णिमा विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, एकता विकास बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल ग्रामीण विकास बैंक, सेवा विकास बैंक, तिनाउ विकास बैंक, मिसन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय रुपन्देहीमा थियो।
त्यस्तै पश्चिमाञ्चल फाइनान्स, बुटवल फाइनान्स, सिद्धार्थ फाइनान्स लगायतको पनि प्रधान कार्यालय रुपन्देहीमा थियो। तर अहिले कुनै पनि बैंक पूर्ण अतित्वमा छैनन्। मर्जरपछि रुपन्देहीमा यी बैंक फाइनान्सका केन्द्रीय कार्यालय छैनन्।
तर मर्जर भएर पनि मोफसलको अस्तित्व बचाइराखेको बैंक हो, शाइन रेसुंगा डेभलपमेन्ट बैंक।
बुटवलमा खुलेको शाइन डेभलपमेन्ट बैंक र गुल्मीमा खुलेको रेसुंगा बैंकसँग मर्जर भएपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंक बनेको हो। त्यसपछि भने निरन्तर यो बैंकले मात्र अहिले आफ्नो अस्तित्व रक्षा गरेको छ। बुटवलमै सुविधासम्पन्न भवनमा यसले आफ्नो प्रधान कार्यालय बनाएको छ।
२०६५ फागुन ११ गतेदेखि आफ्नो बैंकिङ कारोबार सुरु गरेको यस बैंक २०६९ चैत ४ गते स्थापना भएको गुल्मीको रेसुंगा विकास बैंकसँग मर्जर भएको थियो। त्यसपछि २०७३ जेठ २९ गते प्युठानको गौमुखी विकास बैंक, २०७६ असोज २७ मा नेपालगञ्जको भार्गव विकास बैंक र मंसिर १० मा भैरहवा केन्द्रित व्यवसाय गरिरहेको पूर्णिमा विकास बैंकलाई गाभ्न सफल भयो। र राष्ट्रियस्तरको विकास बैंकमा शाइन रेसुंगा बैंक स्तरोन्नति भयो।
शहर र ग्रामीण दुवै भेगमा सेवा विस्तार
अरू बैंकलाई मर्ज गराएर आफ्नो अस्तित्व रक्षा गर्दै बुटवलमा केन्द्रीय कार्यालय रहेको यस बैंकले शहरी र ग्रामीण दुवै क्षेत्रमा वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र अध्यक्ष थानेश्वर पौडेलको मिहिनेत र ग्राहकको विश्वासले बैंक प्रदेशस्तरमै पहिलो बन्न पुगेको हो।
प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल सबैको मेहनतले नै बैंक मोसफलमा रहेर पनि उदाहरणीय बनेको बताउँछन्। ‘धेरैलाई केन्द्रीय मानसिकता हुन्छ। तर मेहनतसाथ काम गर्नसके मोफसलमा पनि बैंकिङ व्यवसाय गरेर सफल हुन सकिन्छ भन्ने उदाहरणको रूपमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रमाणित गरेको छ’, पौडेलले भने।
संस्थामा आएका चुनौतीलाई सबै टिमले मेहनत गरेर त्यो चुनौती पार भएकै कारण आज बैंक सफल भएको पौडेलले बताए। उनले बैंकका सबै आर्थिक सूचक उत्कृष्ट्र रहेको भन्दै राष्ट्रियस्तरका बैंकलाई टक्कर दिइरहेको दाबी गरे।
‘विश्वमा प्रविधिको धेरै विकास आइसकेको छ, अब गार्ड राखेर भित्र भएको रकम सुरक्षित छ भनेर बस्ने अवस्था छैन, विश्वको जुनसुकै कुनाबाट पनि प्रभावित हुनसक्ने चुनौती छ’, उनले भने, ुबैंकले आन्तरिक र बाह्य सेवालाई डिजिटलाइजेसन गरिरहेको छ, आन्तरिक कामहरू पेपरलेस भइरहेका छन, बैंकले कर्जादेखि अन्य सेवाहरू पेपरलेस बनाएको छ।’
