एमाले सांसद सूर्य थापा भन्छन्, 'नक्कली भुटानी शरणार्थी बन्नेहरूलाई पनि कारबाही गर्नुपर्छ'
एमाले नेता तथा सांसद सूर्य थापाले नक्कली शरणार्थी बन्न तयार भएर लाखौँ रकम बुझाउने गैरकानुनी काममा संलग्गनहरूमाथिलाई पनि कारबाही गर्नुपर्ने तर्क गरेका छन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्ने माग गरेका थापाले नक्कली भुटानी जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही हुनुपर्ने बताएका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन्। तिनको रकम जफत गर्नुपर्छ । अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनु पर्छ।'
गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू रहेका भन्दै उनले कसैको मुख नहेरी कारबाही गर्नुपर्ने बताए। तर निर्दोष कसैलाई फसाउन नहुने र अपराधीले उन्मुक्ति पाउन नहुने उनले तर्क गरे।
यस प्रकरणमा एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारेको छ। रायमाझीका छोरा सन्दीप भने बुधबारै पक्राउ परिसकेका छन् भने टोपबहादुरलाई प्रहरीले खोजी गरिरहेको छ।
वैशाख २१, २०८० बिहीबार १३:०९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।