दुई ब्राण्डिङ फिल्म फ्लप भएको बेलामा किन रिलिजमा हतार गर्‍यो ज्याकीले !

दुई ब्राण्डिङ फिल्म फ्लप भएको बेलामा किन रिलिजमा हतार गर्‍यो ज्याकीले !

काठमाडौँ : ब्रान्ड दाबी गरिएको फिल्म 'नाइँ नभन्नु ल-६' अनि 'प्रसाद-२' ले हलसम्म दर्शक तान्न सकेन। फिल्म जारीका अगाडि दुवै फिल्म फिक्का भए। 'नाइँ नभन्नु ल' लाई दर्शकले रिलिज भएको दोस्रो दिनबाटै नाइँ भनिदिए। सुपर फ्लप भयो फिल्म।

'नाइँ नभन्नु ल' भन्दा 'प्रसाद २' को व्यापार केही राम्रो भयो। तर फ्लप हुनबाट जोगिएन यो फिल्म पनि। विपिन कार्की अनि केकी अधिकारीको भागमा फ्लप फिल्म बन्यो प्रसाद।

एकै सातामा दर्शक हलमा फर्कँदैनन् भन्ने देखियो यो साता। मौलिक फिल्म भनिएको जारी हेरेका दर्शक लगत्तै अर्को फिल्म हेर्न हलमा आएनन्।

निरन्तर परेको पानी अनि क्रिकेट प्रतियोगिताले पनि केही न केही मात्रामा यी दुवै फिल्मको व्यापारमा प्रभाव पार्यो नै।

'जारी'का दर्शक घट्दै गएको बेलामा चर्को हल्ला गरिएको फिल्म  ‘ज्याकी : आई एम ट्वान्टी वान’ शुक्रवारै नकुरी बिहीबारै रिलिज भयो। हलहरूमा राम्रै शो पायो फिल्मले। तर शो अनुसार दर्शक पाएन पहिलो दिन।
रेनशा राई रानाको निर्देशनमा बनेको फिल्ममा फिल्ममा धिरज मगर, जसिता गुरुङ, प्रेम सुब्बा, अरुण क्षेत्री, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय छ।

फरक ट्रयाकको कथा पस्कन प्रयास गरिएको भनिएको फिल्मको नाम युवा दर्शक लक्षित राखियो। कलाकार युवामाझ परिचित छानियो। कथावस्तु पनि युवा केन्द्रित नै राखियो।

भर्खरै नेपाली फिल्म प्रेमी अधिकांश दर्शक हलसम्म आएर 'छक्कापञ्जा' अनि 'जारी' हेरे। आर्थिक अवस्था खस्कँदै गएको छ। यो बेलामा अधिकांश दर्शकले दुई वटा चलचित्र हेरेका छन्।  त्यसमा निरन्तर झरी। 

बिहीबारकै गति कायम हुने हो भने ज्याकीलाई लक्षित दर्शकलाई हलसम्म ल्याउन त्यति सहज हुने देखिँदैन।

वैशाख २१, २०८० बिहीबार २२:०६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।