बैंकले यस वर्षदेखि क्रेडिट कार्ड पनि सुरु गरेको र ग्राहकलाई डिजिटल बैंकिङसँगै जोखिमबारे पनि सचेतना कार्यक्रम गर्दै आएको उनको भनाइ छ।
५ वटा विकास बैंकलाई मिलाएर बनेको यो बैंकले स्थापना कालमा ६ करोड पुँजीबाट कारोबार सुरु गरेको थियो। हाल बैंकको पुँजी ४ अर्ब २८ करोड, ३८ लाख रुपैयाँभन्दा बढी छ। बैंकको जगेडा कोष १ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ छ।
बैंकले ५२ अर्ब ६५ करोड ५ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४४ अर्ब ८३ करोड ३२ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको खराब कर्जा २ दशमलव ११ प्रतिशत रहेको छ।
बैंकले हाल ८८ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम मेशिनबाट बैंकिङ सेवा दिइरहेको छ। कोशी र मधेश प्रदेश बाहेक सबै प्रदेशमा बैंकको पहुँच पुगेको छ।
बुटवलका बैंकहरूको मर्जर
बुटवलमा केन्द्रीय कार्यालय रहेका तिनाउ विकास बैंक, मिसन डेभलपमेन्ट बैंक र कम्युनिटी डेभलपमेन्ट बैंक काठमाडौंमा केन्द्रीय कार्यालय रहेको सिटिजन्स बैंकसँग गाभिए। सेवा विकास बैंक कामना बैंकसँग मर्जर भएर कामना सेवा विकास बैंक बन्यो। भृकुटी विकास बैंक एनएमबी बैंकसँग मर्ज भयो।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले भैरहवामा रहेको पूर्णिमा विकास बैंकलाई मर्जर गरेको छ। बुटवल फाइनान्स सिनर्जी फाइनान्ससँग मर्जमा गएर सिनर्जी फाइनान्स बन्यो। पछि फेरि उक्त फाइनान्स बेस्ट फाइनान्सका रूपमा रूपान्तरण भयो। एकता विकास बैंक र जनता विकास बैंक गाभिएर जनता बैंक बन्यो। जनता बैंक ग्लोबल आईएमईसँग गाभिएर अहिले ग्लोबल आईएमई बैंक बन्यो।
अर्को इन्नोभेटिभ बैंक सेन्चुरीसँग गोभियो। सिद्धार्थ फाइनान्स महालक्ष्मी बैंकसँग गाभियो भने पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगा बैंकसँग गाभिएर मेगा बैंक बन्यो। पश्चिमाञ्चल फाइनान्स कुमारी बैंकसँग मर्ज भयो। सिद्धार्थ फाइनान्स, महालक्ष्मी विकास बैंकसँग गाभियो। पश्चिमाञ्च, पूर्वाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंक मर्ज भएर नेपाल ग्रामीण विकास बैंक भयो।
दुई हजार बैंक
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था रुपन्देहीमा छन्। राष्ट्र बैंकका अनुसार गत चैतमा लुम्बिनी प्रदेशमा २ हजार २१४ बैंक तथा वित्तीय संस्थाका कार्यालय रहेका छन्।
यी बैंक तथा वित्तीय संस्थाका लुम्बनीमा ६१५ एटीएम छन्। चालु आर्थिक वर्ष २०७९र८० को चैत सम्म ७१ लाख ३१ हजार ८९५ निक्षेपकर्ताबाट ४ खर्ब ६० अर्ब २४ करोड ४४ लाख संकलन भएको छ। ३ लाख ८८ हजार ५९७ जना ऋणी संख्या रहेका लुम्बिनीमा ३ दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय छ।
वैशाख २२, २०८० शुक्रबार ११:११:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।